Aamsanchar

उपभोक्ता अदालत स्थापनाको माग

Author Image
बिहिवार, साउन १३, २०७३

adalat

काठमाडौँ ।

प्रभावकारी बजार अनुगमन हुन नसक्दा उपभोक्ताले गुणस्तरहीन वस्तुको प्रयोग गर्नुपर्ने बाध्यता भएको सरोकारवालाले बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग र उपभोक्ता हित संरक्षण मञ्च नेपालले संयुक्तरुपमा  यहाँ आयोजना गरेको कार्यक्रममा उपभोक्ता अधिकारलाई ध्यानमा राखेर बजार अनुगमन हुन नसक्दा उपभोक्ता गुणस्तरहीन वस्तु प्रयोग गर्न बाध्य भएको बताइएको हो ।

मञ्चका अध्यक्ष ज्योति बानियाँले बजार अनुगमन प्रभावकारी नहुँदा उपभोक्ताको स्वास्थ्यमा नकरात्मक असर पर्दै गएको हुनाले छुट्टै उपभोक्ता अदालतको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उपभोक्तासम्बन्धी पुराना ऐन परिमार्जन गर्नुपर्ने आवश्यकता भएको र बजार निरीक्षणका लागि तालिम प्राप्त निरीक्षक खटाउनुपर्नेमा उहाँको जोड थियो ।

आयोगका अध्यक्ष अनुपराज शर्माले उपभोक्ताको हित संरक्षण नभएसम्म मानिसको आर्थिक र सामाजिक अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभयो । उपभोक्ता मानवअधिकार अनुगमन निर्देशिका जारी भएको पाँच वर्ष पुगेको र आयोगले निर्देशिकाको निरन्तर रुपमा पालना गर्दै आएको उहाँको भनाइ थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले उपभोक्ता हितलाई गम्भीर असर पार्ने खालका भ्रमपूर्ण विज्ञापन नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरिरहेको बताउनुभयो ।

उपभोक्ता मानवअधिकार अनुगमन निर्देशिका, २०६८ साउन १२ गते जारी भएको थियो । मञ्चले निर्देशिका जारी भएको मितिलाई उपभोक्ता दिवसका रुपमा मनाउने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर