Aamsanchar

बिरामीलाई कुरा बुझाउन नसक्दा डाक्टरलाई कारबाही

Author Image
शनिवार, भदौ ४, २०७३

rmम अहिले अमेरिकाको डेलाभरस्थित नाइन्टकोक मेमोरियल कम्युनिटी हस्पिटलमा कार्यरत छु । इन्सिच्युट अफ मेडिकल साइन्स (आईओएम)बाट एमबिबिएस गरेपछि दुई वर्ष पाटन हस्पिटल मेडिकल अफिसरका रुपमा सेवा दिएको थिएँ । त्यसपछि विशेषज्ञ तहको अध्ययनका लागि अमेरिका आइपुगेको हुँ । एक वर्ष अमेरिकाको बाल्टिमोरमा काम गरेपछि अहिले यहाँ आइपुगेका हुँ ।

अमेरिकामा चिकित्सकका लागि जति धेरै अवसर छन्, त्यति नै जोखिम पनि हुन्छन् । हरेक पाइलामा चिकित्सक सचेत हुनुपर्छ । चिकित्सकीय अभ्यास थाल्नुअघि धेरै परीक्षाहरु पास गर्नुपर्छ । किनभने कुनैपनि बिरामीमाथि गलत अभ्यास नहोस् भनेर राज्य सचेत हुन्छ ।

यसकारण यहाँको ‘माल प्राक्टिस’ (गलत अभ्यास) नियन्त्रण प्रणाली निकै बलियो छ । चिकित्सक पनि उत्तिकै सजग हुनुपर्छ । यति हुँदाहुँदै पनि जीवनमा एक न एकपटक हरेक चिकित्सक यसको फन्दामा पर्छ भन्ने मान्यता छ । त्यसैले यसका लागि सबै चिकित्सकले ‘माल प्राक्टिस’ बीमा गरेकै हुन्छन् । बीमा नगरेको व्यक्ति यसको फन्दामा पर्यो भने त निकै समस्यामा पर्छ ।

कस्तो अवस्थामा ‘माल प्राक्टिस’ गरेको आरोप लाग्न सक्छ भन्ने पहिल्यै जानकारी हुन्छ । सही चिकित्सकीय अभ्यासका लागि तालिम दिइएको हुन्छ । यहाँ जानी–जानी गलत चिकित्सकीय अभ्यास गर्ने आँट त कसैले गर्नै सक्दैन । तर, बिरामीलाई राम्ररी कुरा बुझाउन सकेन वा समय दिन सकेन भने पनि गलत चिकित्सकीय अभ्यासको आरोप लाग्ने हुन्छ । त्यसैले बिरामीलाई उसको रोग र उपचार प्रक्रियाबारे राम्ररी बुझाउनु पर्छ । अझ उसले बुझ्यो कि बुझेन भनेर सोध्नुपर्छ ।

चिकित्सकलाई गलत अभ्यास गर्नबाट रोक्न हरेक राज्यमा मेडिकल बोर्ड हुन्छ । जसले नियमित अनुगमन र गुनासो आएअनुसार नियन्त्रण गर्छ । कुनै कारण गल्ती भइहाल्यो भने चिकित्सकीय अनुमति पत्र नै खारेज हुन सक्छ ।

नक्कली प्रमाणपत्रका आधारमा वा नक्कली डाक्टर नै हुने संभावना हुँदैन । किनभने चिकित्सकीय अभ्यास गर्ने अवस्थासम्म आइपुग्नु भन्दा अघि विभिन्न ठाउँमा उनीहरुको क्षमता र प्रमाणपत्रको परीक्षण हुन्छ । जसोतसो एकपल्ट परीक्षण पास गरेर जीवनभर अभ्यास  गर्न पाउने अवस्था पनि छैन । किनभने आफ्नो विशेषज्ञताको बेला–बेला जाँच दिइरहनुपर्छ । राज्यले नै त्यस्तो प्रणालीको विकास गरेको हुन्छ । यसले गर्दा हरेक चिकित्सक उपचारका नयाँ प्रणाली र प्रविधिमा अप टू डेट भइरहनुपर्छ ।

अहिले नेपालमा चर्चामा आएजस्तो नक्कली प्रमाण पत्रका आधारमा चिकित्सक बन्ने संभावना न्युन हुन्छ । किनभने यस्तो गरेको हुन सक्ने कुरामा काम दिने संस्था सचेत हुन्छ । भर्ना लिने युनिभर्सिटी सचेत हुन्छ ।  त्यसैले उसले काम गर्नु वा भर्ना हुनुअघि सम्बन्धित संस्थाले सबै प्रमाण पत्र राम्ररी अध्ययन गर्छ । यसकारण त्यसरी चिकित्सक बनेर अभ्यास गरेको भन्ने यहाँ सुन्न पाइदैन ।

इलेक्ट्रोनिक मेडिकल रेकर्ड अनिवार्य छ । जसले उपचार पद्दतीलाई सघाएको छ । हरेकले स्वास्थ्य बीमा गरेको हुन्छ । गरिब र पाको उमेरका नागरिकका लागि भने सरकारी बीमाका प्याकेज छन् । जसको आयस्तर एकदमै न्युन छ, उसको उपचारका लागि सरकारले मेडिकेडको व्यवस्था गरेको  छ भने पाको मान्छेको उपचारका लागि मेडिकेयर प्याकेज हुन्छ ।
(कुराकानीमा आधारित)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर