Aamsanchar

एक बुथ, १०० युथः वाईसीएल

Author Image
शनिवार, वैशाख ९, २०७४

बिर्तामोड ।

सत्तासीन नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी व्यापक युवा परिचालनको तयारी गरेको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहीवार बिर्तामोडको सभामा सम्बोधन गर्दै गाउँ–गाउँमा परिचालित हुन निर्देशन गरे लगत्तै वाईसीएल झापाले ‘एक बुथ, १०० युथ’ परिचालन गर्ने निर्णय गरेको हो । वाईसीएल झापाले शुक्रवार बिर्तामोडमा गरेको पत्रकार भेटघाटमा वाईसीएल अध्यक्ष कर्म पुलामी मगरले ‘गाउँ–गाउँमा सरकार, घर–घरमा रोजगार’ नारालाई स्थानीय तहको निर्वाचनमा स्थापित गराई पार्टीलाई विजयी गराउन युवा परिचालन गर्न लागिएको बताए । ‘युवा परिचालन चुनावलाई सहयोग पुग्ने गरी सकारात्मक रुपमा गरिनेछ’– पुलामीले प्रष्ट्याए । तर, तोकिएकै समयमा निर्वाचन नभए आन्दोलन गर्ने घोषणा पनि वाईसीएलले गरेको छ । पुलामीले भने– ‘हामी समयमै चुनाव चाहन्छौं ।’ वाईसीएलको युवा परिचालनको निर्णयले चुनावमा कतै अप्रिय घटना पो हुने हो कि ! भन्ने आशंका पनि उब्जिएको छ । त्यसबारेमा वाईसीएल झापाले ‘त्यस्तो हुन नदिने’ दावी गरेको छ ।
त्यस्तै अखिल क्रान्तिकारीले समेत विद्यार्थीलाई व्यापक रुपमा परिचालन गर्ने तयारी गरेको छ । अखिल क्रान्तिकारीका विभिन्न पदमा रहेका कार्यकर्तालाई झापाको १५ वटै स्थानीय तहमा संयोजक र सहसंयोजकको जिम्मेवारी समेत दिइएको छ । जस अन्तर्गत दमक नगरपालिकामा आशिष दाहाल, कमल गाउँपालिकामा आनन्द कार्की र रोदन चापागाँई, गौरादहमा युवराज आचार्य र आरजु सुन्दास, शिवसताक्षीमा मनोज आचार्य, गौरीगञ्जमा देवराज गिरी र निशान डाँगीलाई विद्यार्थी परिचालनको जिम्मेवारी दिइएको छ ।
त्यस्तै कनकाईमा उत्सव वास्तोला र सन्ध्या निरौला, झापा गाउँपालिकामा समिन बस्नेत, बिर्तामोडमा रञ्जन धमला र हिरा अधिकारी, अर्जुनधारामा पदम खड्का र दिपीका नेपाल, बाह्रदशीमा प्रकाश मिश्र, भद्रपुरमा प्रफुल्ल खतिवडा र सत्यम् चौधरी, हल्दिवारीमा सरस्वती चम्लागाई र सुरज मेचे, केचनाकवलमा भक्त विक, बुद्ध शान्तिमा नवीन सापकोटा र मेचीनगरमा सन्दीप प्रसाईंलाई जिम्मेवारी दिएको बताइएको छ ।

Views: 129

प्रतिक्रिया (०)