टाइम्स स्क्वायर न्युयोर्कः
अमेरिकाको संघीय अनुसन्धान ब्युरोले निर्वाचनको ११ दिनअघि पुनः छानबिन थालेको इमेल दुरुपयोग काण्डमा डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनलाई दोस्रोपल्ट सफाइ दिएपछि विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रले पहिलो महिला राष्ट्रपति पाउने सम्भावना प्रबल बन्न पुगेको छ ।
एफबीआई प्रमुख जेम्स कोमीले निर्वाचनको अघिल्लो दिन हिलारी क्लिन्टनलाई इमेल काण्डमा सफाइ दिएपछि उनका बाँकी सारा अवरोध चिरिएका छन् । यसै पनि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति बन्न सजिलो थिएन ।
निर्णायक भनिएका सबै राज्यहरू रिपब्लिकनका पक्षमा गएमात्र ट्रम्पका लागि ह्वाइट हाउस प्रवेश सम्भव हुनेछ, जुन लगभग असम्भव छ । ‘ट्रम्पले जित्न असम्भव छ । यसका लागि उनले सबै ‘स्विङ’ राज्यमा विजय प्राप्त गर्नुपर्नेछ,’ थुप्रै मत सर्वेक्षण गरिसकेका स्पेन्सर किम्बल भन्छन् ।
परम्परागत रूपमा मध्यअमेरिकाका धेरैैसहित आधाजसो राज्य रिपब्लिकनका पक्षमा तथा पूर्वी र पश्चिमी तटका अधिकांश राज्य डेमोक्र्याटका पक्षमा छन् । केही यस्ता राज्य छन् जसले हरेक निर्वाचनमा निर्णायक भूमिका खेल्छन् । अब ह्वाइट हाउस प्रवेशका लागि ट्रम्पले सन् २०१२ मा रिपब्लिकन उम्मेदवार मिट रोम्नीले जितेका दुई राज्य नर्थ क्यारोलिना (१५ प्रतिनिधि) र एरिजोना (११) जित्नुपर्छ ।
दुवै राष्ट्रपतीय उम्मेदवारका लागि महत्वपूर्ण रहेको आयोवा (६) र ओहायो (१८) ट्रम्प एक्लैले जित्नुपर्छ । त्यस्तै, अमेरिकामै तेस्रो सबैभन्दा बढी इलेक्टोरल कलेज सदस्य भएको फ्लोरिडा (२९) पनि ट्रम्पले आफ्नो कब्जामा पार्नुपर्छ । पहिलो सबैभन्दा बढी इलेक्टोरल सदस्य रहेको क्यालिफोर्निया (५५) डेमोक्र्याटको परम्परागत अखडा हो भने दोस्रोे सबैभन्दा बढी इलेक्टोरल सदस्य रहेको टेक्सस (३८) रिपब्लिकनको पक्षमा जाने गरेको छ ।
ह्वाइट हाउस प्रवेशका लागि ट्रम्पले धेरै इलेक्टोरल कलेज सदस्य भएका मिसिगन (१६) वा पेन्सल्भिनिया (२०) मध्ये कमसेकम एउटा राज्य आफ्नो पक्षमा पार्नुपर्छ । ‘ट्रम्पले यस्तो असम्भव र दुर्लभ विजय हासिल गर्लान् भन्ने तपाईंलाई लाग्छ ? ‘ किम्बल उल्टै प्रश्न गर्छन् ।
अमेरिकाका ५० राज्यका कुल ५३८ इलेक्टोरल मतमध्ये २५२ स्प्ष्ट रूपमा क्लिन्टनका पक्षमा देखिएको छ भने ट्रम्पका पक्षमा १६३ इलेक्टोरल मत छ । फ्लोरिडा, नर्थ क्यारोलिना, एरिजोना, ओहायो, न्यू ह्याम्सायरलगायत राज्यका १२३ इलेक्टोरल मत अझै अनिर्णीत छन् । निर्वाचनको अघिल्लो दिनसम्मका सर्वेक्षणअनुसार पनि अनिर्णीत देखाएका यी राज्यको अन्तिम परिणाम राष्ट्रपति चयनमा निर्णायक बन्नेछन् ।
क्लिन्टनको पक्का समर्थक सीएनएनको पछिल्लो सर्वेक्षणले भने उनका पक्षमा अहिलेसम्म २६८ इलेक्टोरल मत स्पष्टै देखिएको उल्लेख गरेको छ भने २०२ मत ट्रम्पका पक्षमा देखाएको छ । ६८ मत भने अझैै अनिर्णीत देखिएको सीएनएनले उल्लेख गरेको छ । राष्ट्रपतिमा निर्वाचित हुन् २७० इलेक्टोरल मत चाहिन्छ ।
दुवै उम्मेदवारहरू निर्वाचनको साँझ न्युयोर्कको टाइम्स स्क्वायरमा देखा पर्नेछन् । अबको केही घन्टामा यी दुई उम्मेदवारमध्ये एकले टाइम्स स्क्वायरमा विजय भाषण गर्नेछन् भने अर्काले पराजय भाषण । ‘निर्वाचनमा हारेपछि आफ्नो पराजय स्वीकारका साथ गरिने भाषण अमेरिकी इतिहासको एउटा महत्वपूर्ण परम्परा हो,’ अमेरिकी सञ्चारविज्ञ प्राध्यापक ग्रेगोरी पेन भन्छन्, ‘यो हाम्रो प्रजातन्त्रको एउटा आकर्षक पक्ष हो ।’
क्लिन्टन र ट्रम्पको सम्बोधनका लागि टाइम्स स्क्वायर केही दिनअघिदेखि नै झकिझकाउ पारिएको छ । संसारका सबै प्रमुख सञ्चारगृहले यहाँबाट प्रत्यक्ष प्रसारण गर्न स्टुडियो बनाएका छन् । यसै चम्किलो देखिने टाइम्स स्क्वायर निर्वाचन परिणामपछिको सम्बोधन तयारीसँगै क्लिन्टन र ट्रम्पका ठूल्ठूला तस्बिर र टीभीका खुला स्टुडियोले झनै आकर्षक बनाइएको छ ।
चार महिनाअघि बन्द भइसकेको इमेल काण्डको फाइल निर्वाचनको ११ दिनअघि फेरि खोल्ने र एक दिनअघि त्यसमा क्लिन्टनलाई सफाइ दिने एफबीआई प्रमुख जेम्स कोमीको निर्णयको भने डेमोक्र्याटका विपक्षीहरू र स्वतन्त्र विश्लेषकहरूले आलोचना गरेका छन् । कोमीले आइतबार अमेरिकी कांग्रेसलाई एक पत्र पठाई इमेल काण्डमा क्लिन्टनलाई सजाय दिनुपर्ने कुनै आधार नरहेको जानकारी गराएका थिए ।
क्लिन्टनकी सहकर्मी हुमा एबेडाइनका पति तथा पूर्व कंग्रेस सदस्य एन्थोनी वेइनरसँग यौन दुव्र्यवहार अभियोगबारे छानबिन गर्ने क्रममा उनको ल्यापटपमा क्लिन्टनले पठाएका शंकास्पद इमेल भेटिएको भन्दै एफबीआईले फेरि अनुसन्धान थालेको जानकारी अमेरिकी कंग्रेसलाई अघिल्लो शुक्रबार गराएको थियो । क्लिन्टनलाई सफाइ दिने एफबीआईको पछिल्लो निर्णयपछि रिपब्लिकन उम्मेदवार ट्रम्पले आफ्नो चिरपरिचित शैलीमा भने, ‘दिस इलेक्सन इज रिग्ड । (यो निर्वाचनमा सबै संयन्त्रको दुरुपयोग भएको छ ।)’
अमेरिकी निर्वाचनलाई नजिकबाट हेरिरहेका न्युयोर्कका नेपाली समाजशास्त्री खगेन्द्र प्रसार्इं एफबीआईले हिलारी क्लिन्टनमाथि फेरि अनुसन्धान प्रक्रिया सुरु गर्नु र अन्तिम घडीमा सफाइ दिने फैसला गर्नुले जेम्स कोमीले डेमोक्र्याट उम्मेदवारलाई सघाएको स्पष्टै देखिएको बताउँछन् । ‘ट्रम्पले भनेजसरी ‘रिग्ड’ नहोला तर अमेरिकी निर्वाचनमा सरकारी संयन्त्रको दुरुपयोग भएको स्पष्ट प्रमाण हो यो,’ प्रसाईं भन्छन् ।
राष्ट्रपतीय निर्वाचनमा करिब २० करोड मतदाता सहभागी हुने भए पनि चार करोडभन्दा बढीले मंगलबारअघि नै ‘अर्ली भोटिङ’ सुविधाअनुसार मतदान गरिसकेका छन् ।अन्नपूर्णबाट