Aamsanchar

‘सरकारको विदेशनीति असन्तुलित’

Author Image
सोमवार, कार्तिक १, २०७३

काठमाडौः

samsad

सरकारले दुई छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्ध सन्तुलित बनाउन नसकेको भन्दै विपक्षी दलले विरोध जनाएका छन् । भारतको गोवामा भइरहेको ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन नसक्नु सरकारको कूटनीतिक अक्षमता भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् ।

आइतबारको संसद् बैठकमा एमाले सांसद डा. राजन भट्टराईले नयाँ सरकार गठनलगत्तै चीन र भारतबाट उच्चस्तरीय राजनीतिक भेटघाट हुने भनी सरकारले जनतालाई ढाँटेको आरोप लगाए । ‘सरकार गठनलगत्तै उत्तर र दक्षिण गएका प्रधानमन्त्रीका विशेष दूतले दुवै देशबाट उच्चस्तरीय भ्रमण हुने भनी जनतालाई भनेका थिए’, भट्टराईले भने, ‘परराष्ट्र नीति सन्तुलित भएन भन्दै बनेको सरकारले यसबारे जनतालाई जानकारी दिनु पर्दैन ? ‘ सरकारले सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न नसकेको दाबी गर्दै भट्टराईले भने, ‘कूटनीतिक विषयमा सरकारको भड्काउपना मात्र देखिन्छ ।’

नेमकिपाकी सांसद अनुराधा थापामगरले ब्रिक्स सम्मेलनका क्रममा बंगलादेशको भ्रमण गरेका चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन नसक्नु कूटनीतिक असफलता भएको बताइन् । ‘पुष्पकमल दाहालले दुवै देशमा दुई दूत पठाए । निम्ता दिए तर पनि चिनियाँ राष्ट्रपति आएनन्’, उनले भनिन्, ‘सरकारले विदेश नीतिमा सन्तुलन कायम गर्न सकेन ।’

यसअघि भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यबारे असन्तुष्टि जनाउँदै उनले भनिन्, ‘नेपालको परराष्ट्रनीति अब दिल्लाबाट चल्ने हो ? दाहालले लेन्डुप दोर्जेको बाटो लिए ।’

नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले नेपालको संसद्मा आएर बुद्ध नेपालमै जन्मेको भनी भाषण दिएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सम्मेलनका क्रमममा बुद्ध भारतमा जन्मेको भनेर भाषण गरेको आरोप लगाए ।

‘यस्तो गम्भीर कुरा बोल्दा पनि हाम्रो सरकार सुनेको नसुनेझैं किन गरिरहेको छ ? ‘ उनको प्रश्न थियो ।

हिन्दी भाषाबारे विरोध

सत्तासीन कांग्रेसका सांसद धनराज गुरुङले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने भनी गरिएको मागप्रति कडा आपत्ति जनाए । ‘३० लाख मधेसवादीले बोल्ने मैथिली, भोजपुरी, अबधी, थारू र बज्जिकाको कुरा नउठाई हिन्दी भाषाका विषयमा मात्र यति धेरै आशक्ति किन ? ‘ सांसद गुरुङले भने, ‘यो गैरजिम्मेवारीपन मात्र होइन, राष्ट्रियतामाथिको हस्तक्षेप पनि हो ।’

नयाँ संविधानले नेपालमा बोलिने सबै भाषा मातृभाषा हुने भनी किटान गरिसकेपछि हिन्दी भाषाका विषयमा मात्र आशक्ति देखिनु रहस्यमय भएको गुरुङको आरोप थियो ।

माओवादी केन्द्रका योगेन्द्र तामाङले थारू, मधेसी र जनजातिका मागका विषयमा तीन प्रमुख दल एक ठाउँ बसेर निष्कर्ष निकाल्न सुझाव दिए ।

तमलोपाका अकवाल अहमद साहले तीनबुँदे सहमतिअनुसार संविधान संशोधनको प्रस्ताव सरकारले दर्ता नगरेको भन्दै आपत्ति जनाए ।

सांसदको डेरामा चोरी
सत्तासीन कांग्रेसका सांसद रामकृष्ण यादवले दसैंको बेला आफ्नो डेरामा चोरी भएको भन्दै संसद्मा कुरा उठाएका छन् । आफू गृहजिल्ला धनुषा गएको बेला कोठाको ताला फोडेर दराजबाट केही सामान चोरी भएको भन्दै यादवले डकैती र चोरी नियन्त्रण गरी शान्तिसुरक्षाको अवस्था सुदृढ बनाउन सरकारलाई सुझाव दिए ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर