काठमाडौं :

देशभर जनावर र मानिसबीचको द्वन्द्व बढेको छ। वन्यजन्तु संरक्षण तथा निकुञ्ज विभागका अनुसार देशभर जनावरको आक्रमण बढ्न थालेको छ।
तराईमा सबैभन्दा जंगली हात्ती र पहाडी क्षेत्रमा चितुवाको आक्रमण बढेको छ। तराईमा बाघ र गैंडाको आक्रमणमा परेर पनि हरेक वर्ष कैंयौंले ज्यान गुमाउने गरेका छन्।
पूर्वी नेपालको झापा र आसपासको क्षेत्र तथा पश्चिमका कैलाली, कंचनपुरमा भारतीय जंगली हात्तीको आक्रमणबाट मानिसले जनधन गुमाउनुपर्ने अवस्था छ भने चितवनबाट सर्लाहीसम्म र बाँके बर्दियामा निकुञ्ज तथा आरक्षबाट निस्किएका जंगली हात्तीले क्षति पुर्याइरहेका छन्।

हात्ती नियन्त्रणका लागि विद्युतीय तारको प्रयोग गरिएपनि क्षति कम हुन सकेको छैन। मानिस र जनावरबीचको द्वन्दव रोक्नका लागि जनावरबाट मानिसमा हुने क्षति रोक्नु पर्नेमा जनावरविद् डाक्टर मुकेश चालिसेले जोड दिए।
जंगली जनावरको आक्रमणमा परेकाले उचित राहत नपाउँदा पनि जनावरप्रति नकारात्मक धारणा बन्ने गरेको पाइएको छ। सरकारले जनावरको आक्रमणबाट ज्यान गुमाएकाका परिवारलाई किरिया खर्च र राहत प्रदान गर्ने गरेको छ। घाइतेको उपचारमा सरकारले एक लाखसम्म खर्च दिने गरेपनि त्यो निकै कम भएको भन्दै असन्तुष्टि बढेको छ।



