Aamsanchar

बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने

Author Image
शुक्रवार, साउन २१, २०७३

(हिमांशु चौधरी)

जनकपुरधाम  ।

मिथिलाञ्चलमा नवविवाहित नारीद्वारा टेमी विधि गरी मधुश्रावणी पर्व सम्पन्न भएको छ ।

तेह्र दिनसम्म मनाइने यो पर्वको अन्तिम टेमी विधि हुन्छ । यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ ।

सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा छ ।

यस पर्वमा मैथिल पुत्री विभिन्न गीत गाउँदै श्रीमान्ले ल्याए वा पठाएको फरिया, घोँघट लगाएर सखीहरूसँग फूलबारीमा फूल टिप्दै लोकाचारलाई रागात्मक धरातलमा उभ्याउने गर्छिन् ।

साउन महिना आध्यात्मिक महिना हुनुका साथै धर्मग्रन्थमा महिनालाई मधुमासका रूपमा स्वीकार्नु तथा वर्षा ऋतुमा सर्पको भूमिमा आगमन र विचरणले मानव जीवन त्रस्त हुनुले नाग–नागिन र प्रकृतिका प्रतीक हुने कारणबाट पनि प्रेरित यो पर्व मुख्यतः शिव, पार्वती तथा नाग–नागिनको पूजामा केन्द्रित रही मनाइने चलन छ ।

साउन महिनाको मौना पञ्चमीदेखि सुरु भई तृतीया तिथिका दिन समापन हुने यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव र सोनार जातिमा मनाइने गरेको पाइन्छ । पर्वमा प्रत्येक दिन गौरी तथा नाग–नागिनको पूजा गरी शिव, पार्वती र नागसँग सम्बन्धित कथा सुनाउने गरिन्छ ।

गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा वंशलाई सामाप्त पार्ने प्रवृत्तिको जीव मानिएकाले यस पर्वमा गौरी तथा नाग–नागिनको विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविद् डा रेवतीरमणलाल बताउनुहुन्छ ।

वैदिक भावनानुकूल र सांस्कृतिक परम्परामा आधारित यो पर्वको उद्देश्य सुखी एवम् दीर्घ दाम्पत्य जीवन भएको पनि उहाँ स्पष्ट गर्नुहुन्छ ।

प्राध्यापक डा पशुपतिनाथ झाका अनुसार गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन मनकामना पूर्ण गर्ने देवी पनि हुनुहुन्छ ।

मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक आस्था पनि देखिन्छ । वाल्मीकि रामायणका अनुसार गौरी पूजनका लागि सीताले फूल टिप्ने क्रममा रामसँग भेट भएको थियो ।

पर्वमा कतिपय कथा शिव पार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवै ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पकी आमा विसहरा र उनको वंशका बारेमा चर्चित कथाले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वाससमेत पाइन्छ ।

यो पर्व कहिलेदेखि सुरु गरिएको हो भन्न सकिने तथ्य नरहे पनि शिव पुराणको प्रसङ्गअनुसार मधुश्रावणी नामक नवविवाहिता शिवलाई आफ्नो पतिलाई कुष्ठरोग भएको व्यथा सुनाउँदा शिवले तिनलाई यस प्रकारको व्रत गर्न सुझाव दिए । उहाँको सुझावअनुसार उनले व्रत गरेपछि पति निको भई स्वस्थ भए । त्यसै दिनदेखि प्रत्येक नवविवाहिताले यसलाई वैधव्य रक्षार्थ अनुपालन गर्दै परम्परागत रूपमा मनाउँदै आएको बुझिन्छ ।

यस पर्वमा मौनापञ्चमी एवम् विसहराको जन्म कथा, मनसा र मङ्गला गौरीको कथा, पृथ्वीको उत्पत्ति, समुद्र मन्थन, सतीको पवित्रताको कथा, शिवको पारिवारिक कथा, गङ्गा उत्पत्ति, गौरीको जन्म र कामहरूको कथा, गौरीको तपस्या, गौरी विवाहका जन्तीको कथा, कात्तिक र गणेशको जन्म, सन्ध्या र लिलीको विवाह, सुकन्या, बालवसन्त र गोसाउनीको कथा, राजाश्रीकर र गणेशद्वारा सुहाग मन्थनको कथा श्रवण गरिन्छ ।

पर्वको अन्तिम विधि टेमीलाई सामान्य अर्थमा अव्यावहारिक, अन्धविश्वासी, रुढीवादी परम्परामा आधारित भएको देखिए पनि एउटा खास धार्मिक, सांस्कृतिक मान्यता प्रतीक मानिएको छ । सो विधि डाम्दा हुने पीडा जत्तिकै दाम्पत्य जीवनमा पर्न सकिने दुःख, कष्ट, पीडा खप्ने हुनुपर्दछ भन्ने अर्थमा अथ्र्याएको पाइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर