Aamsanchar

झापामा ९०० बिगाह जग्गा कटान

Author Image
शनिवार, साउन २२, २०७३

नरेन्द्र ढकाल
झापा ।

KATTANझापामा साउन महिनाको १५ गतेसम्म परेको वर्षाका कारण ९ सय विगाह खेतीयोग्य जमिन कटान भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका प्राविधिक सहायक शालिकराम भट्टराईका अनुसार बर्षाका कारण ९ सय विगाह जमिन कटान र पुरिएको छ । झापाका मेची, बिरीङ, कनकाई, रतुवा लगायतका नदीहरुमा आएको बाढीका कारण खेतीयोग्य जमिनमा असर परेको छ । बर्षाका कारण डुबान, कटान र जमिन पुर्दा सात सय किसान मारमा परेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मेघनाथ तिम्सिनाले बताए । लगातार परेको वर्षाका कारण १९ सय विगाह धान रोपिएको क्षेत्र डुवानमा परेको भट्टराईले जानकारी दिए ।
साउन १५ गते यता वर्षा रोकिएको र हाल क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले कति आर्थिक क्षति भयो भन्ने यकिन विवरण आउन अझै एक साता लाग्ने प्रमुख तिम्सिनाले बताए । नदीमा आएको बाढीले भद्रपुर, पाठामारी, केचना, शिवगञ्ज, महाभारा लगायतका दक्षणी क्षेत्र बढी प्रभावित भएको जिल्ला कृषि विकासले जनाएको छ । कतिपय स्थानमा रोपाइँ गरिसकिएको खेत बगाएको र पुरेको ठाउँमा भने जिल्ला कृषि विकास कार्यालयले बीऊ वितरण गरेर रोपाइँ गर्न आग्रह गरेको बताएका छन् । भद्रपुरको भैसीबारीमा बाढीले पुरेका कारण सो ठाँउमा बीऊ दिएर किसानलाई पुनः रोपाइँ गर्न सुझाव दिएको प्राविधिक सहायक भट्टराईको भनाइ छ । उनले भदौं १५ सम्म रोपाई गर्न सकिने भएकाले किसान आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् ।
यसैबीच झापामा साउन महिनाको तेस्रो साता बितिसक्दा ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्राविधिक सहायक भट्टराईका अनुसार गत वर्ष ७३ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो भने यो वर्ष ७६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । झापाको ९० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । संसारमा कूल जनसंख्याको आधा अर्थात् तीन अर्ब पाँच करोड जनसंख्याको मुख्य खाना भात नै हो । एशियाली देशहरूमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादनका साथै खपतसमेत हुने गरेको छ । सबैभन्दा धेरै धान उत्पादन हुने देश चीन हो । नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार किलो रहेको छ ।
सन् १९६६देखि सन् २००९ सम्म इरीबाट विकसित विभिन्न धानका जात सदुपयोग गरी विश्वका ७८ देशमा ८ सय ६४ वटा धानका जात सिफारिस भएका छन् । नेपालमा पनि सिफारिस भएका ८६ वटा जातमध्ये सातथरीका मात्र रैथाने धानको खेती हुने गरेको बताइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर