Aamsanchar

१९ हजार कर्मचारीमाथि कारबाही सिफारिस

Author Image
बुधवार, पौष २०, २०७३

काठमाडौं,

karmachari

राष्ट्रिय सतर्कता केन्द्रले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने १९ हजार दुई सय १३ जना राष्ट्रसेवक कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको छ ।

आर्थिक वर्ष ०७२-७३ मा सम्पत्ति विवरण नबुझाउने निजामती, सेना, शिक्षक, प्रहरी तथा विभिन्न संस्थानका कर्मचारीलाई केन्द्रले आवश्यक कारबाहीका लागि अख्तियारसमक्ष सिफारिस गरेको हो । समयमै सम्पत्ति विवरण नबुझाएर उनीहरूले भ्रष्टाचार निवारण ऐन २०५९ लाई चुनौती दिएकाले कारबाहीका लागि अख्तियार पठाइएको केन्द्रका सहसचिव एवं प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए ।

विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक

केन्द्रका अनुसार सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक छन् । १० हजार दुई सय १५ शिक्षकले तोकिएको समयमा सम्पत्ति विवरण बुझाएका छैनन् । यस्तै, निजामती कर्मचारी चार हजार चार सय १६, सैनिक दुई हजार ६ सय १३, प्रहरी चार सय ९२ तथा संस्थानका विभिन्न कर्मचारी गरी एक हजार चार सय ७७ जना छन् ।

के छ ऐनमा ?

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार प्रत्येक सार्वजनिक पदधारण गरेको व्यक्तिले आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको सम्पत्तिको अद्यावधिक विवरण हरेक आव सकिएको ६० दिनभित्र अनिवार्य रूपमा बुझाउनुपर्छ ।

नबुझाएमा अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको आशंकामा छानबिन गर्न वा पाँच हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने कानुनी व्यवस्था छ ।

साढे नौ करोड राजस्व उठ्ने

अख्तियारले सम्पत्ति विवरण समयमा नबुझाउनेलाई प्रतिकर्मचारी पाँच हजारका दरले जरिवाना गरेमा नौ करोड ६० लाख ६५ हजार रुपैयाँ राजस्व उठ्नेछ ।

अख्तियारले विगतमा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाहीस्वरूप पाँच हजार रुपैयाँका दरले जरिवाना गर्दै आएको छ । केन्द्रका अनुसार पछिल्ला वर्षमा सम्पत्ति विवरण बुझाउने कर्मचारीको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको छ । आव ०७१-७२ मा सम्पत्ति विवरण नबुझाउने कर्मचारी ६ दशमलव ३३ प्रतिशत रहेकोमा आव ०७२÷७३ मा चार दशमलव ४१ प्रतिशतमा आइपुगेको छ । –

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर