हिन्दु धर्ममा उच्चारण गरिने हरेक मन्त्रको सुरुवात ‘ऊँ’ शब्दबाटै भएको हुन्छ। यो संस्कृत शब्द नसुन्ने सायद कोहि पनि छैन होला। मन्दिरमा पुजारी ब्राह्मणहरूले पुजा गर्दा चर्को स्वरले ‘ऊँ’ भनेपछि मात्रै अन्य काम सुरु गर्छन्। तर के तपाईँलाई यो शब्दको वास्तविक अर्थ थाहा छ? फेरि हिन्दु धर्मलगायत अन्य पूर्वेली धर्महरूमा पनि यो शब्दको विशेष महत्व रहेको छ, किन?
संस्कृत शब्द ‘ऊँ’, तीन अक्षरबाट बनेको हुन्छ- अ उ म ! यसको अर्थ हिन्दु धर्मको ‘माण्डूक्य उपनीषद’मा उल्लेख गरिएको छ। केवल १२ मन्त्र भएको सबैभन्दा छोटो उपनीषद- माण्डूक्य उपनीषदको रचना ई.पू.८०० सालमा ऋषिहरूले गरेको मानिन्छ।
- ‘अ’ अर्थात आदि, जसले ब्रह्मलाई बुझाउँदछ,
- ‘उ’ अर्थात उन्नती, जसले विष्णुलाई चिनाउँदछ र
- ‘म’ अर्थात मृत्यु, जसले महेश्वरलाई बुझाउँदछ।
‘ऊँ’ले आत्माको अभिव्यक्तिको चार अवस्थालाई जनाउँदछ, जसलाई ‘चतुष्पाद’ भनिन्छ- जाग्रत, स्वप्न, सुषुप्ति र तुरीय।
१. ‘जाग्रत‘ अवस्थाको आत्मालाई ‘वैश्वानर‘ भनिन्छ। यसलाई बिउँझिएको अवस्था भन्न सकिन्छ, जहाँ केवल बाह्य संसारको अनुभूती गर्न सकिन्छ।
२. ‘स्वप्न‘ अवस्थाको आत्मालाई ‘तेजस‘ भनिन्छ। यसलाई तन्द्रा अवस्था पनि भन्न सकिन्छ, जहाँ सपना अर्थात भौतिक संसारभन्दा भिन्नै दुनियाँको अनुभूती गर्न सकिन्छ, जहाँ मन प्रफुल्ल रहन्छ र शरीरभित्रै भोग गर्न थाल्छ।
३. ‘सुषुप्ति‘ अवस्थाको आत्मालाई ‘प्रज्ञ‘ भनिन्छ। यसलाई प्रगाढ निन्द्राको रूपमा लिन सकिन्छ, जहाँ आनन्दमय ज्ञानको स्वरूप प्राप्त गर्न सकिन्छ, जहाँ इच्छा-आकाङ्क्षा लोप हुन्छ र सर्वेश्वर, सर्वज्ञ तथा अन्तर्यामी ज्ञानको अनुभूती हुन्छ।
४. तथापी, उपर्युक्त तीन अवस्थाहरूभन्दा पर रहेको आत्माको चतुर्थ पाद अर्थात ‘तुरीय‘ अवस्था नै उसको सच्चा र अन्तिम स्वरूप हो, जसमा ऊ न जाग्रत हुन्छ, न स्वप्न हुन्छ, न t सुषुप्ति नै। त्यहाँ केवल शान्त अनि परमज्ञान हुन्छ र त्यसैलाई “ऊँ” भनिन्छ।