Aamsanchar

औषधि पसलको अनुगमन गर्न जनशक्तिको अभाव

Author Image
सोमवार, कार्तिक १, २०७३

 

 

काठमाडौँ ।

psl

औषधि व्यवस्था विभागले काठमाडौँ, पोखरा, नेपालगन्ज र विराटनगरजस्ता ठूला सहरका सबै फार्मेसी (औषधि पसल)को अनुगमन थाल्ने भएको छ ।

सुरुमा पहिलो चरणमा ती चार सहरमा रहेका औषधि पसलको अनुगमन गरी यस्ता पसल दर्ता, नबकिरण औषधिका मूल्यलगायत औषधि ऐनले निर्दिष्ट गरेका विषयको अनुगमन गर्न विभागले गृहकार्य थालेको हो ।

देशभर कति औषधि पसल सञ्चालनमा छन्, तीमध्ये कति दर्ता भई र कति दर्ता नगरी सञ्चालित छन् भन्ने यकिन विवरण विभागसँग छ्रैन । विभागमा मुलुकभरका करिब २० हजार औषधि पसलमात्र दर्ता रहेका छन् । यो सङ्ख्याभन्दा वढी बिना दर्ता त्यस्ता पसल सञ्चालित छन् । यस्ता औषधि पसललाई दर्ता प्रक्रियामा ल्याउने काम विभागलाई जहिले पनि टाउको दुखाइको विषय बन्ने गरेको छ ।

विभागका गतिविधिका बारेमा पहिलोपटक जानकारी लिन बिजुलीबजारस्थित विभागमा आकस्मिक रुपमा पुग्नुभएका स्वास्थ्यमन्त्री गगनकुमार थापालाई सो विभागका महानिर्देशक नारायण ढकालले प्राथमिकताका साथ औषधि पसलको अनुगमन थालिने जानकारी दिनुभयो ।

ढकालले विभागको महानिर्देशक पद सम्हालेको एक महिना पूरा भएको छ । यस अवधिमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र महानिर्देशक ढकालका बीच मन्त्रालयअन्तर्गतका निकायमै पहिलोपटक कार्य सम्झौता सम्पन्न भएको छ ।

मन्त्री थापाले मन्त्री पद सम्हाल्ने बित्तिकै मन्त्रालय मातहतका प्रमुखलाई निर्देशन दिने क्रममा औषधि पसलको अनुगमन गरी उपभोक्ता नठगियूँन भनेर निर्देशन दिनुभएको थियो । यस क्रममा विभागले २४७ पसलको अनुगमन गरी २१ वटाको दर्ता खारेजसमेत गरिसकेको छ ।

महानिर्देशक ढकालले जनशक्तिको अभावमा औषधि पसलको अनुगमनलाई तीव्रता दिन नसकिएको जानकारी दिनुभयो । महानिर्देशकको कुरा सुनेर गम्भीर बन्नुभएका मन्त्री थापाले तत्काल भन्नुभयो – “महानिर्देशक सर, यो मेरो प्रतिष्ठासँग गाँसिएको छ । सुरुमा चारवटा सहरमा अभियानका रुपमा अनुगमन सुरु गर्नुहोस् । विस्तारै करारमा जनशक्ति लिनुहोला ।”

विभागका कर्मचारीले मन्त्रालयले मनाङ जिल्लालाई विनियोजन गर्नेभन्दा कम पनि बजेट विभागलाई विनियोजन गरेको, विभागको हातमा रहेको प्रयोगशालालाई क्षेत्रीय रुपमा बजेटकै अभावमा विस्तार गर्न नसकिएको जस्ता गुनासा राखेका थिए ।

महानिर्देशक ढकालले बदलिँदो अवस्थामा सातवटै प्रदेशमा विभागको कार्यालय स्थापना गर्न प्रस्ताव गरिएको, विभागअन्तर्गत ३२८ जनाको नयाँ सङ्गठन ढाँचा तयार गरिएको, औषधि ऐन संशोधनको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर