Aamsanchar

कांग्रेस बैठकमा लोकमानको बचाउ

Author Image
शुक्रवार, कार्तिक ५, २०७३

काठमाडौं,

lokman

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका बारेमा मिश्रित धारणा राखेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको बैठकमा नेता एनपी साउदले लोकमानलाई महाअभियोग लगाउन नहुने भन्दै बचाउ गर्नुभएको छ । ‘लोकमानलाई अहिले महाअभियोग लगाउँदा बामपन्थीहरु बलियो हुन्छन्, कुनै हालतमा महाअभियोगको पक्षमा उभिन हुँदैन’ बैठकमा साउदले भन्नुभयो । उहाँले लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित भएमा भविष्यमा संवैधानिक निकायको नेतृत्व गर्न जो कोही पनि हच्किन सक्ने उहाँले दाबी गर्नुभयो ।

बैठकमा नेता शेखर कोइरालाले कार्कीले अख्तियारमा बसेर गलत काम गरेकोमा शंका नरहे पनि उहाँविरुद्धको महाअभियोगको प्रस्ताव खेलाँचीका साथ आएको टिप्पणी गर्नुभयो । महाअभियोगको विषय गम्भीर रहेको भन्दै यसमा प्रयाप्त छलफल गरेर अघि बढ्नु पर्ने धारणा आफूले राखेको कोइरालाले पत्रकारलाई जानकारी दिनुभयो ।

बैठकमा कोइरालासहित, मोहनबहादुर बस्नेत, दिलेन्द्रप्रसाद बडू, आनन्तप्रसाद ढुंगाना, फरमुल्ला मन्सुरलगायतका नेताले पनि मिश्रित धारणा राखेका छन् । यसअघि बिहीबारको बैठकमा अख्तियार प्रमुख कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे ९ जना सदस्यले धारणा राखेका थिए । बाँकी सदस्यले आफ्नो धारणा राखेपछि कांग्रेसले यसबारे औपचारिक निर्णय गर्नेछ ।

कांग्रेसका युवा नेताले भने एमाले र माओवादी केन्द्रका सांसदले लोकमान विरुद्ध संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित गराउनुपर्नेमा जोड दिएका छन् । सभापति शेरवहादुर देउवाले भने सबैको बिचार सुनेर पार्टीको धारणा बनाउने बताउनुभएको छ ।उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)