Aamsanchar

बाढी र डुबानले देशभर बिजोग,३७ को मृत्यु

Author Image
बुधवार, साउन १२, २०७३

काठमाडौं:

1469541771263_SG_Morang_Urlabari_madumalla-768x553

लगातारको वर्षापछि बाढीपहिरोका कारण देशभर ३७ जनाको ज्यान गएको छ भने थुप्रै बेपत्ता भएका छन् । बेपत्ताको संख्या यकिन हुन सकेको छैन । बाढीपहिरोले ठाउँठाउँमा राजमार्ग अवरुद्ध भएका छन् भने दर्जनौं बस्ती पहिरोको जोखिममा छन् । निरन्तर वर्षाका कारण खोलानाला बढेकाले तराई जलमग्न भएको छ ।

लगातारको वर्षापछि बाढीपहिरोका कारण प्युठानमा मृत्यु भएका १४ जनाको शव फेला परेको छ । जिल्लाभर कम्तीमा २४ जना हराइरहेको जानकारी प्रहरीले दिएको छ । गुल्मीमा बाढीपहिरोका कारण आठजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् ।

शनिबारदेखि लगातार परेको पानीका कारण मंगलबारसम्म झापामा तीनजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । अर्घाखाँचीमा पहिरोले दुईजनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन् । मकवानपुरको भीमफेदीमा पहिरोले घर पुरिँदा एकै परिवारका आमा, बुबा र छोराको मृत्यु भएको छ । पाल्पामा पहिरोले घर पुर्दा एकै परिवारका तीनसहित चारजनाको ज्यान गएको छ ।

दाङ संवाददाता गजेन्द्र बोहोराका अनुसार प्युठानको उत्तरी लुङ गाविसको बाहाने बजारमा पाँचजना, पुँजा गाविसमा दुईजना, खवाङ गाविसमा दुईजना र झिमरुक नदीमा पाँचजनाको शव भेटिएको छ । ती सबै शवको पहिचान हुन सकेको छैन ।

उत्तरी प्युठानको पुँजामा केही दिनअघि पहिरोमा पुरिएर एकै घरका तीनजनाको मृत्यु भएको थियो । लुङ गाविस ६ बाहानेमा घर भत्किँदा स्थानीय शोभा रिजाल पुरिएर बेपत्ता भएकी छन् । बाहानेकै सिमलबुटामा धोजबहादुर पुनको घर पहिरोमा पुरिँदा सोही घरमा डेरा गरी बस्ने २५ वर्षीया काली परियार, १५ वर्षीय किरण थापा र शिवबहादुर सुनारको मृत्यु भएको छ । पुनकी २८ वर्षीया छोरी पवित्रालाई सकुशल उद्धार गरिएको छ । बाहाने बजार उच्च जोखिममा छ । बजारदेखि केही माथिको गाउँ बगेर आएको स्थानीयले बताए ।

प्रहरीका अनुसार पुँजा गाविस–१ मा ३५ वर्षीया सुपारी मल्ल र उनका १३ वर्षीय छोरा मुकेश मल्ल, खवाङ–२ मा ८० वर्षीय दबिले सुनार र उनकी पत्नी ८० वर्षीया कुतरी सुनार तथा नाति १६ वर्षीय दीपे सुनारको शव भेटिएको छ । त्यस्तै माझकोटकी काली पुन, फोप्ली गाविस ३ मा ११ जना तथा फोप्ली ४ मा चारजना बालबालिका बेपत्ता भएका छन् । फोप्ली गाविसका पूर्वअध्यक्ष देवीराम पुनले अहिलेसम्म उद्धारका लागि प्रहरी प्रशासन पुग्न नसकेको बताए । उनका अनुसार फोप्लीमा ४० भन्दा बढी घर उच्च जोखिममा छन् ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार ठाउँठाउँमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई खटाइएको छ । जिल्लाकै ठूलो नदी झिमरुकमा अहिलेसम्मकै सबैभन्दा ठूलो बाढी आएको स्थानीय बासिन्दाले बताए । झिमरुक जलविद्युत् परियोजनाका अनुसार सोमबार राति ११:३० बजे नदीमा नौ सय ५५ क्युसेक बाढी थियो । यही नदीले बगाएर ल्याएका चारजनाका शव प्रहरी टोलीले निकालेको थियो । झिमरुक विद्युत्ले बनाएको बाँधमा रहेका दुई शव निकाल्न नसकिएको प्रहरीले जनाएको छ । त्यस्तै जुम्री खोलाबाट पनि एउटा शव निकालिएको छ ।

झिमरुक नदी उर्लिंदा किनारमा रहेका प्युठानका प्रमुख बजार जोखिममा परेका छन् । बाहाने, बजार, ठूलोबेसी बजार, बाग्दुलाको पुल्चोक, जुम्रीबजार र त्यहाँ रहेको बसपार्कलगायतका क्षेत्र उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

