Aamsanchar

झापामा मावि तहसम्मकै स्रोतकेन्द्र स्तरीय रनिङ शिल्ड

Author Image
शुक्रवार, पौष १५, २०७३

[शान्तिराम बस्नेत]
शिवसताक्षीhqdefault
झापामा ऐतिहासिक रुपमै प्रथम पटक माध्यमिक तहसम्मकै स्रोतकेन्द्र स्तरीय रनिङ शिल्ड प्रतियोगिता सम्पन्न हुने भएको छ ।
दूधे स्रोतकेन्द्रले आयोजना गर्न लागेको सो प्रतियोगितामा उक्त केन्द्रभित्र रहेका २३ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहभागी हुने छन् ।
प्रतियोगितामा विभिन्न तह तथा लिङ्ग अन्तर्गत बालविकास तर्फ चकलेट तथा पैसा टिप्ने दौड, कक्षा १ देखि ३ सम्म सियो धागो ५० मिटर दौड तथा १०० मीटर दौड, कक्षा ४–५ का लागि हिसाब दौड ५० मीटर तथा रिले दौड १००×३ मीटर तथा एकल गायन, कक्षा ६ देखि ८ सम्म हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता, कक्षा ९ र १० का निम्ति हाइजम्प तथा लङ्गजम्प खेलहरु समावेश हुने बताइएको छ । त्यस्तै कक्षा ६ देखि १० सम्मका छात्रछात्राहरुका निम्ति भलिबल खेल तथा मार्चपास समेत हुने दूधे स्रोत केन्द्रका अध्यक्ष कालीप्रसाद रिजालले बताए ।
आउँदो माघ ४ गतेदेखि शुरु हुने उक्त रनिङ शिल्ड प्रतियोगितामा ४ गते नै विद्यालय स्तरीय खेलाडी छनौट हुने, माघ ५ गते स्रोतकेन्द्रले तोकेका उपकेन्द्रमा पुनः छनौट भइ आएका विद्यार्थीहरुबीच माघ ७ गतेका दिन राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा फाइनल खेल सम्पन्न हुने दूधे स्रोत केन्द्रका स्रोत सहायक बालकृष्ण मैनालीले बताए ।

उनका अनुसार उपकेन्द्र तोकिएका विद्यालयहरुमा शिवसताक्षी १ शिवगञ्जको जनआदर्श माध्यमिक विद्यालय, शिवसताक्षी–२ लालझोडाको भानु माध्यमिक विद्यालय, शिवसताक्षी–७ दूधेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय र शिवसताक्षी–९ माइधारको बालनिकुञ्ज माध्यमिक विद्यालय रहेका छन् तथा उक्त उपकेन्द्रमा पायक पर्ने माध्यमिक तथा आधारभूत विद्यालयहरुबीच माघ ५ गते दोस्रो चरणको खेलहरु सम्पन्न हुनेछन् ।
अनुमानित २ लाख खर्च हुने भनिएको सो प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा पहिचान, शारिरीक विकास, मानसिक विकास, संवेगात्मक विकास, अन्तर विद्यालयका विद्यार्थीहरुबीच सुमधुर सम्बन्ध स्थापना, राष्ट्रपति रनिङ शिल्ड देखि लिएर क्षेत्रीय तथा राष्ट्रिय स्तरका खेलहरुमा यस स्रोतकेन्द्रबाट प्रतिनिधित्व गराउनका निम्ति खेलाडी उत्पादन गर्नु रहेको दूधे स्रोतकेन्द्रका स्रोतव्यक्ति कृष्णप्रसाद भण्डारीले बताए ।
गत पौष ७ गते बसेको दूधे स्रोत केन्द्र स्तरीय प्रधानाध्यापकहरुको संयुक्त बैठकद्वारा सो कुराको निर्णय गरेको हो ।

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर