Aamsanchar

स्क्रव टाइफस परीक्षण किट जिल्लामा अभाव

Author Image
सोमवार, साउन ३१, २०७३

काठमाडौं:

Test-57b11c32981567.80854056

काठमाडौंबाहिर अत्यावश्यक किट (रोग परीक्षण गर्ने सामग्री) को सुविधा नहुँदा ज्यान लिने गरी फैलिएको स्क्रव टाइफस परीक्षणमा कठिनाइ भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै उक्त रोग परीक्षणका लागि किट उपलब्ध छ ।

मुसामा पाइने किर्नाजस्तै कीरा (माइटको लार्भा) ले टोक्दा मानिसमा फैलिने स्क्रव टाइफसको संक्रमणबाट आइतबार मात्रै दुई बालबालिकाको मृत्यु भएको थियो । वैशाखयता ७३ जनामा उक्त रोग पुष्टि भइसकेको छ । बजेट अभावमा महाशाखाले जिल्लामा किट उपलब्ध गराउन सकेको छैन । महाशाखाको इपिडिमियोलोजी शाखा प्रमुख डा. गुणनिधि शर्माले जिल्लामा रोग परीक्षणका लागि किटको माग भए पनि आफूहरूले दिन नसकेको स्वीकार गरे ।

रोग परीक्षणका लागि चितवनको भरतपुर अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय बाँके, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काभ्रेको धुलिखेल अस्पतालले महाशाखासँग किट उपलब्ध गराउन माग गरेका छन् ।

महाशाखा प्रमुख डा. भीम आचार्यले नियमित कार्यक्रमअन्तर्गत स्क्रव टाइफस नियन्त्रणका लागि चेतना र उपचारमूलक कार्यक्रम भइरहे पनि बजेट अभावले किट खरिद गर्न नसकेको र त्यसको उपाय खोज्न थालेको बताए ।

यसै साता प्रतिष्ठानमा उपचार गरिरहेका संखुवासभा र भोजपुरका दुई बालकको उक्त रोगका कारण ज्यान गएको थियो । रोग पुष्टि भएका दुई र शंकास्पद एकजनाको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । पूर्वी तराईमा धेरै देखिएको उक्त रोग अझै फैलिन सक्ने अनुमान चिकित्सकको छ । स्थानीय स्तरमै परीक्षण सुविधा नहुँदा चिकित्सक बिरामीको रगतको नमुना काठमाडौं पठाउन बाध्य छन् ।

गत वर्ष नेपालमा पुष्टि भएको स्क्रव टाइफसको समयमै उपचार नभएमा मुटु, फोक्सो, मस्तिष्कजस्ता संवेदनशील अंगमा क्षति पुगी ज्यान जाने गरेको छ । त्यतिबेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना भएका ११ जनामध्ये ६ जना बालबालिकाको ज्यान गएको थियो ।

स्क्रव टाइफसले धनगढीमा पनि दुई महिलाको ज्यान लिएको थियो । टाइफाइड, डेङ्गुलगायत रोगसँग मिल्नेखालको ज्वरो आएका बिरामीलाई औषधिले काम नगरेपछि ती बिरामीको रगतको नमुना संकलन गरी काठमाडौं पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा स्क्रव टाइफस देखिएपछि थप पुष्टिका लागि थाइल्यान्ड पठाइएको थियो । त्यहाँबाट पनि रोग पुष्टि भएर आएपछि महाशाखाले मातहतका सबै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई स्क्रव टाइफस उपचारको तरिकाबारे तयार पारिएको निर्देशिकाअनुरूप उपचार गर्न निर्देशन दिएको थियो ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका ट्रोपिकल मेडिसिन फिजिसियन डा. अनुप बास्तोलाका अनुसार भूकम्प प्रभावित जिल्लाबाट आएका बिरामीमा पनि स्क्रव टाइफस पुष्टि भएको छ । यो संक्रमण फैलिएपछि मानिसमा कडा ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्नेजस्तो लक्षण देखापर्छ । दुई वा त्योभन्दा धेरै यस्तो लक्षण देखिएमा अस्पतालमा गएर स्वास्थ्य जाँच गराइहाल्नुपर्ने उनको सल्लाह छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर