Aamsanchar

दोस्रो पटक प्रचण्ड आज प्रधानमन्त्री बन्दै

Author Image
बुधवार, साउन १९, २०७३

(नारायण काफ्ले)

काठमाडौँ। f51583da2f0f983f61c83ee122fa60b2

प्रधानमन्त्री पदका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्र मनोनयन दर्ता भएको छ ।  एमालेले उम्मेदवार नउठाउने निर्णय गरेपछि प्रधानमन्त्री पदमा प्रचण्डको एकल उम्मेदवारी परेको हो ।  एकल मनोनयनले उहाँ प्रधानमन्त्रीमा निर्वाचित हुने करिब निश्चित देखिएको छ ।
बुधबार बिहान ११ बजे प्रधानमन्त्री निर्वाचनका लागि संसद् बैठक बोलाइएको छ ।  ११ बजे बस्ने बैठकले प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई निर्वाचित गर्नेछ ।  गणितीय रूपमा दाहाललाई प्रधानमन्त्री चयनका लागि आवश्यक २९८ मतमा ३६१ सांसदको हस्ताक्षर भएको छ ।  ३६१ मा मताधिकार प्राप्त ३५९ हुनुहुन्छ ।  बहुमतीय प्रक्रियामा निर्विरोध देखिए पनि संसद्मा मत विभाजन हुनेछ ।  सदनमा हाल ५९५ सदस्य सङ्ख्या कायम छ ।
२०२८ सालदेखि कम्युनिस्ट राजनीतिमा आबद्ध दाहाल दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।  यसअघि २०६५ असार ३१ गते पहिलोपटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका दाहाल तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटवाल बर्खास्त प्रकरणसँगै राजीनामा दिनुभएको थियो ।
सरकारको सिफारिस तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले फिर्ता गर्नुभएपछि उहाँले २०६६ वैशाख २० गते प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।  २०५७ सालमा नेकपा (माओवादी)को दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी अध्यक्ष बन्नुभएका प्रचण्ड हालसम्म उक्त भूमिकामै हुनुहुन्छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मनोनयनमा संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा प्रस्तावक हुनुहुन्छ ।  प्रचण्डको समर्थनमा काँग्रेस र माओवादी केन्द्रबाहेक १३ दल र एक स्वतन्त्र सांसद हुनुुहुन्छ ।
उहाँको उम्मेदवारीको समर्थकका रूपमा आन्दोलनरत मधेसी गठबन्धन आबद्ध दलहरूले हस्ताक्षर गरेका छन् ।  भर्खरै सरकारबाट समर्थन फिर्ता लिएका साना दलले पनि समर्थनमा हस्ताक्षर गरेका छन् ।
प्रचण्डको उम्मेदवारीको समर्थनमा माओवादी केन्द्रसँगै सङ्घीय समाजवादी फोरम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेकपा (संयुक्त), थरुहट तराई पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), समाजवादी जनता दल, नेपाली जनता दल, खुम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी नेपाल र दलित जनजाति पार्टी नेपाल रहेका छन् ।  स्वतन्त्र सांसद चन्दे्रश्वर झाले पनि दाहालको उम्मेदवारको समर्थनमा मतदान गर्ने गरी समर्थकमा हस्ताक्षर गर्नुभएको छ ।
यसअघि वर्तमान सत्ता गठबन्धनमा सामेल माओवादी केन्द्रका अध्यक्ष दाहालले गत वैशाख २२ गते आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भन्दै सार्वजनिक विज्ञप्ति जारी गर्नुभएको थियो ।  सत्ता समीकरणमा रहेको नेकपा (एमाले)सँग वैशाख २३ गते नै नौबुँदे सहमति गरेपछि गठबन्धन सरकार केही समय टिकेको थियो ।  तर, नीति कार्यक्रमदेखि समीकरण परिवर्तनको पक्षमा देखिनुभएका दाहालले असार २८ गते सरकारलाई दिएको समर्थन फिर्ताको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाउनुभएको थियो ।
समर्थन फिर्तासँगै दाहालकै प्रस्तावमा सदनमा असार २९ गते प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।   वर्तमान प्रधानमन्त्रीको राजीनामासँगै साउन १० गते राष्ट्रपतिले सहमतीय सरकार गठनको आह्वान गर्नुभएको थियो ।   तर, सहमतिको समयसीमा व्यर्थमा गुजारेका दलहरूले गरेको आह्वानसँगै सोमबार राष्ट्रपतिले बहुमतीय प्रक्रिया अगाडि बढाउन संसद्लाई पत्राचार गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर