राम आचार्य
सोभियत सङ्घमा समाजवादी सत्ताको पतनको प्रारम्भ भइसकेको थियो । चीनमा माओको नेतृत्वमा कम्युनिष्ट सत्ताभित्रका खराबीहरुलाई हटाउन साँस्कृतिक रुपान्तरणको अभियान चलिरहेको थियो । सोभियत सङ्घ र चीनका बीचमा महान् बहसहरु चल्दै थियो । सोभियत सङ्घ र अमेरिकाबीचमा शीतयुद्ध रोकिएको थिएन । चिनियाँ साँस्कृतिक क्रान्तिको प्रभावका कारण नेपालको पूर्वी भागसँग जोडिएको छिमेकी देश भारतमा चारु मजुमदारको नेतृत्वमा नक्सालबाडी आन्दोलन चल्दै थियो । राष्ट्रिय–अन्तर्राष्ट्रिय आन्दोलनको यो उतारचढावको प्रभाव नेपालमा पर्नु स्वाभाविक नै थियो ।
विसं. २०२८ सालमा काठमाडौंमा अध्ययन गरी घर फर्किएका पूर्वका केही विद्यार्थी, केही शिक्षक, बुद्धिजीवि र केही कर्मचारी मिलेर झापामा किसान आन्दोलनको सुरुवात गरे । निरंकुश पञ्चायती शासकले त्यसलाई निर्ममतापूर्वक दमन ग¥यो । तर, आन्दोलनको त्यो प्रवाह रोकिएन । बरु त्यसले देशैभरि हलचल पैदा गरिदियो । आन्दोलनप्रतिको जनतामा देखिएको व्यापक आकर्षण र त्यसको तत्काल भएको तीब्र विस्तारले त्यो विद्रोह समय सापेक्ष थियो भन्ने कुराको नै पुष्टि हुन्छ ।
त्यतिखेरको आन्दोलनको नेतृत्व गरिरहेकाहरुले समेत त्यस्तो परिणामको अपेक्षा गरेको देखिएन् । नक्सालबाडी आन्दोलनको आकर्षण, निरंकुश पञ्चायती व्यवस्थाको विकर्षण र विकल्पको खोजीमा व्यवस्थित योजनाविना नै उनीहरुले शान्त पोखरीमा ढुङ्गा हानेको देखिन्छ । तत्कालीन कम्युनिष्ट नेतृत्वका विरुद्ध असन्तुष्टि र विद्रोह पनि थियो त्यो । झापा विद्रोहका नेतृत्वमा सुरुदेखि नै दुई प्रवृत्ति देखिए । एक, राजनीतिक सुझबुझसहित आएको थियो भने अर्काे युवा पुस्ताको भावनात्मक आकर्षणमात्र । यसलाई तत्कालीन निरङ्कुश सत्ताले पनि राम्रैसँग उपयोग ग¥यो । रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइकेल, नारन श्रेष्ठ लगायतलाई जेल सार्ने बहानामा तत्काल मारियो भने कतिपयलाई जेलमा राखियो । जजसलाई आफ्नो अनुकूल प्रयोग गर्न सकिदैंन, ती बाँच्दा खतरा रहिरहन्छ भन्ने ठानियो तिनलाई तत्काल छानेर मारियो भने बाँच्दा प्रयोग गर्न सकिने र त्यति ठूलो खतरा पु¥याउन नसक्नेहरुलाई बचाइयो । झापा विद्रोहमा बाँचेका नेतृत्वहरु अहिले कहाँ छन र तिनको नेपाली जनवादी आन्दोलनमा के कस्तो भूमिका छ ? भन्ने कुरा राजनीतिको कखरा बुझ्ने जाकसैलाई पनि थाहा छ । विद्यमान प्रतिक्रियावादी सत्ताको पक्षपोषण गर्ने कुरामा नेपाली कांग्रेसलाई समेत उछिन्ने काम सीपी मैनाली र खड्ग ओलीजस्ता पात्रहरुले गरिरहेकोलाई नेपाली जनताले राम्रो मानेका छैनन् ।
वस्तुतः झापा विद्रोह तत्कालीन समयको आवश्यकता र माग थियो । त्यतिखेर विद्रोहको झण्डा उठाउनेहरु सम्मानित पात्र नै हुन् । जो सहिद भए ती नै आन्दोलनका प्राधिकार हुन् । भावनात्मक रुपले आन्दोलनमा जोडिएर तिनका सहयोगी बनेका कतिपयले सहिदको रगतको अपमान गरे, आन्दोलनलाई धोका दिए । एउटै आन्दोलनमा लागेकाहरु एकथरिलाई जेल सार्ने बहानामा मार्छ, केहीलाई जेल तोड्दा पनि बचाइराख्छ र केहीलाई सुरक्षित अवतरण गराउँछ भने यो रहस्यपूर्ण होइन ? यो कम्युनिष्ट आन्दोलनको अनुत्तरित प्रश्न जरुर हो । आन्दोलनहरुभित्र दुश्मनहरु कसरी खेल्छन भन्ने यो ओझिलो उदाहरण होइन र ?
यो अनुत्तरित प्रश्नको उत्तर कहीं न कही त होला नि । त्यति ठूलो आन्दोलनबाट आएका व्यक्तिले रहस्योद्घाटन गर्न अब किन हिच्किचाउने ? झापा विद्रोह गरेर बाँचेकाहरुले त्यसलाई उपेक्षा गरे पनि नेपालको कम्युनिष्ट आन्दोलमा त्यसको महत्व घटेको छैन र घट्दैन । यसको नेपालको वामपन्थीबृत्तमा सधैं चर्चाको केन्द्रमा छ र रहिरहनेछ । बाँचेकाहरुमध्ये कसैले यसको विरासतलाई थेग्ने त कुरै छाडौं, टिक्नै पनि सकेनन् किन ? कतिपयबाट कतै यो आन्दोलनको उठान र बीचमा सम्झौता त भएको थिएन ?, विभिन्न शक्ति केन्द्रबाट ती परिचालित त थिएनन् ? आशङ्का गर्ने ठाउँ प्रशस्त छ । आन्दोलनलाई तार्किक निश्कर्षमा नपु¥याउँदै बीचमै प्रतिक्रियावादी र यथास्थितिवादीसँग घाटी जोड्नुले आशंका गर्नेलाई बल पु¥याएको छैन र ?
त्यतिबेला र यतिवेलासम्म पनि तिनका बारेमा उठेका विषयहरुको किन जवाफ दिन आवश्यक ठानिदैंन ? के तिनका कानमा यी कुराहरु पुगेका छैनन् ? अहिले संसारमा धेरै प्रतिशत जनताले कम्युनिष्टलाई मन पराएको देश नेपाल नै हो । अब यहाँ कम्युनिष्ट आन्दोलनका बारेमा देशीविदेशी जनविरोधी तत्वले गरेका हर्कतहरुको पोल खोल्न डराउन आवश्यक छैन् । अझै विषयहरुलाई रहस्यमा राख्नु भनेको अवसरवाद हो । एक दुई जनाबीचमा भएका कानेखुशीमा बोलिएका कुराहरु अब सार्वजनिक ढंगले भन्न सक्नुपर्छ ।
समकालीन योद्धाहरुमध्येकै कतिपय बूढापाकाहरु अहिले पनि झापामा चर्चा गर्दा रहेछन्– सीपी मैनालीलाई जेल सार्ने सिलसिलामा काठमाडौंको अञ्चलाधीशको कार्यालयबाट दरवार पु¥याइएको थियो रे । जेलभित्रैबाट नख्खु जेल ब्रेकको तानाबुना बुनिएको थियो रे । हामीसँग कानेखुशी गरेर भन्ने ती साथीहरुले सीपीलाई सिधै किन नसोध्ने र जनतालाई सीपीले यथार्थ कुरा भनेर न्याय किन नगर्ने ?
‘दाल मे कुछ काला है’ भनेर राखिरहँदा कसैलाई पनि न्याय गर्दैन ? तपाईंहरु कम्युनिष्ट आन्दोलनको पक्षमा साँच्चै लाग्नुभएको थियो र छ भने नयाँ शिराबाट छलफल गरौं र एउटा निचोड निकालौं । जनताले विश्वास र अनुमोदन गरेको कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन हामी निकै चिन्तित छौं । तपाईहरु चिन्तित हुनुहुन्छ भने सबै आन्दोलनका कडी जोडेर नयाँ इतिहासको निर्माण गरौं ।