Aamsanchar

विर्तामोडको सवारी व्यवस्थापन गर्न अध्ययन

Author Image
आइतवार, पौष १७, २०७३

विर्तामोड ।gadi

मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको ट्राफिक व्यवस्थापन गर्न सवारी पार्किङ ठेक्का लगाउने प्रक्रिया अघि बढाइएको छ ।

स्थायी पार्किङ गर्ने व्यवस्था नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएपछि पार्किङ स्थलको अध्ययन सुरु गरिएको विर्तामोड नगरपालिकाले जनाएको छ ।
मुक्तिचोक आसपास दुईसय मिटर क्षेत्रफलमा पार्किङ ठेक्का लगाउन ट्राफिकले नगरपालिकामा प्रस्ताव पेस गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीले भन्नुभयो – ‘मुक्तिचोकलाई सुन्दर बनाउन यस्तो प्रस्ताव गरिएको हो ।’

ट्राफिक कार्यालयले मुक्तिचोक आसपासका क्षेत्रमा पार्किङ निषेध गरेको छ । तर, अहिले पार्किङ गर्ने ठाउँ नहुँदा सडक किनारमै सवारी रोकेर राख्नु पर्ने बाध्यता चालकलाई छ । बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न जनशक्ति अभावमा पनि ट्राफिक प्रहरीले काम गरिरहेको प्रमुख गिरीले बताउनुभयो । ट्राफिकले जिल्लामा सवारी व्यवस्थापन गर्ने अभियान नै चलाइरहेको उहाँको भनाइ छ ।
पार्किङ अभावमा हाललाई अस्थायी रुपमा राजमार्गसँग जोडिएका खाली जग्गामा सवारी व्यवस्थापन गर्ने काम अघि बढाइएको छ । ती स्थानमा व्यवस्थित रुपले सवारी पार्किङ गर्न नगरपालिका समक्ष प्रस्ताव पेस गरेको प्रमुख गिरीले बताउनुभयो । विर्तामोड क्षेत्रमा सवारी व्यवस्थापन अस्तव्यस्त भएपछि ट्राफिक प्रहरीले व्यवस्थापनका लागि प्रस्ताव गरेको विर्तामोड नगरपालिकाका प्रशासन फाँट प्रमुख मेघराज बाँस्तोलाले बताउनुभयो ।

‘पार्किङ स्थल कहाँ राख्ने भन्ने विषयमा अध्ययन भइरहेको छ,’ उहाँले भन्नुभयो – ‘यद्यपि टुङ्गो भने लागिसकेको छैन ।’ नगरपालिकाको अध्ययन टोलीले विर्तामोडको मुक्तिचोक, दक्षिण भद्रपुर रोड, उत्तरमा शनिश्चरे रोड, पूर्वमा पुरानो इलाम स्टेन्ड र पश्चिममा बस स्टेन्ड छेउको खाली जग्गामा पार्किङ स्थल बनाउन प्रस्ताव गरेको छ ।
‘नगरपालिका सवारी पार्किङ व्यवस्थापनमा गम्भीर छ,’ बाँस्तोलाले भन्नुभयो – ‘यो विषयमा सरोकारवाला निकायसँग छलफल गरी छिट्टै टुङ्गोमा पुग्छौँ ।’ पछिल्लो समय बढ्दो सिटी सफारीका कारण पनि विर्तामोडको ट्राफिक व्यवस्थापन गर्न समस्या भएको हो । विर्तामोड क्षेत्रमा मात्र दुई हजार सिटी सफारी सञ्चालित छन् । सरकारले सिटी सफारीलाई व्यवस्थापन गर्न चालक अनुमतिपत्र अनिवार्य गरेको छ ।
मेची यातायात कार्यालयले चाँडै चालक अनुमतिपत्र खुल्ला गर्ने भएको छ । सिटी सफारी चालकका लागि अनिवार्य अनुमतिपत्रको व्यवस्था गरेपछि मात्र सवारी व्यवस्थापनमा सहयोग पुग्ने ट्राफिक प्रहरी प्रमुख गिरीको भनाइ छ ।

Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर