देवबहादुर कुँवर
[काठमाडौँ] ।
‘बन्दुक चलाउने हातले माटो छँुदैन’ सेवा निवृत्त सैनिक कर्मचारीमा केही वर्ष पहिलेसम्म यस्तै भ्रम थियो । अवकाशपछि उनीहरूको पहिलो रोजाइ वैदेशिक रोजगारीमा सुरक्षागार्ड नै हुन्थ्यो ।
पेन्सन भएसँगै धेरैजसो राजीनामा दिएर विदेश जाने गर्थे तर तीन वर्षयता भने उनीहरूको जीवनमा निकै परिवर्तन आएको छ । अवकाश तथा पेन्सनपछि राजीनामा दिएर विदेश जान चाहनेभन्दा स्वदेशमै स्वरोजगार गर्नेहरूको सङ्ख्या बढेको छ ।
नेपाली सेना कल्याणकारी बोर्डले नेपाल इन्भेस्टमेन्ट बैङ्कसँगको सहकार्यमा २०७० सालबाट लघुकर्जा कार्यक्रम सञ्चालनमा ल्याएपछि भूपू सैनिकको जीवन शैलीमा परिवर्तन आएको हो । ‘बन्दुक चलाउने हातले माटो छँुदैन’ भन्नेहरू नै माटोमा रमाउन थालेका छन् ।
सुर्खेत पातलगङ्गास्थित नेसनल फ्रेस हाउसका सञ्चालक जब्बर श्रेष्ठ भन्नुहुन्छ, “पहिला बङ्गुर भन्नेबित्तिकै घिन लाग्थ्यो तर अहिले जिल्लाका लागि नै बङ्गुरविज्ञ जस्तै भएको छु । ” करिब २० वर्ष हतियारसँग रमाएका श्रेष्ठ अहिले भने बङ्गुरसँग रमाइरहेका छन् ।
लघुकर्जा कार्यक्रम अन्तर्गत चार प्रतिशत ब्याजदरमा ऋण लिएर कृषि व्यवसाय अन्तर्गत तरकारी खेती, भँैसी, बाख्रा, कुखुरा, बङ्गुर र हाँसपालन, रेस्टुराँ, किराना पसल, ब्युटीपार्लर सञ्चालन र विभिन्न घरेलु उद्योग व्यवसाय सञ्चालन गर्ने पूर्व सैनिकको सङ्ख्या साढे १२ हजार पुगेको छ ।
बैङ्कले लघुकर्जा कार्यक्रम अन्तर्गत भूपू सैनिकको आयआर्जनका लागि सहुलियत ब्याजमा एक लाख (व्यक्तिगत)देखि एक करोड (सामूहिक) रुपियाँसम्म ऋण उपलब्ध गराएपछि विदेशमा रहेका भूपू सैनिक पनि स्वदेशै फर्केर कृषि तथा व्यापार व्यवसाय गर्न थालेको कल्याणकारी बोर्ड लघुकर्जा कार्यक्रमका समन्वयकर्ता पूर्वउपरथी धनीदास कार्कीले बताउनुभयो ।
मुलुकभर नेपाली सेनाबाट निवृत्त सैनिक कर्मचारीको सङ्ख्या करिब ६८ हजार र बहालवाला सैनिकको सङ्ख्या ९६ हजार छ । बहालवाला र पूर्व सैनिक कर्मचारीका परिवारको सङ्ख्या करिब आठ लाख रहेको सेनाले जनाएको छ । “इन्भेस्टमेन्ट बैङ्कसँगको सहकार्यमा लघुकर्जा कार्यक्रमले धेरैजसो पूर्व सैनिक कर्मचारीको सामाजिक तथा आर्थिक उत्थानमा परिवर्तन ल्याएको छ,” पूर्वउपरथी कार्कीले थप्नुभयो ।
“तपाईंहरूले देश र जनताको सेवा गर्नुभयो, अब सेनाले तपाईंहरूको सेवा गर्छ,” अभियान अन्तर्गत नेपाली सेनाले २०७० सालबाट नै भूपू सैनिक सम्मेलन आयोजना गरी कल्याणकारी बोर्डमार्फत पूर्व सैनिक कर्मचारीलाई लघुकर्जा कार्यक्रम अन्तर्गत सफल तथा असल कृषक, उद्योग व्यवसायी बनाउँदै आएको छ ।
विगतमा पेन्सनबाट आएको रकम पनि जुवा तास खेलेर र मदिरा खाएर सिध्याउनेहरू अहोरात्र कृषि उत्पादनमा सक्रिय छन् । चितवनको जगतपुरस्थित रामजाने बाख्रापालन, बाँकेको नौवस्तीस्थित राष्ट्रिय भूतपूर्व सैनिक कृषि सहकारी, सुर्खेत तोरीबारीस्थित शअज पशुपक्षी तथा कृषि फर्म र कञ्चनपुर सुडास्थित आधुनिक गाई फर्म यसका ज्वलन्त उदाहरण हुन् ।
अवकाशपछिको जीवन सार्थक बनाउन विदेश जानैपर्ने भूपू सैनिकको बाध्यतालाई लघुकर्जाले परिवर्तन गरेको दाबी सेनाको छ । सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले व्यवसाय गर्ने इच्छा भएका तर आर्थिक अभावमा परेका भूपू सैनिकका लागि लघुवित्त कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।
तरकारी खेती, मौरीपालन, दुग्धजन्य पदार्थको उत्पादन, बाख्रापालन, कुखुरापालन, रेस्टुराँ व्यवसाय, कपास उत्पादन र अन्य आयआर्जनमूलक व्यापार व्यवसायका लागि सेनाका पूर्व कर्मचारीले नै जिल्लातहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।
इन्भेस्टमेन्ट बैङ्कले पनि भूपू सैनिकलाई सफल उद्यमी बनाउन सहुलियत दरमा ऋण प्रवाह कार्यक्रमलाई प्रभावकारी बनाउन बैङ्कको शाखा विस्तारसँगै हाते बैङ्क (कार्ड रिडर मेसिन) प्रदान गरी सहज र सरल बनाउँदै आएको बैङ्कका लघुकर्जा कार्यक्रम प्रमुख अमन श्रेष्ठले बताउनुभयो ।
कल्याणकारी बोर्डका अनुसार लघुकर्जा कार्यक्रम अन्तर्गत तीन वर्षमा बहाल र सेवा निवृत्त गरी १६ हजारलाई दुई अर्ब ५१ करोड रुपियाँ लगानी भइसकेको छ । तीमध्ये १२ हजार ५६९ भूपू सैनिक र तीन हजार ४४४ जना बहालमा रहेका सैनिकका परिवार छन् । यो सङ्ख्या केही वर्षभित्रमा २५ हजार पु¥याउने र सो कार्यका लागि २५ अर्ब रुपियाँ बजेट छुट्याइएको जनाएको छ ।