Aamsanchar

ढाका आक्रमणका योजनाकारको मृत्यु

Author Image
शनिवार, भदौ ११, २०७३

ढाकास्थित एउटा क्याफेमा गत महिना २० जनाभन्दा बढीको ज्यान जानेगरी गराइएको हमलाको योजना बनाउने एकजना संदिग्ध व्यक्तिलाई गोली हानी मारिदिएको बांग्लादेशको प्रहरीले जनाएको छ।

प्रतिआतंकवादी कारबाहीका क्रममा तमिम चौधरी मारिएको आन्तरिक मामिलामन्त्री असादुज्जमान खानले पुष्टि गरे।

राजधानी ढाकाको बाहिरी भेगस्थित एउटा भवनमा प्रहरीले छापा मारेपछि शुरु भएको गोली हानाहानमा अन्य दुईजना संदिग्ध पनि मारिएको अधिकारीहरुले बताएका छन्।

प्रहरीका अनुसार मारिएका तमिम चौधरी बांग्लादेशी मूलका क्यानाडाका नागरिक थिए र उनी स्थानीय लडाकु समूह जामाएतुल मुजाहिद्दीन बांग्लादेशका एकजना मुख्य सदस्य थिए।

पछिल्ला समयमा गराइएका विभिन्न आक्रमणको आरोप उक्त समूहमाथि लगाइएको छ।

वरिष्ठ प्रहरी अधिकारी सान्वार हुसैनले भने, “तमिम चौधरी मरिसके।”

ढाकास्थित होली आर्टिसन बेकरी क्याफेमा जुलाई १ तारिखमा लडाकुहरु प्रवेश गरेपछि आक्रमण शुरु भएको थियो।

प्रहरीले कारबाही शुरु गर्नुअघि १२ घण्टासम्म लडाकुहरुले मानिसहरुलाई बन्धक बनाएका थिए।

प्रहरीले १३ जनालाई जीवितै उद्धार गरेको थियो भने कारबाहीमा ६ जना बन्दुकधारी मारिएका थिए र केही गिरफ्तार भएका थिए।

क्याफे आक्रमणमा २० जना बन्धक र दुईजना प्रहरी अधिकारी मारिएका थिए।

बांग्लादेशको इतिहासमै त्यो सबैभन्दा नराम्रो आक्रमण भएको बताइन्छ।

तथाकथित इस्लामिक स्टेट समूहले आक्रमण गराएको दाबी गरेपनि बांग्लादेश सरकारले प्रतिबन्धित जामाएतुल मुजाहिद्दीन समूहका लडाकुहरुले हमला गराएको भन्दै उक्त दाबी अस्वीकार गरेको वीवीसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर