Aamsanchar

अरू केटासँग प्रेम गरेको भन्दै प्रेमिका हत्या गर्ने लामिछाने पक्राउ

Author Image
बुधवार, कार्तिक २४, २०७३

भक्तपुरः

Hatya

अरू केटासँग सम्बन्ध बढाएको आरोप लगाउँदै आफ्नै घरमा बोलाएर प्रेमिकाको हत्या गर्ने एक युवकलाई प्रहरीले मङ्गलबार भक्तपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप जिल्ला रामेछाप नगरपालिका–१ ओख्रेनी स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा बस्दै आएका १९ वर्षीय रेशम भन्ने मुक्तिनाथ लामिछाने रहेका छन् ।

लामिछानेले यही कात्तिक १३ गते सिन्धुपाल्चोक महाङ्काल–१ स्थायी घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्दै आएकी २३ वर्षीया सन्तोषी भन्ने एलिसा नेपालीलाई बोडेस्थित आफ्नै घरमा बोलाएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी वृत्त थिमिको संयुक्त टोलीले गरेको अनुसन्धानबाट लामिछानेले गत कात्तिक १२ गते बिहान ११ बजे आफ्नै घरमा बोलाएर काठको मुग्रोले टाउकामा हानेर एलिसाको हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।

गत २० गते बोडेको कच्ची सडक किनारामा बोरामा हालेको अवस्थामा एक महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेका थियो । लामिछानेलाई आफन्तकामा लुकेर बसेको अवस्थामा भक्तपुरबाट महाशाखाको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटनाको दिन लामिछानेले एलिसालाई फोन गरेर चाबहिलमा भेटी घरमा ल्याएर चिया खुवाएपछि आफूसँग लिएको ४० हजार रुपैयाँ फिर्ता मागेको प्रहरीको भनाइ छ ।

त्यसपछि आफूलाई छाडेर अर्कै केटा श्याम श्रेष्ठसँग प्रेम सम्बन्ध राखेको आरोप लगाएपछि दुईबीच विवाद भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । विवादमा आवेगमा आएर लामिछानेले दिउँसो १२ बजे घरको भर्याङ्गमुनि राखेको काठको मुग्रोले पटक पटक टाउकामा हानेर एलिसाको हत्या गरेको लामिछानेले आफ्ना बयानमा सकारेका छन् ।

हत्यापछि उनले लगाएको कपडा, ब्याग र रगत भएको गलैंचा बोरामा हालेर थिमिको नीलबाराही जङ्गलमा लगेर फ्याँकेको र फर्केर लामिछानेले एलिसाको लासलाई बोरामा हालेर राति नजिकै रहेको बारीमा फ्याँकेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर