Aamsanchar

यसकारण सम्झनुपर्छ गोपाल योञ्जनलाई

Author Image
बिहिवार, भदौ २, २०७३
gopal yonzon - veer gorkha
[सन्दर्भ:७४ औं जन्मोत्सव]
गीतमा वा कुनै पनि रचनामा विभाजनका हिसाबले कविता अनुभूतिको चीज हो भने अन्य चिन्तनका धार फिलोसफी हुन् भन्दा अत्युक्ति नहोला । नेपाली कविता र गीतिगेयमा दर्शनप्रधानताको आधारमा लेखिएका कम अनुभूतिका आधारमा लेखिएका धेरै पाइन्छन् तर गीत गणितमा प्रतिशतका आधारमा हेर्ने हो भने नातिकाजी, अम्बर गुरुङ, शरण प्रधान, गोपाल योञ्जनका गीत सविशेष रूपमा दर्शनप्रधानतामा पाइन्छन् ।
राष्ट्र, राष्ट्रियता र नेपालीपनका गीतमा गोपाल योञ्जनको रचनाकारिता सबभन्दा अग्रधारमा देखिन्छ । गोपाल योञ्जनका आधुनिक गीतका तीन खण्डीय विभाजनमा आध्यात्मिक गीत, देशज् गीत र लोकलयका गीतमा उनी सबैभन्दा प्रबल नै राष्ट्रिय गीतमा रोमाञ्चक र उत्सवधर्मी देखिन्छन् ।
उनले हरेक प्रकारका गीत गर्न भ्याएका छन्, प्रेमप्रणयका, महिला हक अधिकारका, ऊज्र्वस्वीकरणका, वातावरण र बालबालिकाका लागि हरेक प्रकरणका गीतसंगीतमा आफूलाई ढालेका छन् । उनको सांगीतिक क्षमतलाई हेर्ने हो भने उनका प्रत्येक गीतमा संगीत संयोजनमा उनको खूबी र प्रभाव देखिन्छ । उनका सहपाठी एवं गीतकार नगेन्द्र थापाका अनुसार शब्द र ध्वनिको सम्मि श्रण, सामञ्जस्य र समन्वय उनका गीत (वाद्य र ध्वनि ) हरू प्रतीकका रूपमा छन् ।
तैपनि विचार गरेर हेर्ने हो भने मलाई यस्तो लाग्छ, सन् १९६३ देखि सन् १९६८ सम्म उनको संगीत पक्ष सशक्त, ओजपूर्ण, मेलोडियस  (चलनचल्तीको अर्थमा) भित्री मनलाई उदिन्नसक्ने, म्युजिकल फ्रेजेसको बनावट र प्रयोग गराइमा कोमलता, लचिलोपन, सबल अभिव्यक्तिको पुट र नजानिँदो तर गहिराई थियो भने सन् १९६८ यता उनको गीत पक्ष नै क्ताक्ता अभिव्यक्तिको माध्यम बनेको अनुभव हुन्छ ।
तीसकै दशकमा नगेन्द्र थापाले गरेको यो घोषणामुताविक गोपाल योञ्जन तीस दशकपछि अझै सुदृढ र सम्पृक्त हुँदै आए । तीसको दशकपछि उनले विद्यार्थी, प्रहरी, खेलाडी, वातावरणविद्, पर्वतारोहीसित काम गर्दै जाँदा उनको सांगीतिक्तामा राष्ट्रियता बृहत् हुँदै देखा पर्‍यो ।
तीस र चालीसको दशकमा उनी चलचित्रको संगीतका निम्ति एकाग्र भए । यसै बेला पनि उनले राष्ट्रिय बोधका धेरै गीत बनाए, जसमा आफ्नै स्वरमा बनेको छ । ‘पहराले यो छाती मेरो’, ‘देशले रगत मागे मलाई बलि चढाऊ’, ‘सबैले मन खोलेर भन जय जय नेपाल’, ‘समर खेल्ने शत्रु छैन’ होस् वा मीरा राणाको स्वरमा ‘मखमली चोलो चाहिँदैन’, सूर्य थुलुङको स्वरमा ‘मागी मीठो खाँदैन, चोरी राम्रो लाउँदैन’ र किरण प्रधानसितको संयुक्तिमा आफ्नो ‘आफ्नो कथा छ यहाँ’ र ‘मेरो टोपी कैलाशको शिरजस्तो’ प्रमुख मानिन्छन् ।
पचासको दशक उनको सम्पूर्ण रूपमा राष्ट्र र राष्ट्रियताप्रति समर्पित भएर निशानी ५२ र निशानी ५३ तयार भएका छन् । निशानी ५२ मा उनले फरक राष्ट्रिय भावका गीत बनाएका छन् जसको मूल्यांकन वा रिडिफाइनिङ अझ हुन बाँकी छ । उनले जीवनको अन्तिम समयमा बनाएका दुई राष्ट्रिय बोधका गीत धेरै फरक शैलीका छन् । ‘समर खेल्न शत्रु छैन’ र ‘सब जाग जाग भन्छन् म मात्र एक्लै कसरी जागूँ ? ’ यी दुवै गीतमा गोपालीय भाव र अभिभावकियत्व अन्य गीतमा भन्दा हजारौं कोणले फरक भएर आएको छ ।
विसं २०२७ मा त्रिभुवन विश्वविद्यालयबाट कलामा स्नातकोत्तर गरेका गोपाललाई विचारमा डुब्नेजस्ता गुणले गर्दा हरेक कुरालाई दार्शनिकीकरण गर्ने बानी पर्‍यो । यद्यपि यो तŒव (दर्शन) उनको सिर्जनाको प्रारम्भिक कालदेखि नै अनुभूत भएको मान्न सकिन्छ । पछि गएर झन् यो गुण अझ प्रखर र सशक्त भएर प्रस्फुटित भएको देख्न सकिन्छ । उनको जीवनकालको अन्तिम रचनामा यो भाव स्पष्ट देख्न सकिन्छ :
आकाश आकाश नै हो उठाउनु पर्दैन
दबेका पाउमुनिका धुलोलाई उठाइदिनु
धुलैको गीत हो धुलैको धुन हो यो
धुलैमा मिल्छौ भने मेरो साथ गाइदिनु
यो गीतमा उनको आग्रहले दुई कुरा स्पष्ट तवरमा राखेको छ, तर्क र दर्शन । जुन दुवै कुरा आपसमा मेल खाने होइन तर गोपाल यसमा सम्पृक्त देखिन्छन् ।
भाषा र राष्ट्रियताको कुरा गर्नेबित्तिकै गोपालका गीतमा त्यो मिथक र स्मृति भएर सहव्याप्ति हुन आउँछन् । उनका कैयन् गीतमा सेक्युलर राज्य व्यवस्था पनि आत्यन्तिक चरित्रमा धर्मपरायण भएर देखा पर्दछ ।
युरोपीय संगीत र भाषाको प्रभुत्व भएको एसियाई भूखण्डमा सार्वभौमिक प्रभुत्व भएको संकेत योरोपियन मनिषी दार्शनिक मार्टिन हाइडेगरले ‘धरतीको योरोपियकरण’मा दिइसकेका छन् । हाइडेगरको नाम र वस्तु दुवै योरोपियन चिन्तनमा फँस्दै गरेको बेला जापानका एक दार्शनिकको प्रश्नमा हाइडेगरले के यसका लागि कन्सेप्ट्स्को जरुरत छ भनेर प्रश्न गर्दा ती जापानी दार्शनिकले भनेका थिए, ‘किनकि योरोपीय विचार शैलीको सम्पर्कमा आउनेबित्तिकै हाम्रो भाषामा एक प्रकारको असमर्थता देखियो, यो कमीले त्यसमा पदार्थलाई परिसीमित गर्ने शक्ति रहेन: यो ती दुवैले एक वा अन्य अर्थमा पर वा क्रममा राखेर यसको एकार्थक समन्वयलाई कल्पित गर्न सक्दैन ।’
यही भाषाको त्रुटिलाई आफ्नो असक्षमता मान्ने जापान, भारत, चीनजस्ता मुलुक स्वराष्ट्रीयकरणमा परिवर्तित हुँदै गरेको बेला गोपालले आफ्ना मित्र नगेन्द्रलाई एक पत्रमा सन् १९६७ जनवरी ५ मा लेखे, ‘संगीतको भाषा एउटै हुन्छ, त्यसको सिमाना हुन्न भन्ने कुरो आउँछ । नेपालीपन, नेपाली गन्ध, नेपाली जस्तो भनेको के हो , त्यो पनि अब हामीले सोच्नुपर्छ …।’
अन्तर्राष्ट्रियताभित्र पनि राष्ट्रियतको खोजी यसपछि गोपालको प्रेरक प्रसंग बन्यो । उनले यसै समयसीमामा जति पनि राष्ट्रिय भावबोधका गीत बनाए, ती सशक्त र विश्वसनीय भए । जतिबेलासम्म उनकै गुरु अम्बर गुरुङको ‘नौलाख तारा उदाए’ र ‘भुलेको छैन हामीले सुगौली सन्धि चरममा पुगिसकेको थियो’ भने उस्ताद गोविन्दबहादुर नेपालीको ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’ र नातिकाजीको ‘नेपाली हामी रहन्छौं कहाँ नेपालै नरहे’ एक मानक बनिसकेका थिए ।
कालक्रम र व्यवस्था परिवर्तनको धारमा ‘पञ्चै हो यो देश बनाईदेऊ’ जस्ता गीतदेखि ‘चौतारीमा राजा भेट भयो’ जस्ता गीतले मक्किँदै गएको तानाशाही व्यवस्थाको संरक्षण गर्न नसकेका बेला गोपालका गीत बंगाली क्रान्तिकारी गीतजस्ता तेजिला र धारवादी भएर आकासिएका थिए,
देशले रगत मागे मलाई बलि चढाऊ
रुँदिनन् मेरी आमा, ऊ हो नेपालकी छोरी
यो गीतबाहेक गोपाल योञ्जनले अरुणा लामा र मीरा राणाको युगल गीतमा पनि काम गरे । यी गीतमा शब्द र संगीत उनको थियो:
यो मायालाई भार ठान
पैतालाको धुलो मान
तिम्रो खुसी तिम्रो मन तिम्रो विचार
तर हामीबिना चल्दैन है तिम्रो संसार
माथिको गीत होस् वा दावा ग्याल्मो र डेजी बराइलीको युगल स्वरमा भएको यो गीत:
पहाडे थाटमा
वनकी चरी सानी
मलाई पनि तिमीजस्तै छमछमी नाच्न सिकाइदेऊ ।
यी गीतमा उनी स्पष्ट, प्रखर र प्रख्य भएर व्यष्टिपरक भएर देखा परे । पछिल्लो चरणको उनकै संगीतको कालजयी गीत प्रकाश श्रेष्ठको स्वर अनि गोपालराज पन्तको शव्दमा ‘म राष्ट्रको सेवक’, ‘यो राष्ट्र मेरो प्यारो …’ मा उनी पक्का देशवादी भएर गुञ्जिएका छन् ।
गोपाल योञ्जनले तामाङ सेलो, घाटु, सोरठी, खैजरीको बाहुल्यतामा कैयन् लोक आधुनिक र शास्त्रीय भावका गीत पनि बनाएका छन् तर ती गीतमा समेत उनको देशीय स्वभाव र एकात्मकताको सन्देश छुटेको देखिँदैन ।
नेपाली विषय लिएर एमए गरेका गोपाल योञ्जनका प्रायः गीतमा देवकोटा, रिमाल, वल्लभ वा भूपिका मिहिन शब्दातीत शान्तिको झलक फेर फेरमा देख्न पाइन्छ । चिकित्सक पिता डा. बुद्धिमान योञ्जनका एक्लो छोरो गोपालको जन्म हुँदा घरमा उनको आगमनपूर्व मेडिसन बुद्धको पूजाआराधना गरिएको थियो । धेरै छोरीचेली भएको घरमा जन्म लिएका गोपाल घरका एक्लो छोरो थिए र उनले चिनामा पनि सिकन्दर नाम पाएका थिए । उनी घरका पनि सिकन्दर नै थिए ।
भारतको पर्वतीय राज्य दार्जिलिङको मिरिकमा विसं २००० मा गोपाल जन्मँदा भारत आफ्नो स्वतन्त्रताको निम्ति लड्दै थियो भने नेपालको नेपाली समाज पनि लामो राणाशाही शासनबाट मुक्ति खोज्दै थियो । यो मुक्तिको सँघारमा जन्मेका गोपालले भारतीय नेपाली गायक मित्रसेनको नेपालीपनका गीत सुनेर हुर्के । उनले आफ्ना गुरुद्वय नानीदुलाल मुखर्जीसित शास्त्रीय संगीत र स्ट्यान्डवर्गसँग पाश्चात्य संगीत सिक्ने मौका पाए ।
पछि उनले उन्नाईस वर्षको उमेरमा अग्रज गायक संगीतकार अम्बर गुरुङसित आर्ट एकेडेमीको अभियानमा लागेर अन्य कलाकारसित संगत गर्न पाए, जसमध्ये उनले आदर गरेका शिवप्रसाद, मानवीर सिंह, कपिलराज सुब्बा प्रमुख थिए ।
दार्जिलिङमा उनले स्कुले अध्ययन गर्दै गर्दा भारत स्वतन्त्र भइसकेको थियो । तर दार्जिलिङले पश्चिम बंगालबाट मुक्ति पाउन सकेको थिएन । दार्जिलिङका नेपालीमा बंगाली मूलका नेता र बौद्धिकजनको दमन र दबाब कायमै थियो । यसको घोर पीडा र आक्रोश उनको त्यो बेलाका आधुनिक गीतमा पनि प्रायः भेटिन्थ्यो ।
अम्बर गुरुङ नेपाल भास्सिएपछि गोपालले आफ्ना दाजु कर्म योञ्जन र मित्र नगेन्द्र थापासित मिलेर हिमालय कला मन्दिर सुरु गरे । त्यहाँ उनको संगीतमा दिलमाया खातीले गाएका प्रायः गीतमा एकत्वबोधको भाव देखिन्थ्यो । ‘गाउँकी छोरी’ होस् वा ‘सावन फेरि फर्की आयो’जस्ता गीतमा गोपालले सम्बलता र स्वनिर्मित पहिचानको स्पष्ट खाका खिचेका छन् ।
उच्च शिक्षा अध्ययन गर्न उनी नगेन्द्रको सहयोगमा नेपाल आएपछि उनका धेरै देशभक्ति गीतहरू मीरा राणा, ध्रुव केसी, प्रकाश श्रेष्ठ, नुपूर भट्टाचार्यले गाएका छन् भने उनको पछिल्लो देशज् गीत युवापुस्ताका कलाकारले गाएका छन् ।
वाद्यवादकका रूरुपमा संगीतजगत्मा प्रवेश गरेका गोपालले सन् १९६२ वरपर केही धुन सिर्जना गरे । आफ्ना धुनका निम्ति कसैले रचना नदिएपछि गोपाल आफैंले कलम अघि सारे र आफ्नै रचनामा गीत लेख्न सुरु गरे ।
नेपाली संगीतको स्वर्णिम युगमा नारायणगोपाल, तारादेवी, इन्दिरा मास्के आदिले गाएका अजर अमर गीतहरूमा धेरैजसोमा गोपालको नै रचना र संगीत भएको पाइन्छ ।
संस्कृतिविद् चेतन कार्कीको भाषामा हरेक मान्छेमा गला हुन्छ, कला हुँदैन । कला र गला दुवै हुन्छ तर कलम समाउने क्षमता हुँदैन । भगवान्को कृपाले कला, गला र कलमको त्रिवेणी विरलैलाई मात्र मिल्छ, गोपाल त्यसमध्ये एक भाग्यमानी हुन् ।
गोपालको कलमले काव्यलाई न्याय गर्दै गयो । गलाले गायकीलाई, संगीतले सूर र साजलाई सम्मिलन गराउँदै लग्यो तर उनको उपस्थितिमा बनेका नव नवीनतम एकेक रचनाले उनलाई जिउँदो र जाग्रत बनाएको छ ।
२०४५ सालमा भारतले नेपाललाई नाकाबन्दी गर्दाको समय सीमावर्ती इलाकामा गएर देश जागरण सिलसिलामा नारायणगोपाल, फत्तेमान, अम्बर गुरुङ, नातिकाजी, शिवशंकर गाउँदै हिँड्दा ‘रातो र चन्द्र सूर्य’को ठाउँमा अम्बर गुरुङको ‘होशियार यस बखत होशियार, आफ्नै वरिपरिको मुखलाई चिन’ गुञ्जिसकेको थियो भने त्यही बेला गोपाल योञ्जनले ‘छ धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई, होइन भने नेपाली नभन, वीरको छोरा नातिमा नगन’ रेकर्ड गराए ।
राष्ट्रियतालाई चिरेर हेर्दा दुई धारमा देखिन्छ, न्यासनालिज्म (राष्ट्रवाद) र अहम् राष्ट्र जिंगोइज्म् ) । तर यी दुईको फरक केमा छ भने एकले संरक्षणको भाव बोक्छ, अर्कोले संरक्षकको उग्रता देखाउँछ । गोपालका गीत यी उग्र राष्ट्रवादका हिमायती थिए, उनले एउटा गीतमा भनेका छन्:
म आगो सहन्छु
अन्याय सहन्न
म तृष्णा सहन्छु
तिरस्कार सहन्न
यो उनको स्वाभाविक चेतनाको प्रावल्यता थियो । तर, चिन्तनको अर्को जाग्दो पक्ष पनि यही थियो । यसैमा गोपाल योञ्जन कामयाब देखिन्थे । गोपाल योञ्जनले १९ वर्षबाट गीत लेख्न सुरु गरे । उनी बितेको चार वर्षपछि उनको सम्झनामा पहिलो कार्यक्रम २०५८ जेठ ८ गते काठमान्डुको भर्ज इन क्लबमा आयोजना हुँदा त्यसको शीर्षक जुटाइएको थियो, ‘राष्ट्र र राष्ट्रियताका लागि गोपाल योञ्जन ।’
र, त्यो कार्यक्रममा धेरै युवा पुस्ताका कलाकारले उनका राष्ट्रिय गीतको प्रस्तुति गरेका थिए जसमा दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, उदय सोताङ, रीमा गुरुङ, रामकृष्ण ढकाल, एम बराल आदि सरिक भएका थिए । गोपाल योञ्जनको राष्ट्रवादलाई युवापुस्ताले अझै गुणगम्भीर भएर बुझेको खण्डमा उनको कला र कलमको न्याय हुन्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर