Aamsanchar

इटहरीमा झडप, पाँच प्रहरी घाइते

Author Image
मङ्गलवार, वैशाख १२, २०७४

इटहरी :

निर्वाचनको विरोध गरिरहेको संघीय गठबन्धन तथा संयुक्त लिम्बुवान मोर्चाका कार्यकर्ता र प्रहरीबीच मंगलबार सुनसरीको इटहरीमा झडप भएको छ।

झडपमा पाँचजना प्रहरी घाइते भएका छन्। इटहरीमा र्‍याली तथा विरोध सभा गर्ने क्रममा आफ्नो र्‍यालीमाथि ढुंगाप्रहार भएपछि झडप भएको गठबन्धनका केन्द्रीय सदस्य लोकसागर साँवाले बताए।

झडपका क्रममा प्रहरीले आधा दर्जन अश्रुग्यास समेत प्रहार गरेको थियो। आक्रमणकारीले थोरै संख्यामा जुलुसको सुरक्षाका लागि हिडेका प्रहरीलाई छेकेर प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

अश्रुग्यास प्रहार नभएको भएभीडले आफूहरुको ज्यान लिने घाइते प्रहरी सुरेन्द्र अधिकारीले बताए। आन्दोलनकारीको लाठी तथा इँटाप्रहारबाट घाइते हुने अन्य प्रहरीहरुमा भुपाल विष्ट, हरि सुवेदी, पुन्यप्रसाद अधिकारी र वीरेन्द्र नेम्वाङ छन्। नेम्वाङको टाउकोमा चोट लागेको छ।

आन्दोलनकारीले केही पसलमा समेत तोडफोड गरेका छन् भने केही गाडीहरुमा समेत क्षती पुर्‍याएका छन्। झडपपछि इटहरी चोकमा कोणसभा गर्न खोजेको गठबन्धन प्रहरी हस्तक्षेपपछि सभा गर्न असफल भएको छ। प्रहरीले आन्दोलनकारीले प्रयोग गरेको भाटा तथा लठ्ठीसहितको विद्युतीय रिक्सा नियन्त्रणमा लिएको छ।अन्नपूर्णबाट

Views: 71

प्रतिक्रिया (०)