Aamsanchar

रिबन काट्न जान्न,जनताको काममा लाग्छु:प्रचण्ड

Author Image
शनिवार, साउन २२, २०७३

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले जातजाति, भाषाभाषी र भूगोललाई एकढिक्का बनाएर राष्ट्रिय स्वाधीनतालाई सुदृढ तुल्याउँदै राष्ट्रलाई एकताबद्ध राख्नु निकै ठूलो चुनौती रहेको बताउनुभएको छ ।

गोरखा–काठमाडौँ सम्पर्क मञ्च, पाँचौँ एकता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो – ‘‘संविधान घोषणा भएको छ, त्यसलाई परिमार्जन गर्दै कार्यान्वयन गर्ने ऐतिहासिक चुनौती छ, भूकम्पबाट क्षति भएका भवन तथा ऐतिहासिक सम्पदाको यथाशीघ्र पुनःनिर्माण गर्नुपर्ने चुनौती छ ।’’

आगामी २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गर्न सकिएन भने मुलुक ठूलो राजनीतिक र संवैधानिक दुर्घटनामा पर्नसक्ने खतरा रहेको बताउँदै उहाँले जनताको भावना र अपेक्षालाई पूरा गर्न आफू अठोटका साथ अघि बढेको उल्लेख गर्नुभयो ।

उद्घाटन र रिबन काट्ने कार्यक्रममा बढी हिँडियो भने जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा नहुने हुन् कि भनेर आफू डराइरहेको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो – “कुरा कम गरौँ, काम केही गराँै भन्नेमा छु, अपवादबाहेक उद्घाटन र रिबन काट्नेजस्ता कामभन्दा राष्ट्र र जनताको अपेक्षा पूरा गर्नेमा केन्द्रित हुन सकूँ भन्नेमा छु, यसमा तपाईंहरुको सहयोग चाहिएको छ ।”

टुक्रिएर १० वटा बन्न पुगेका माओवादी एक भएपछि अब हामीले आफूलाई तेस्रो पार्टीका रुपमा नहेरी एक नम्बर भइसक्यौँ भन्ने मनोबल र भावनाका साथ उभिन कार्यकर्तालाई निर्देशन दिँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले भन्नुभयो – “समृद्धिको खाका कोर्न र एकताबद्ध हुने सङ्कल्प गर्न सकेनाँै भने जोखिम बढ्न गई दुर्घटनातर्फ जाने खतरा हुन्छ ।”

सबैको उत्साहपूर्ण सहभागितामा जोखिमलाई निकास दिन आवश्यक रहेको बताउँदै उहाँले माओवादीहरु सधैँ जोखिममा काम गर्न रुचाउने भए पनि सधँैभरि प्रत्येक जोखिमबाट सहजरुपबाट बाहिर निस्कन चुनौती हुन सक्नेतर्फ सचेत हुन आवश्यक छ भन्नुभयो ।

छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सन्तुलित ढङ्गबाट नयाँ उचाइमा पु¥याइने अठोट व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सन्तुलितरुपमा सम्बन्ध अघि बढाउनु पर्ने चुनौती छ, तर पनि नेपाल र नेपाली जनताको हित, विकास र समृद्धिमा सम्बन्ध सन्तुलित ढङ्गले परिचालनको सम्भावना बढेको छ भन्नुभयो ।

दुई देशबीचको सम्बन्धलाई भौगोलिक अवस्था, विगतदेखिका राजनीतिक विकासको प्रक्रिया तथा इतिहासले हामीलाई जसरी दिशानिर्देश गरेको छ, त्यसैको आधारमा सम्बन्ध नयाँ उचाइमा पु¥याउनुपर्ने आवश्यकता छ – प्रधानमन्त्री दाहालले भन्नुभयो ।

माओवादी केन्द्रका सचिवालय सदस्य अमृता थापामगरले ‘सुदृढ लालकिल्ला समृद्ध गोरखा जिल्ला’ नारालाई सफलीभूत तुल्याउन कार्यकर्ता पङ्क्ति एकढिक्का भएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

सोही पार्टीका अर्का सचिवालय सदस्य लेखनाथ न्यौपानेले आलोचनालाई गाली र समर्थन गर्दा पूजा गर्ने भनेर बुझ्ने प्रवृत्ति हटाउन आवश्यक रहेको बताउँदै विचार, नीति, कार्यक्रम, सिद्धान्त र व्यवहारलाई तालमेल मिलाएर जानुपर्नेमा जोड दिनुभयो ।

सचिवालय सदस्य हरि अधिकारीले स्वेच्छिकरुपले पार्टी छोड्ने प्रवृत्तिले कार्यकर्ता पङ्क्तिलाई अमिलो मन गर्न बाध्य बनाएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले गोरखा जिल्लाको विकासका लागि सरकारले छुट्याएको बजेट र कार्यक्रम कार्यान्वयनको तौर तरिकाबारे जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर