Aamsanchar

खाडीका जेलमा रहेकाको तत्काल ठोस तथ्याङ्क दिन प्रमको निर्देशन

Author Image
शुक्रवार, साउन २८, २०७३

रमेश लम्साल, काठमाडौँ ।

download

प्रधानमन्त्री पुष्पकमल दाहालले खाडी मुलुकका विभिन्न जेलमा रहेका नेपालीको सम्बन्धमा गम्भीर चासो राख्नुभएको छ ।

परराष्ट्र सचिव शङ्करदास बैरागीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ प्रधानमन्त्री दाहालले खाडी मुलुकमा रहेका नेपालीका समस्याबारे गम्भीर चासो राख्दै जेलमा रहेका नेपालीको ठोस तथ्याङ्क दिन निर्देशन दिनुभएको हो ।

वैदेशिक रोजगारीको खोजीमा खाडी मुलुक पुगेका नेपालीले दुःख पाएको, उनीहरुको पेसागत सुरक्षा नभएको तथा जेलमा कष्टकर जीवनयापन गर्न बाध्य भएको समाचार लगातार आउनु मुलुकका लागि समेत सुहाउँदो विषय नभएकाले तत्काल समस्याको समाधान गर्न प्रधानमन्त्रीले परराष्ट्र सचिवलाई निर्देशन दिनुभएको हो ।

नेपालीको कष्टकर अवस्था र जेलमा रहेका नेपाली नागरिकको रिहाइका लागि तत्काल पहल गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सनाले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्रीले खाडीमुलुकमा बन्दीजीवन बिताइरहेका रामचन्द्र तिमिल्सिनाको अवस्थाबारे पनि परराष्ट्र सचिवसँग जानकारी लिनुभएको थियो ।

सो अवसरमा परराष्ट्र सचिव वैरागीले तिमिल्सिनाको सहयोगमा निजी क्षेत्रबाट रु २८ लाख सङ्कलन भएको जानकारी दिनुभएको थियो । प्रधानमन्त्रीले तिमिल्सिनाको घटनाबारे यथार्थ बुझेर थप जानकारी गराउन निर्देशन दिँदै सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । साउदी जेलमा रहनुभएका तिमिल्सिना ब्लड मनी तिर्न नसक्दा रिहाइ हुन सक्नुभएको छैन ।

परराष्ट्र सचिवले पेट्रोलियम पदार्थको मूल्य घटेकाले खाडी मुलुकमा धेरै कम्पनी बन्द हुँदै गएका र केही नेपाली कामदार कम्पनीबाट फिर्ता भइरहेको जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्रीले आफ्नै देशमा उत्पादन कार्यमा लगानी गरेर वैदेशिक रोजगारको विकल्प खोज्नेबारे आवश्यक निर्णय गर्ने समेत बताउनुभएको स्वकीय उपसचिव तिमिल्सिनाले बताउनुभयो ।

साउदी अरबको ठूलो निर्माण कम्पनी ‘साउदी ओगर’ मा कार्यरत ४१ जना नेपाली नागरिकले सन् २०१६ को जनवरीदेखि तलब र केही क्याम्पमा जुलाई अन्तिम सातादेखि खाना खुवाउने मेससमेत बन्द भएको जनाउँदै उद्धार गर्नको लागि महावाणिज्य दूतावासबाट प्रबन्ध मिलाइएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले कष्टकर अवस्थामा रहेका नेपाली नागरिकलाई उद्धार गर्न, स्वदेश फर्काउन तथा अन्य वैकल्पिक कम्पनीमा काम गर्नसक्ने अवस्था निर्माणका लागि सम्बन्धित नियोगलाई स्पष्ट निर्देशन दिइएको जानकारी दिनुभयो ।

उहाँले साउदी अरबमा ९५ जना नेपाली नियोगको सम्पर्कमा आएको उल्लेख गर्दै घर फर्कन चाहनेलाई घर फर्काउन र अन्य कुनै उपाय अवलम्बन गर्न सकिने भए सोहीअनुसार गर्न निर्देशन दिइएको पनि बताउनुभयो ।

केही दिन पहिले पनि प्रधानमन्त्री दाहालले साउदी अरब र श्रीलङ्कामा अलपत्र नेपाली नागरिकको उद्धार गर्न र उनीहरुको सुरक्षित स्वदेश फिर्तिका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभएको थियो । दलालको फन्दामा परेका १४ नेपाली महिला श्रीलङ्कामा अलपत्र अवस्थामा रहेको सूचना आएपछि उनीहरुलाई स्वदेश फर्काउने तयारी गरिएको परराष्ट्रले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर