Aamsanchar

पाथीभरा मन्दिरमा चोरी, पैसा गाड्न खाल्डो खन्दै गर्दा एकजना पक्राउ

Author Image
मङ्गलवार, पौष १२, २०७३

ताप्लेजुङ,

pathibhara_mata

पूर्वको पवित्र तिर्थस्थल पाथीभरा मन्दिरको २ लाख २१ हजार रुपैयाँ चोरी भएको छ । तिर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्बद्धन समितिका आजीवन र बिशिष्ट सदस्यलेहरुले चडाएको रकम चोरी भएको हो ।

दाताले दिएको सहयोग र तिर्थालुुले मन्दिरमा चढाएको रकमसमेत गरी मन्दिरको लकर फोरेर चोरी भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्बद्धन समितिका सहसचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

सह–सचिव काफ्लेका अनुसार मन्दिर परिसरमा रहेको पूजारीका लागि यसअघि बनाइएको पुरानो भवनको भित्री भागको सिलिङबाट कोठामा प्रवेश गरी रकम चोरिएको छ ।

‘सिलिङबाट भित्र प्रवेश गरी लकर फोरेर पैसा चोरिएको हो’ काफ्लेले भन्नुभयो  । उहाँका अनुसार सदरमुकाममा रहेको संस्थाको खातामा रकम जम्मा गर्न तयारी स्वरुप गनेर राखिएको रकम चोरी भएको हो ।  काफ्लेले चोरी भएको मध्ये मोटो रकम पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्बद्धन समितिका आजीवन र विशिष्ट सदस्यले दिएको सहयोग रहेको र बाँकी मन्दिरका तिर्थालुुले चढाएको दान रकम रहेको जानकारी दिनुभयो ।

प्रहरीले नेपाली र भारतीय गरी १ लाख ३१ हजार ३ सय ५५ रुपैयाँ र एकसय अमेरिकन डलरसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले बताउनुभयो । लिङखिम गाविस घर भएका बालक ११ वर्षका सागर लिम्बुुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

केसीका अनुसार बोरामा पैसा हालेर खाल्डो खनी गाड्दै गरेको अवस्थामा प्रहरीले सागरलाई रकमसहित नियन्त्रणमा लिएको हो । केसीले पक्राउ परेका सागरको बयानका आधारमा यो घटनामा नाल्वो घर भई लिङखिम मामाघर बस्दै आएका  १४ वर्षका रमेश नाल्वो र लिङखिम घर भएका अन्दाजी १४ वर्षका मोहन लिम्बुको समेत संलग्नता देखिएकोले उनीहरुको खोजी जारी रहेको जनाएको छ ।

केसीका अनुसार पक्राउ परेका सागरको साथबाट प्रहरीले ८४ हजार १ सय ५५ नेपाली रुपैयाँ, २९ हजार ५ सय भारतीय रुपैयाँ र अमेरिकी १ सय डलर जफत गरिएको छ । चोरी भएको रकम २ लाख २१ हजार भनिएपनि सागरको साथबाट भेटिएको रकमले वास्तविक अवस्था बारे अन्योलता देखाएको केसीको भनाई छ ।

प्रमुुख जिल्ला अधिकारी नरबहादुर खड्काले घटनाका बारेमा पाथीभराको विकासमा क्रियाशिल पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्बद्धन समिति र पाथीभरा क्षेत्र विकास समितिसँग छलफल गर्ने जानकारी दिनुभयो । संरक्षण तथा सम्र्बद्धन समिति जनस्तरबाट गठित पाथीभराको विकासमा क्रियाशिल संस्था हो भने क्षेत्र विकास समिति सरकारी स्तरको समिति हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर