Aamsanchar

भन्सार प्रमुख नै ‘भ्रष्टाचारमा संलग्न’

Author Image
शनिवार, साउन २२, २०७३

झापा । मेची भन्सार कार्यालय काँकरभिट्टाका भन्सार प्रमुखसहित कर्मचारीकै मिलोमतोमा भन्सारमा अनियमितता हुने गरेको रहस्य खुलेको छ ।
मेची भन्सारको मातहतमा रहेको भद्रपुर छोटी भन्सार कार्यालयमा मासिक रुपमा आउने कर्मचारी मध्ये आफू निकट कर्मचारीलाई मेचीका भन्सार प्रमुख भीमप्रसाद अधिकारीले सेटिङ मिलाउन पठाएपछि छोटीमा अवैध कारोबार खुलेआम फस्टाएको हो ।
छोटीमा मेची भन्सारले अहिले मासिक रुपमा कर्मचारी पठाउँदै आएको छ । काँकरभिट्टा नाकाबाट भित्रिने ठूलो परिमाणको लत्ताकपडा र जुत्ताचप्पल भद्रपुर नाका केन्द्रित भएपछि भन्सार प्रमुख अधिकारीले यसतर्फ चासो दिन थालेको भन्सार निकट स्रोतले बताएको छ ।
केही महिनादेखि लत्ताकपडा र जुत्ता चप्पलको कारोबार ह्वात्तै बढेपछि छोटीमा चलखेल शुरु भएको पाइएको हो । चलखेलमा भन्सार प्रमुख अधिकारीसहित हाल छोटीमा तीन महिनादेखि कार्यरत सुब्बा बसन्त कार्की, साउन महिनामा आएका खरिदार सचिन श्रेष्ठ, कमल विष्ट, गोपाल सापकोटा, निर श्रेष्ठ लगायतको संलग्नता रहेको भन्सार निकट स्रोतले जनाएको छ । बसन्त, सचिन, कमल जाँचकीको रुपमा र गोपाल, निर काउन्टरमा बस्दै आएका छन् । भन्सार प्रमुखको नजिकको कर्मचारी बसन्त कार्की र सचिन श्रेष्ठ रहेको स्रोतको दावी छ । उनले बोलेको अडियो क्लीप सुरक्षित छ । भन्सारको कम्प्युटर शाखाका अपरेटर (कर्मचारी) अरुण साह यो चलखेलको एउटा पात्र मात्र हुन् । साहलाई चलखेलको पात्रको रुपमा खेलाउने काम खरिदारद्वय सापकोटा र श्रेष्ठले गरेको स्रोतको दावी छ । हाल भन्सारमा भइरहेको चलेखलमा साहको कुनै संलग्नता नदेखिएको एक व्यापारीले दावी गरे ।
भन्सारमा दैनिक एक करोडभन्दा बढीको सरसामान ओसारपसार हुन थालेपछि व्यापारी तथा कारोबारीसँग सुब्बा कार्कीसहित खरिदारद्वय सापकोटा र श्रेष्ठले सहजीकरण गर्दै आएका छन् । उनीहरु नै छोटीको प्रमुख भएर बसेका छन् । छोटीमा हाल भन्सार अधिकृत दीपेन्द्रकुमार झा छन् । उनी नाम मात्रको अधिकृत हुन् । भन्सार प्रज्ञापनपत्रमा अधिकृत झाको न त सही चल्छ, न त तल्लो कर्मचारीले आदेश नै मान्छन् । भन्सारको प्रज्ञापनपत्रमा अधिकृतको सही हुनुपर्ने स्थान उल्लेख भए पनि अधिकृतको सहीको ठाउँमा सुब्बा र खरिदारले सही गर्दै सरसामान छाड्दै आएका छन् । बसन्त विदामा गएकाले हाल प्रज्ञापनपत्रमा खरिदार सापकोटाले भन्सार नियम विपरीत सही गर्दै आएको तथ्य समेत फेला परेको छ ।
केही दिनदेखि बिदामा काठमाडौ गएका बसन्तले फोनमार्फत सेटिङ मिलाउँदै आएका छन् । र, सो सेटिङ मिलेपछि व्यापारी तथा कारोबारी सापकोटा र श्रेष्ठलाई भेट्छन् । अनि शुरु हुन्छ छोटीमा चलखेल । अहिले सरसमान काट्न कारोबारीको मेला नै लाग्छ । सेटिङ पश्चात कारोबारीले भन्सारमा ल्याएको पोकालाई भन्सारभित्रै खोलेर तीन पोकालाई एक पोका बनाउँछन् । ८ देखि २० हजार सम्म पर्ने एक पोकालाई कर्मचारीले सामानको मूल्यांकन, परिमाण, मिटर घटाइ ३ देखि ४ हजार मात्र राजश्व तिराउँदै आएको भन्सार गेट अगाडि बसेको प्रहरी रेकर्ड पुस्तिका मै प्रष्ट देखिन्छ । तीन पोका बनाएपछि व्यापारीलाई एक पोका छुट दिने र एक पोका बराबरको रकम भन्सारका जाँचकी र काउन्टरमा बस्ने कर्मचारीले लिने प्रावधान छ । कारोबारीले बढी मूल्यांकनको सामान ल्याएमा मूल्यांकन घटाएबापत छुट्टै पोका अनुसार रकम असुल्ने चलन रहेको भन्सार निकट स्रोतले बोलेको अडियोमा प्रष्ट छ । गेटमा बस्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि कारोबारीबाट एक हजारको दरले आफ्नो भाग लिने गरेका छन् । महिना दिनका लागि आउने सुब्बासहितको कर्मचारीको टोलीले अघिल्लो महिनाको राजश्व संकलनको ‘टार्गेट मिट’ गर्दै एक महिनामा मात्र ३० देखि ४० लाख गोजीमा हाल्ने गरेको उनले बोलेको कुरा पूर्वाञ्चलकर्मीको अडियो रेकर्डमा सुरक्षित छ ।
आर्थिक लेनदेनका लागि कर्मचारी कार्यालय समयपछि होटल, कार्यालय भित्रै वा अन्य सुरिक्षत स्थानमा जाने गरेका छन् । मासिक रकम संकलनपछि त्यसको केही प्रतिशत मेची भन्सार प्रमुख अधिकारीलाई उनको निकट कर्मचारीले दिने गरेको बुझिएको छ । भन्सार प्रमुख नै मिलेपछि कर्मचारी निर्धक्कका साथ चलखेललाई निरन्तरता दिँदै आएका छन् ।
यता मेची भन्सार अधिकृत अधिकारीले यो आफूमाथि लगाएको आरोप भएको बताएका छन् । उनले पुष्टि भएमा कार्वाही भोग्न तयार रहेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर