Aamsanchar

तीजकै दिन १५ जनाको मृत्यु

Author Image
आइतवार, भदौ १९, २०७३

झापा ।

पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु

गएराति मुसलधारे पानीसँगै खसेको पहिरोले एक घर पुरिएर स्याङ्जाको केवरेभञ्ज्याङ–७ ताप्केमा एकै परिवारका चारजनाको ज्यान गएको छ ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार राति साढे १ बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिएर ७८ वर्षीया चन्द्रकुमारी सारु, निजकी नातिनी ३० वर्षीया हुमकला मश्राङ्गी, हुमकलाकी छोरी सात वर्षीया पुनम मश्राङ्गी र १ वर्षीय छोरा मिलन मश्राङ्गीको ज्यान गएको हो ।

राति नै वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले पहिरोमा पुरिएका शव निकालेर अहिले शवपरीक्षणका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रतर्फ ल्याइँदै छ ।

खोलाले बगाएर एक दम्पतीको मृत्यु

 बारा जिल्लाका रहेको धन्सार खोलाले बगाएर शनिबार राति एक दम्पतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

खोलाको बाढीले बगाएर ल्याएको दाउरा टिप्न धन्सार खोलामा गएका बेला खोलाले बगाउँदा निजगढ नगरपालिका–१ भरतसिगोलका ७१ वर्षीय सोमना कुँवर र उनका ६५ वर्षीया श्रीमती रोमती कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक अर्जुन देवकोटाले बताउनुभयो । मृत दम्पतीको शव घरबाट करिब ६ किलोमिटर टाढा फेला परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकको मृत्यु

 पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको डढुवामा आज बिहान ६ बजेतिर रोकिराखेको ट्रकमा ठोकिएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढतर्फ आउँदै गरेको ना१८प ४६९१ नंको मोटरसाइकल सोही दिशातर्फ आउन रोकेर राखेको ना५ख ५८३९ नंको ट्रकमा पछाडिबाट ठोक्ँिकदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङ बेनीघाट–७ का अन्दाजी ३५ वर्षीय राजेन्द्र सुनुवार रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते सुनुवारको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार एक व्यक्तिको चितवन मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको नाम खुलेको छैन ट्रकका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु

सुनसरीको सिमरियामा शनिबार राति एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु भएको छ ।

इनरुवा–दुहवी सकडखण्डको सिमरिया–२ मा दुहवीबाट इनरुवातर्फ आउँदै गरेको को१त १८९ नंको ट्याक्टर र सिरहाको गोलबजारबाट विराटनगरतर्फ जाँदै गरेको स१च ८९४ नंको एम्बुलेन्स एकआपसमा जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एम्बुलेन्स चालक सिरहा गोलबजार–१ निवासी २७ वर्षीय आनन्द श्रेष्ठ र बिरामी सिरहा–१० का ३० वर्षीय सरोज यादवको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा एम्बुलेन्समा सवार सन्तोष यादव, शिवगणेश यादव, सञ्जित यादव, पपु यादव लगायतका चारजना गम्भीर घाइते भएका छन् ।

घाइतेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

सुनसरी खोलमा डुबेर दुईजना बेपत्ता

सुनसरी खोलमा डुबेर दुईजना बालबालिका बेपत्ता भएका छन् । शनिबार नरसिंह–१ स्थित सुनसरी खोलाको किनारमा खेल्ने क्रममा एकै परिवारका दुईजना बालबालिकाको डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

डुबेर बेपत्ता हुनेमा सुनसरी नरसिंह–१ बस्ने मिश्रलाल मण्डलको ८ वर्षीय छोरा मनित मण्डल र ६ वर्षीया छोरी बबिता मण्डल रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । बेपत्ताको खोजी भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनु भयो ।

खोलाले बगाउँदा एक महिलासहित दुईजनाको मृत्यु

महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति खोलाले बगाउँदा एक महिलासहित दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार हिजो राती साढे ७ बजेको समयमा बर्दिबास नगरपालिका–१० स्थित मरहा खोला तर्न लाग्दा खोलामा अचानक आएको बाढीले बर्दिबास–१० बस्ने विमल बुलनका छोरा १० वर्षीय मानव बुलनलाई बगाउँदा उनको मृत्यु भएको हो ।

त्यस्तै गएराति नै ८ बजेतिर जिल्लाको औरही बजारबाट घर फर्किने क्रममा रातु खोला तर्दै गरेकी पशुपतिनगर गाविस–६ बस्ने बिर्जु महराकी पत्नी ५० वर्षीया पवित्रा महरालाई सो खोलामा अचानक आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

खोला तर्ने बेलामा अचानक आएको बाढीले बगाएर लगेका बुलनको शव प्रहरीले बर्दिबास–१२ स्थित खोलामा फेला पारेको थियो भने महिला महराको शव जिल्लाको सीतापुर भङ्गहा–३ स्थित सोही खोलामा फेला पारेको थियो । मृतक दुवैजनाको शव आज बिहान शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

चितुवाले बालिका लग्यो

जिल्लाको तल्लोस्वराडमा आज साँझ चार वर्षीया बालिकालाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको छ ।

बैतडी उदयदेव–२ कफाडीका हीरा चन्दकी चार वर्षीया छोरी अञ्जलीलाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।

आँगनमा रहेकी बलिकालाई आक्रमण गरी चितुवाले लगेको हो । घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दुरीमा पर्छ । यसअघि गत भदौ ४ गते पनि तल्लोस्वराडको उदयदेव–९ मकैल ब्याल्धमका हीरा चन्दका सात वर्षीया छोरी चञ्चलाको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।
तल्लोस्वराडमा चितुवाको आक्रमणवाट पाँच वर्षयता २१ जनाको ज्यान गइसकेको छ ।

पहिरोमा पुरिएर एकजनाको मृत्यु

म्याग्दीको देवीस्थानमा पहिरोले घर बगाउँदा एकजनाको ज्यान गएको छ ।

देवीस्थान–५ घारथोकमा  बिहान गएको पहिरोमा परी बेपत्ता भएका स्थानीयवासी करिब ७० वर्षीय ओमप्रसाद भट्टचन मृत फेला परेका हुन् ।

गोठसहित पहिरोमा पुरिएका भट्टचनलाई तीन फिट तल पुरिएर मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले भगबहादुर घर्ती र कलीमाया बुढाथोकीको घर बगाएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताउनुभयो ।

पहिरोमा पुरिएर दुईवटा गाई र एउटा गोरु मरेका छन् । इलाका प्रशासन कार्यालय दरवाङबाट घटनास्थल पुगेको प्रहरी टोलीले क्षतिको विवरण सङ्कलन गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)