प्युठान नगरपालिका १३ सापडाँडामा पनि आधा दर्जन घर भत्किएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले पहिरोमा फसेकालाई उद्धार गरेका थिए । स्याउलीवाङ गाविसमा दुई दर्जनभन्दा बढी घर पहिरोको जोखिममा छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार जोखिममा रहेकालाई सुरक्षित स्थानमा सारिएको छ । फोप्ली गाविसका ४५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । लिघा गाविसमा ३५ घर र रजावारामा ३० घर पहिरोको जोखिममा छन् ।

झापा संवाददाता उमाकान्त खनालका अनुसार बाढीमा परी मृत्यु हुनेमा धुलाबारी घर भई गौरादह बस्दै आएका अनुज न्यौपाने, गोलधाप–८ का कालीबहादुर लिम्बू र गौरादह–५ का टेकेन्द्र खड्का छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार खजुरगाछी–३ का रेकुकुमार गनगाई र कुमरखोद–४ मा बसोबास गर्दै आएका भारतका १८ वर्षीय कालु भनिने बाबुलाल मर्डीलाई माईखोलाले बगाएर बेपत्ता बनाएको छ । वर्षाका कारण फेसका जिल्लाका दुई हजार दुई सय ८३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । झापामा ६ सय ६९ घर डुबानमा छन् । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले झापामा एक हजार पाँच सयजना बाढीबाट विस्थापित भएको बताए ।

झापाका रतुवा, कनकाई, बिरिङ तथा मेची नदीले हजारौं बिघा खेतीयोग्य जमिन कटान गरेको छ । राजमार्ग दक्षिणका अधिकांश घरमा पाँच फिटसम्म पानी जमेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताए । मंगलबार दिउँसो १२:३३ बजे खतराको चिह्न पार गरेको कनकाई नदीमा साँझ पानीको बहाव केही घटे पनि आसपासका बासिन्दालाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

मेची नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले भद्रपुरदेखि पाठामारीसम्मका परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको डीएसपी हरिप्रसाद शर्माले बताए । मेची नदीमा आएको बाढीले भद्रपुर–५ स्थित हनुमन्दिर छेउको सुकुमबासी बस्तीका लगभग ८० घरपरिवार विस्थापित भएका छन् । मेची नदीकै बाढीले भद्रपुर–१ स्थित भैंसाबाडी टोल डुबानमा पर्दा एक सय २३ घरका ६ सय २२ जना विस्थापित भएको भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले बताए ।

अर्घाखाँची संवाददाता प्रेम आचार्यका अनुसार ठाडा–५ कोठिया मैदानमा प्रेमबहादुर घर्तीको घर पहिरोले बगाउँदा उनकी १७ वर्षीया छोरी शारदा घर्तीको मृत्युु भएको प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताए । त्यस्तै सिद्धारा–६ दुम्सीमा गोठ पहिरोले बगाउँदा ४७ वर्षीया मानकुमारी आलेको मृत्यु भएको स्थानीय शिक्षक रुमबहादुर पल्लीले बताए । बागी खोलाले बगाउँदा सन्धिखर्क नगरपालिका–१३ बरापका पदमबहादुर विक बेपत्ता भएका छन् ।

मकवानपुर संवाददाताका अनुसार भीमफेदीमा सोमबार राति पहिरोले घर पुरिँदा २५ वर्षीय टेकबहादुर रुम्बा, उनकी पत्नी २३ वर्षीया पावर्ती रुम्बा र पाँच वर्षका छोरा विकास रुम्बाको मृत्यु भएको डीएसपी वामदेव गौतमले बताए ।

स्याङ्जा संवाददाताका अनुसार गुल्मी हस्तीचौर–१ माल्वीका भीमबहादुर दर्जीको घर भत्किँदा उनका ६२ वर्षीया कालिका दर्जी, ४९ वर्षीया पत्नी तुलसी दर्जी र १९ वर्षीया छोरी अस्मिता दर्जीको ज्यान गएको छ । घर भत्किएपछि सहयोग गर्न आएका उनका छिमेकी विष्णु सारु घाइते भएका छन् ।

बिसु खड्ग गाविस–९ का गोपाल रानाको घर भत्किँदा उनका ८ वर्षीय छोरा सिजन राना र ६ वर्षीया छोरी सिमाना रानाको मृत्यु भएको छ । ह्वाङ्दी गाविस ३ का डिलबहादुर घर्तीको घर भत्किँदा सहयोग गर्न आएका उनका छिमेकी ४५ वर्षीय विष्णु घिमिरे र उनका १३ वर्षीय छोरा आशा घर्तीको ज्यान गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी उदय रानामगरले बताए । उनका अनुसार भुवानी घर्ती र टीकाराम घर्ती घाइते भएका छन् ।

यस्तै आँधीखोला किनारमा एकजनाको शव भेटिएको छ । प्रहरी उपरीक्षक देवबहादुर बोगटीका अनुसार पुतलीबजार नगरपालिका–१२ राङखोलास्थित आँधीखोला किनारमा मंगलबार दिउँसो उक्त शव फेला परेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर