काठमाडौं :

सत्तारुढ दल र आन्दोलनरत मधेसी मोर्चाबीच स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ कांग्रेस, माओवादी, राप्रपा र मोर्चामा आवद्ध राष्ट्रिय जनता दल र संघीय समाजवादी फोरमका शिर्ष नेताहरुको बैठकले सरकारले वैशाख ३१ गते घोषणा गरेको चुनाव दुई चरणमा गर्ने सहमति गरेको हो।

सत्तारुढ दल र मोर्चाबीच संविधान संशोधन विधेयकलाई परिमार्जनसहित पारित गर्ने सहमति भएको छ। मोर्चासँगको सहमतिपछि सरकारले आइतबार नै परिमार्जन गरी विधेयक पेश गरेर प्रक्रिया अघि बढाउने भएको छ। सरकारले परिमार्जित विधेयकलाई अघि बढाउने प्रक्रिया शनिबारदेखि नै अघि बढाएको जनाएको छ।
पहिलो चरणका चुनाव वैशाख ३१ गते नै गर्ने र दोस्रो चरणको चुनाव निर्वाचन आयोगसँग परामर्श गरेर जेठ तेस्रो सातालाई तोक्ने सहमति भएको छ।

सद्भावना पार्टीका अध्यक्ष अनिल झाका अनुसार प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा निर्वाचन हुनेछ। प्रदेश नम्बर ३, ४ र ६ मा भने वैशाख ३१ गते नै निर्वाचन गर्ने सहमति भएको छ। दोस्रो चरणको निर्वाचनको मिति निर्वाचन आयोगसँगको परामर्शमा तय गरिने समझदारी भएको पनि उहाँले बताउनुभयो। मधेशमा स्थानीय तहको संख्या बढाउने समझदारी पनि भएको छ।
‘संविधान संशोधन प्रस्ताव पारित भएमा हामी निर्वाचनमा सहभागी हुनेछौँ,’ झाले भन्नुभयो। संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन र बैठकमा भएको समझदारी अनुसार मन्त्रिपरिषदले निर्णय गरेपछि आन्दोलनकारीले आन्दोलनका कार्यक्रम फिर्ता लिने समझदारी भएको झाले बताउनुभयो।
आन्दोलनरत मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागी गराउने गरी भएको सहमतिलाई सरकारले ठूलो सफलताको रुपमा लिएको छ। संविधान संशोधनप्रस्ताव परिमार्जनसहित अगाडि बढाउने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।-अन्नपूर्णबाट

