काठमाडौं,
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चालू आर्थिक वर्षमा थप ४० स्थानमा भूकम्पको पूर्वजानकारी दिने सेन्सर जडान गर्ने भएको छ । इन्स्टिच्युट अफ केयरलाइफ चीनसँगको सहकार्यमा नास्टले सेन्सर जडान गर्न लागेको हो । प्रविधिले भूकम्पबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने बताइएको छ । यसअघि नास्टले विभिन्न स्थानमा ३९ वटा सेन्सर जडान गरिसकेको छ ।
नास्टका वरिष्ठ वैज्ञानिक सुरेशकुमार ढुंगेलले अब जोडिने सेन्सर यसअघि जडान गरिएको स्थानभन्दा १५ किलोमिटरको अन्तरमा हुने बताए । “सोलखुम्बु, मकवानपुर, नवलपरासी, लमजुङलगायतका स्थानमा सेन्सर जडान गर्ने तयारी गरेका छौं,” उनले भने, “डेढमहिना अघिमात्रै ६ वटा रिसिभर नास्टमा आइसकेका छन् ।”
वरिष्ठ वैज्ञानिक ढुंगेलले रिसिभरलाई उपत्यकाका सार्वजनिक महत्वका स्थानमा जडान गर्ने योजना बनाइएको बताए । नयाँ प्रविधि जडान गर्न सरकारले ३५ लाख रुपैयाँ बजेट छुट्याएको छ । सरकारले दिएको बजेट नास्टको प्राज्ञसभाले अनुमोदन गरेपछि खर्च गर्ने बाटो खुल्ने वैज्ञानिक ढुंगेलको भनाइ छ ।
नास्टले गत वर्षदेखि भूकम्प पूर्वजानकारी बारेको नयाँ प्रविधि जडान सुरु गरेको हो । पहिलो वर्षमा नास्टले काठमाडौं, काभ्रे, धादिङ, नुवाकोट, गोरखा, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्लामा ३९ वटा सेन्सर जडान गरिसकेको छ । सेन्सरले भूकम्पको कम्पन पहिचान गर्छ ।
वैज्ञानिक ढुंगेलका अनुसार जडान गरिएको प्रविधिले सामान्यतया ४ रेक्टर स्केलभन्दा माथि जाने भूकम्पको पूर्वसूचना प्रदान गर्छ । वैज्ञानिक ढुंगेलले यस्तो साइरन एकैसाथ उपत्यकामा जडान गरिएको ४ स्थानको रिसिभरसँग जोडिएको साइरनमा बच्ने दाबी गरे । “भूकम्पको पूर्वजानकारी भने भूकम्पको इपिसेन्टरको र सेन्सर रहेको दूरीमा निर्भर रहन्छ,” उनले भने, “जति इपिसेन्टर र सेन्सरको दूरी बढ्छ, त्यति ढिलोे साइरन बज्छ । करिब सय किलोमिटर टाढा इपिसेन्टरको दूरी रहेमा भूकम्प आउन २० सेकेन्ड पूर्वजानकारी प्राप्त हुन्छ ।” तर, इपिसेन्टर जति नजिक भयो त्यति पूर्वजानकारी कम उपलब्ध हुने उनको भनाइ छ ।
मुलुकका लागि यो प्रविधि महत्वपूर्ण भएको भन्दै वैज्ञानिक ढुंगेलले मुलुकभर जाने भूकम्पको जानकारी पाउन देशभरका ३२० स्थानमा १५ किलोमिटरको अन्तरमा सेन्सर जडान गर्न आवश्यक पर्ने बताए । यो प्रविधिलाई कुनै पनि टेलिकम्युनिकेसन सिस्टममार्फत मोबाइल एब्लिकेसनको माध्यमबाट मोबाइलमा समेत जानकारी दिन सकिने वैज्ञानिक ढुंगेलको भनाइ छ ।
नास्टका अनुसार एउटा सेन्सरको ५ हजार डलरसम्म पर्छ । पहिलो चरणमा चीनले १ सय २० वटा सेन्सर निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । नयाँ प्रविधि जडानको कार्य अघि बढाउन सरकारले पहल गरे वर्षदिनमै सबै काम सकिने उनको भनाइ छ । परियोजनाका लागि नास्टले ३ करोड रुपैयाँ माग गरेको थियो ।