Aamsanchar

मन्त्रिपरिषद् विस्तार हुँदै

Author Image
बुधवार, साउन २६, २०७३

काठमाडौँ। 

download (1)

सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारमा जाने मन्त्रीको टुङ्गो लगाउन समय लाग्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आफ्नो दलका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ ।
नेकपा (माओवदी केन्द्र)को सचिवालय बैठकले मङ्गलबार पार्टीको तर्फबाट बन्ने मन्त्रीहरूको अन्तिम टुङ्गो लगाउन अध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेपछि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना देखिएको हो ।  माओवादी केन्द्रका एक नेताका अनुसार नयाँ मन्त्रीहरूमा हितराज पाण्डेले स्थानीय विकास, सुरेन्द्र (राम) कार्कीले सूचना तथा सञ्चार, जनार्दन शर्माले ऊर्जा, धनीराम (डिआर) पौडेलले शिक्षा र प्रभु शाहले कानुन तथा न्याय मन्त्रालयको जिम्मेवारी लिने तय भएको छ ।  यद्यपि यसको अन्तिम निर्णय गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको छ ।
‘प्राथमिकतामा पर्नुभएको साथीहरूबारे बैठकमा व्यापक छलफल भयो ।  कार्यलयको बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्षलाई दिएको छ,’ बैठकपछि प्रवक्ता पम्फा भुसालले भन्नुभयो, ‘बैठकले नाम टुङ्गो नलगाई छलफलमा आएका नाममध्येबाट अध्यक्षलाई काम गर्न सहज हुने गरी लाने र भोलि वा पर्सिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको छ । ’
माओवादी स्रोतका अनुसार नेपाली काँग्रेसले आफ्नो विद्यार्थी सङ्गठन (नेविसङ्घ)को महाधिवेशन सकेपछि सँगै मन्त्रिपरिषद्मा सदस्य थप्न आग्रह गरेको थियो ।  नेविसङ्घको महाधिवेशन लम्बिएको कारण काँग्रेसले तत्काल आफ्नो पार्टीको तर्फबाट पठाउने मन्त्रीहरू टुङ्ग्याउन नसक्ने देखिएको जानकारी दिँदै माओवादीका एक नेताले भन्नुभयो, उहाँहरूले हाम्रो केही समय लाग्ने देखियो ।  तपार्इँहरू अघि बढ्नुस् भन्ने सङ्केत दिनुभएकोले सम्भवतः भोलि नै नयाँ मन्त्रीहरूको शपथ हुनेछ ।
प्रस्तावित सबै नामहरूलाई नै अध्यक्ष प्रचण्डले अन्तिम टुङ्गो लगाएमा यसपटक माओवादी केन्द्रबाट महिला मन्त्री नबन्ने देखिएको छ ।  पार्टीभित्र यसबारे आलोचना सुरु भएको छ ।  यद्यपि नेताहरूले अर्को पटक मन्त्रिपरिषद् विस्तार गर्दा राज्यमन्त्रीमा केही महिला तथा जनजातिको तर्फबाट समेट्ने योजना रहेको बताइएको छ ।
माओवादीले यसअघि अर्थ, कृषि र युवा तथा खेलकुद मन्त्री पठाइसकेको छ ।  सत्ता साझेदारलाई दुई ठूला दलबीच प्रधानमन्त्रीको पार्टीले ८ वटा र काँग्रेसले १३ वटा मन्त्रालय लिने सहमति भएको छ ।  माओवादीले आफ्नो मन्त्रीहरू नियुक्त गरेपछि काँग्रेसको भागमा परराष्ट्र, स्वास्थ्य, पर्यटन तथा नागरिक उडान, रक्षालगायतका मन्त्रालयहरू पर्ने देखिएको छ ।  सरकारमा सहभागी नेकपा (संयुक्त)ले एक र राप्रपाले दुई मन्त्री पठाइसकेको छ ।  उहाँहरू अहिले विना विभागीय मन्त्रीको रूपमा काम गरिरहनुभएको छ ।
माओवादी केन्द्रको बैठकले २ गते गर्ने भनेको महाधिवेशन आयोजक समितिको बैठक पनि सार्ने निर्णय गरेको छ ।  बैठकलाई राष्ट्रिय भेलाको रूप दिएर ११ गते गर्ने तय भएको बताइएको छ ।  बैठकमा नेताहरूले सरकारको प्रारम्भिक कामबारे समीक्षात्मक टिप्पणी पनि गर्नुभएको बताइएको छ ।  नेताहरूले सरकारको सुरुवाती चरण उत्साहप्रद भएको विश्लेषण गर्दै भएका निर्णयहरू कार्यान्वयनमा जोड दिनुपर्ने बताएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर