Aamsanchar

बैशाख ६ः जुन दिन झापाका दुई सपुत ढले

Author Image
बुधवार, वैशाख ६, २०७४

आज वैशाख ६ गते । दुई झापाली सपुतले सहादत प्राप्त गरेको दिन । झापाली जनताका लागि ऐतिहासिक दिन अनि ठूलो उपलब्धीको दिन । हुन त शहीद राजन गिरी र सुरज विश्वासका सपना अहिलेसम्म पुरा हुन सकेको छैन । यसले कता–कता दुःखित बनाउनु स्वभाविकै हो । तर, बहादुर छोराको बलिदानीलाई सच्चा र देशभक्त नागरिकले उच्च सम्मानका साथ प्रशंसा गर्न कञ्जुस्याई गर्नु हुँदैन ।
२०६३ साल वैशाख ६ गते झापाको सदरमुकाम चन्द्रगढी घेराउ गर्न हजारौं जनता हिँडेर सदरमुकाम पुगेका थिए । त्यो जनलहर आज पनि सम्झँदा नेपाली जनता कतिसम्म आक्रान्त अवस्थामा रहेका रहेछन् राजतन्त्रबाट भन्ने प्रष्ट रुपमा देख्न सकिन्थ्यो । यो जनताको उत्साहलाई सबै नेपालीले सम्मान गर्नैपर्छ । तर, त्यस बेला क्रुररुपमा शासन सत्ता सम्हालेका राजा ज्ञानेन्द्र र उनका समर्थकहरुले दबाउन अनेक उपाय नरचेका होइनन् । तर आँधीबेहरी सरी अगाडि बढेका जनतालाई रोक्न सक्ने क्षमता थिएन ति प्रशासक सामु ।
बुलेटभन्दा ब्यालेट सयौं गुणा तागतिलो हुन्छ भन्न्ने उदाहरण जनताले जनआन्दोलनमार्फत दिइरहेका थिए । शायद यो अवस्थालाई देख्न नसकेर आत्तिएका उनीहरु गोली चलाउन बाध्य भएका थिए । झापा सदरमुकाम चन्द्रगढीलाई निषेधित क्षेत्र घोषणा गरेर जनतालाई तर्साउन खोजेका तत्कालीन शासकहरु आत्तिएका थिए । तर जनताले उक्त घेराबन्दीलाई तोडेर शान्तिपूर्ण रुपमा आन्दोलनलाई अगाडि बढाइरहेका थिए ।
त्यसैको परिणामस्वरुप जनताको आन्दोलनलाई देख्न नसकेर तत्कालीन गृहमन्त्री कमल थापाको निर्देशनमा तत्कालीन शाही नेपाली सेनाले निर्दोष जनतामाथि बर्बर दमन गर्न शुरु गर्यो ।
बैशाखको त्यो नयाँ दिन, नयाँ सोच अनि नयाँ उमङ्गका साथ धेरै उद्देश्यलाई आत्मसाथ गरेर पुरा गर्ने हेतुका साथ सपना सजाएका शहीदहरुको सपनामाथि ति बर्बरदमन गरेर कायरताहरुले कालो बादल लगाइ दिएका थिए । ति लक्का जवानका छोरा गुमाउँदा कसको मन थामिन्छ र आज पनि ति छोरा भाइ, साथी, सम्झँदा शायद कसको आँखा रसाउँदैन् र । शायद शहीदका सपना पूरा भएको खण्डमा ती वीर शहीदप्रति सच्चा सम्मान त हुने नै थियो । तर आफ्नालाई मात्र राम्रो ठाउँमा पुर्याउने अनि सत्तामा टिकीरहने मनसाय बनाएका दलका नेताहरुले देश र जनताको इच्छा अहिले पनि बुझ्न सकेका छैनन् ।
सडकमा भएका बेला शहीदका कुरा गर्छन, अंगभंग भएका घाइतेको विषयमा चर्का नाराबाजी गर्ने नेताहरु सत्तामा पुगेपछि चट्कै भुल्छन् । के यस्तो पाराले शहीदको सपना पूरा हुन्छ त यहाँ एउटा गम्भीर प्रश्न उठ्न सक्छ । यो प्रश्नको जवाफ अहिलेका कुनै पनि नेतासँग छैन भन्दा अचम्म मानु पर्दैन सत्य यही हो । शहीदलाई रुपैयाँ र पैसासँग दाँजेर शहीदका सपना पुरा हुन्छ भन्नु मुर्खता मात्र हो । यहाँ शहीद शब्दकै अपमान भएको छ । सवारी दुर्घटनमा मुत्यु हुने शहीद, झगडामा मर्ने पनि शहीद अनि देश र जनताको सच्चा मुद्दा उठाएर जीवन उत्सर्ग गर्ने वीर शहीद को हो भन्ने अन्यौल र्सिजना भएको छ ।
शहीदको सपना पूरा गर्न एकजुट भएर समयमै संविधान गर्न सबै दलका नेता एक ठाउँमा उभिन आवश्यक छ । नत्र शहीदका रगतले तिमीहरुलाई धिक्कारी रहने छन् । त्यसैले जनआन्दोलनको भावनालाई बुझ्ने चेष्टा गर्ने हो कि । नेपाली जनताले २०४६ सालको ऐतिहासिक जनआन्दोलन, २०६२÷६३ को जनआन्दोलन नेपाली इतिहासमा निम्ति महत्वपूर्ण समय मान्न सकिन्छ तर फेरि पनि आन्दोलन गर्ने वातावरणको अन्त्य गर्नतर्फ राजनीतिक दलका नेताहरु गम्भीर बन्न आवश्यक छ ।
१९ दिनसम्म चलेको जनआन्दोलनले १० वर्षसम्म युद्धमा उत्रिएको तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन सफल भयो वर्षौंदेखि नेपाली जनतामा शासन जमाउँदै आएको निरङ्कुश राजतन्त्र पनि ढल्न पुग्यो । यो जनआन्दोलनको ऐतिहासिक उपलब्धी हो । यसलाई कसैले भुल्न हँुदैन ।
२०४६ सालसम्म निरङ्कुश शासक रहेका पञ्चायती राजाहरुसँग आफ्नो अधिकार लिन सफल भएका जनता फेरी पनि आन्दोलन गर्न बाध्य भए २०६२÷६३ मा अब भने जनताको जनमतलाई स्वीकार गरेर जनताको चहाना अनुरुप संविधान बनाउनतर्फ क्रियाशील हुन आवश्यक छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते शाही घोषणामार्फत मुलुकको शासन सत्ता आफ्नो हातमा लिएपछि २०६२ सालमा सात दलले चैत २६ गतेदेखि निर्णायक आन्दोलन शुरुवात गरेका थिए । उक्त आन्दोलन उत्सर्गमा पुग्ने क्रममा पूर्वी नेपालको झापाका दुई सपुत गुमायो वैशाख ६ गते झापाले । हुनतः आज विभिन्न कार्यक्रम गरेर शहीदका विषयमा चर्चा परिचर्चा भइरहेको छ तर यसले मात्र शहीदको सपना साकार हुँदैन भन्नेतर्फ सबैको ध्यान जान आवश्यक रहेको छ ।
शहीद राजन र सुरज नेपालका उज्ज्वल नक्षत्र बनेर रहेका छन् । उनीहरुको सपना पूरा गर्न सबैले एक जुट भएर पहल गर्न आवश्यक छ । शहीद कुनै पार्टीको हुँदैन केबल उनीहरु देशका सपुत हुन् भन्ने हेक्का राखेर शहीदको सपना साकार गर्नेतर्फ लाग्नतर्फ वैशाख ६ गतेको झापा आन्दोलनले दिएको सन्देशलाई कसैले भुल्नु हुँदैन । अनि शहीद शब्दलाई अपब्याख्या गरेर जनताको मर्म र भावनामाथि ठेस पुर्याउने काम पनि बन्द गर्नुपर्छ सलाम छ वीर शहीद राजन र सुरजलाई पुनः एकपटक ।

जब राजनलाई गोली लाग्यो…

राजन गिरी जनआन्दोलन–२मा शहादत प्राप्त गर्ने शहीद हुन् । २०६३ वैशाख ६ गते प्रदर्शन शुरु भएको एक घण्टा नबित्दै प्रहरीको लाठीचार्जबाट राजन घाइते भए । छिमेकी पुष्प घलेका अनुसार खुट्टामा चोट लागेका राजन हल्का उपचारपछि फेरि जुलुसको अग्रभागमा आइपुगे ।
निरंकुशताविरुद्ध गगनभेदी नारा लगाउँदै अघि बढेको मानवसागरले मध्यान्हसम्म चन्द्रगढी घेरिसकेको थियो । त्यही क्रममा जिविस भवन अगाडिको ट्रेड युनियन चोकमा दिउँसो सवा एक बजेतिर केदारले छोरा राजनलाई भेटे ।
चर्को घाममा आफ्नो बुवालाई जुलुसमा हिँडिरहेको देखेर राजनले भने– ‘बुवा, घाम छ, शितलमा बस्नू ।’
त्यो बाबुछोराको अन्तिम भेट थियो । ‘ट्रेड युनियन चोकमा ठ्याक्कै भेट भो’– घैलाडुब्बामा काँग्रेसको गाउँ सभापति रहेका केदारले छोरासँगको अन्तिम भेट सम्झँदै भने– ‘उसले शितलमा बस्नू भनेको म कहिल्यै भुल्दिनँ ।’
घर फिर्ने बेला पनि उनले छोरालाई केहीबेर खोजेका थिए, सँगै फर्कौं भनेर । ‘भेट भएन, साथीहरूसँग आउला भनेर म हिँडे’– उनले भने– ‘ऊ कहिल्यै नफर्किने गरी गइसकेको रहेछ ।’ सदरमुकाम घेर्ने त्यसदिनको कार्यक्रम ११ बजे शुरु हुने भनिएको थियो । तर, १० बज्दाबज्दै लाखको हाराहारीमा भेला भएका सर्वसाधारणले घडीको सुई कुरेनन् । दलहरूले तय गरेको ‘रुट’ बाहिरबाट पनि प्रदर्शन थालिहाले ।
तीन घण्टाजति बितेपछि एउटा युवा समूह सैन्य घेरा तोडेर प्रशासन कार्यालय जान खोज्दै थियो । त्यतिबेलै फौजले जुलुसतिर ताकी–ताकी गोली चलायो । त्यसैमा राजन गिरी र सुरज विश्वासको ज्यान गयो । चार सयभन्दा बढी आन्दोलनकारी घाइते भए ।
त्यसबेला आन्दोलनकारीले गोली चलाएपछि आत्मरक्षाका लागि फौजले जवाफी फायरिङ गरेको सरकारी दाबी आएको थियो । घाइतेको उद्धारका लागि घटनास्थलमा खटिएको रेडक्रस टोलीले भने सेनाले दुईतिरैबाट गोली चलाएको बताएको थियो । ‘हामीले देखि–देखि सादा पोशाकका सुरक्षाकर्मीले घुसेर गोली चलाएका हुन्’– त्यतिबेला उद्धार टोलीको नेतृत्व गरेका झापा रेडक्रसका सभापति लोकराज ढकालले भने– ‘त्यहीँ राजन र सुरज गोली लागेर ढलेका थिए ।’
उनका अनुसार टे«ड युनियन चोकदेखि केही पूर्व जिल्ला प्रहरी कार्यालय अगाडि राजनलाई गोली लागेको थियो । ‘त्यहाँ उनी ढलेका थिए’– ढकालले भने– ‘एम्बुलेन्समा राखेर अस्पताल लैजाँदै गर्दा मेरो काखैमा उनको प्राण गयो ।’ मृतक राजन गिरी हुन् भन्ने आफूलाई पछि मात्रै थाह भएको ढकालले बताए ।
घैलाडुब्बा–९का राजन त्यसबेला राजधानीबाट भर्खरै घर आएका थिए । पाटन कलेजमा ११ पढेर झापाकै कन्काई कलेजमा १२ पढ्ने उनको योजना थियो । एक बहिनी र भाइ भएका राजन नेविसंघमा सक्रिय थिए ।
आमा मीराका अनुसार ‘काठमाडौंमा बस्न अप्ठ्यारो भएको’ भन्दै उनी फर्केका थिए । घरैछेउमा नेविसंघले बनाउँदै गरेको छोराको शालिक स्थल पुग्दा आमा सँधैं भक्कानिने गर्छिन् । गिरी परिवारले छोराको सम्झनामा विद्यालयमा अक्षयकोष समेत खडा गरेको छ ।

रंंगशाला छेऊमा ढले सुरज
सुरज विश्वास जनआन्दोलन–२मा शहादत प्राप्त गर्ने शहीद हुन् । ‘पढेर के गर्नु, जागीर पाइने होइन’ परिवारले पढ्न कर गर्दा चञ्चल र घुमन्ते स्वाभावका सुरजको सँधै एउटै जवाफ हुन्थ्यो– ‘सोर्सफोर्स चल्दैन, गरीबलाई कसले चिन्छ र जागीर खानु ?’ यस्तो लघुताभाषले सताएर ६ कक्षा पढ्दा–पढ्दै स्कूल छाडेका थिए सुरजले । उनी भद्रपुर–९ चन्द्रगढीका स्थायी बासिन्दा थिए ।
२०६३ वैशाख ६ गते सरकारी फौजको गोली लागेर उनी शहीद भएका हुन् । त्यस दिन सदरमुकाम चन्द्रगढीमा भेला भएका आन्दोलनकारी चारैतिर फैलिएर नाराबाजी गरिरहेका थिए । सरकारी कार्यालयभित्र छिर्न नदिन जिविसद्वारमा काँडेतार बारिएको थियो । सुरक्षाकर्मी तैनाथ थिए । आन्दोलनकारीहरू भने जसरी भए पनिभित्र पस्न ठेल्मठेल गरिरहेका थिए ।
भीड थाम्न नसकेपछि सरकारी फौजले अश्रुग्यास हान्न थाल्यो । त्यसबेला सुरज पाइपबाट पानी छ्यापेर त्यसको प्रभाव कम गर्न तल्लीन थिए ।
लगातार ठेल्मठेलपछि दिउँसो २ बजेतिर जिविसको मूलगेटमा दलहरूको झण्डा गाड्न आन्दोलनकारी सफल भए । लगत्तै सेनाको टोलीले माइकिङ ग¥यो– ‘अब पनि पछि नहटे सोझै गोली चलाइनेछ ।’
युवाहरूले त्यसको परवाह गरेनन् । त्यतिखेरसम्म सुरज पानी छ्याप्न छाडेर जुलुसमा मिसिइसकेका थिए । सवा दुई बजेतिर सेनाले एक्कासी गोली चलायो । सबै तितरबितर भए । धेरै जिविसभन्दा पूर्व पर्ने रंगशालातिर दौडिए । सुरज पनि त्यतै कुदे । रंगशालाछेउ पुगेका मात्र थिए, उनी भुक्लुक्कै भुइँमा ढले । सेनाले चलाएको गोली उनको टाउकोमै लागेछ ।
घाइतेको उद्धारमा खटिएको झापा रेडक्रस टोलीका अनुसार त्यतिबेलै गोली लागेका राजन गिरीलाई घटनास्थलदेखि अढाई किलोमिटर दक्षिणको मेची अञ्चल अस्पताल पु¥याएर फर्कंदा सुरजको प्राण गइसकेको थियो ।
प्रत्यक्षदर्शीका अनुसार उनको दायाँ कान छेउबाट गोलीले छेडेको थियो र टाउको क्षतविक्षत थियो ।

Views: 199

प्रतिक्रिया (०)