झापा ।

६७ औं ‘डाक्टरर्स डे’को अवसर पारेर नेपाल चिकित्सक संघ मेचीले शुक्रबार चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने ९ जना चिकित्सकलाई सम्मान गरेको छ ।
सम्मानित मध्ये तीन जनालाई मरणोपरान्त सम्मान गरेको हो । बिर्तामोडमा आयोजित समारोहकाबीच डा. केवी प्रधान, डा. सहदेव थुलुङ र डा. एम सिन्हालाई मरणोपरान्त सम्मान गरिएको थियो ।
त्यस्तै डा. पिताम्बर शर्मा, डा. मुक्तिनाथ भट्टराई र डा. शंकरप्रसाद उप्रेतीलाई पनि चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको भन्दै सम्मान गरिएको छ ।
यसैगरी एचए आइतवारीलाल राजवंशी, मोहम्मद ताहिर हुसेन मिकरानी र हिराबहादुर श्रेष्ठ पनि सम्मानित हुनुभएको छ । सम्मानित नवौं जनालाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालत झापाका मुख्य न्यायाधीश सुदर्शन पाण्डेले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
नेपाल चिकित्सक संघ मेचीका अध्यक्ष डा. चन्द्रेश्वरप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा मरणोपरान्त सम्मानित डाक्टरको बारेमा डा. आनन्द खनालले परिचय गराउनुभएको थियो । मरणोपरान्त सम्मान पाउने डा. प्रधानको सम्मान पत्र छोरा डा. विक्रम प्रधानले ग्रहण गर्नुभएको थियो । डा. थुलुङका छोरा डा. सुरज थुलुङ र डा. सिन्हाका छोरा अनुराग सिन्हाले सम्मान पत्र ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइराला, नेपाल चिकित्सक संघ मेचीका पूर्व अध्यक्ष डा. पिताम्बर ठाकुर लगायतले सम्मानित सबैलाई बधाई ज्ञापन गर्नुभएको थियो ।



