Aamsanchar

निजी मेडिकल चलाएर सेवाग्राहीमाथि शोषण गर्ने स्वास्थ्य चौकी प्रमुखमाथि कारबाही

Author Image
मङ्गलवार, साउन १८, २०७३

इटहरी ।

सुनसरी जिल्लाको भरौल गाविसस्थित स्वास्थ्य चौकीका प्रमुख उमेशप्रसाद मेहतामाथि स्वास्थ्य चौकी नजिकै आफ्नो निजी मेडिकल हल सञ्चालन गरेर सेवाग्राहीमाथि शोषण गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय सुनसरीले कारबाही अघि बढाएको छ ।

सुनसरीको एक दैनिक पत्रिकाले मेहताले नेपाल सरकारले स्वास्थ्य चौकीलाई उपलब्ध गराउनुपर्ने औषधिसमेत सेवाग्राहीलाई नदिई आफूले अवैध रुपमा सञ्चालनमा ल्याएको मेडिकल हलबाट खरिद गर्न लगाउने गरेको भन्ने समाचार प्रकाशन गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

समाचार प्रकाशित भएका विषयमा प्रजिअ मोहनबहादुर चापागाईंले ती स्वास्थ्यकर्मीले गरेको कर्तुतबारे सोधखोज र स्थलगत अवलोकन गरेर उनलाई सोमबार कार्यालयमा झिकाई कारबाही अघि बढाउनुभएको छ ।

भरौल स्वास्थ्य चौकीमा मात्र होइन जिल्लाका अधिकांश स्वास्थ्य चौकीका प्राविधिकले स्वास्थ्य चौकीमा आउने सेवाग्राहीलाई सरकारले निःशुल्क उपलब्ध गराउने भनिएको औषधि छैन भनेर आफूले खोलेको वा अन्य मेडिकल हलबाट कमिसन लिई सोही मेडिकलमा किन्न बाध्य पार्ने गरेको पाइएको छ ।

प्रजिअ चापागाईंले गैरकानुनी काम गर्नेलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अघि बढाउने क्रममा भरौलका स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर