काठमाडौं,
नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएपनि पाठ्यपुस्तक छपाईको काम सकिएको छैन । जनक शिक्षा सामग्री केन्द्रले चुनावका लागि मतपत्र छपाईको कामले पाठ्यपुस्तक छपाईलाई प्रभावित पारेको बताएको छ । ५७ लाख विद्यार्थीका लागि चाहिने ३ करोड ५० लाख बढी पुस्तकमध्ये केन्द्रले २ करोड ५० लाख पुस्तक छापिसकेको छ । तर केन्द्रले ५८ लाख पुस्तक छाप्न बाँकी छ । अन्य पुस्तक छाप्ने जिम्मा निजी पुस्तक व्यवसायीलाई दिइएको छ ।
केन्द्रका प्रवक्ता कपिल पोखरेलले चुनावमा वैकल्पिक उपाय लगाएर पुस्तक छपाउने काम प्रभावकारी हुन नसक्दा समयमै पुस्तक छाप्न नसकिएको बताउनुभयो ।

‘हामीले चुनावका बेला वैकल्पिक उपाय लगाएर पुस्तक छाप्ने भनेका थियौँ’ पोखरेलले भन्नुभयो ‘तर वैकल्पिक उपायले काम नगर्दा पुस्तक छपाईमा ढिलाई भएको हो ।’ उहाँले भन्नुभयो ‘साझा प्रकाशनले ३० लाख थान पुस्तक छाप्छु भनेर जिम्मेवारी लियो । तर एक महिनामा एक लाख पुस्तक छापेर मात्रै दिएपछि हाम्रो वैकल्पिक उपायले फेल खाएको हो ।’
साझाको बेइमानी की केन्द्रकै कमजोरी ?

शिक्षा विभाग श्रोतका अनुसार यसवर्ष साझा प्रकाशनले पूर्व जिम्मेवारी अनुरुप आफूले पुस्तक छपाई गर्न पाउनुपर्ने माग गरेपछि ३० लाख पुस्तक छपाई गर्न दिइएको थियो ।
वर्षौदेखि आन्तरिक व्यवस्थापनको कमजोरीले झण्डै ‘डुब्न’ लागेको साझाले नयाँ सञ्चालक समितिको अग्रसरतामा सरकारको पहलबाट उकासियो । तर मेसिन अभावले समस्याग्रस्त भएको साझाले प्रतिवद्धता बमोजिम काम गर्न भने सकेन । यसअघि साझाले एक कक्षादेखि पाँच कक्षासम्मका पुस्तक छाप्ने र वितरण गर्ने काम गर्ने गरेको थियो । आन्तरिक व्यवस्थापनले साझा प्रकाशन सञ्चालनमा कठिनाई भएपछि त्यो जिम्मेवारी निजी पुस्तक व्यवसायीलाई दिइएको थियो ।

‘शिक्षा मन्त्रालयको दबाबले साझालाई पुस्तक छपाईका काम त दिइयो । तर साझाले हामीलाई ढाँट्यो । एक महिनासम्म पनि भनेअनुसारको किताब छाप्न नसकेपछि बाध्य भएर सहमति रद्द गर्यौं’ श्रोतले भन्यो ।
श्रोतका अनुसार ३० लाख थान पाठ्यपुस्तकमध्ये एक महिनामा १ लाख थान मात्रै किताब छापेर बाँकी २९ लाख थान पुस्तक छाप्न नसकिने जवाफ दियो । जसले गर्दा समयमै पुस्तक छाप्ने जनक शिक्षाको योजना प्रभावित भयो ।
गएका वर्षहरुमा पनि कुनै न कुनै बाहना बनाएर समयमा पुस्तक छाप्न असक्षम साबित हुँदै आएको जनक शिक्षाले यसपटक साझा र स्थानीय चुनावलाई कारण देखाएको छ । तर यो उसको पुरानै रोग भएको शिक्षा विभाग श्रोतको ठहर छ ।
गएको वर्ष साझाले भूकम्प र नाकाबन्दीलाई कारण देखाएको थियो भने त्यसअघिका बर्षमा बजेट नपाएको बताउने गरेको थियो । तर साझा आन्तरिक व्यवस्थापनकै कारण अस्तव्यस्त भएको श्रोतको दाबी छ ।
वैशाख २१ गतेसम्म पुस्तक छापिसक्ने, ३१ गतेसम्म पुर्याइसक्ने
केन्द्रले यही वैशाख २१ गतेसम्म सबै पुस्तक छपाईको काम सकेर ढुवानी सुरु गर्ने बताएको छ । ५८ लाख थान पुस्तकमध्ये झण्डै ३० लाख थान पुस्तक अबको चार पाचँ दिनमै सकिने केन्द्रका प्रवक्ता पोखरेलको भनाई छ ।
‘पुस्तक बाइन्डिङको काम भइरहेको छ । अन्तिम चरणमा पुगेका छन । अबको चार पाँच दिनमै ३० लाख थान पुस्तक छपाई सकिन्छ’ पोखरेलले भन्नुभयो ।
निजी पुस्तक व्यवसायीले पनि रफ्तारमा काम गरिरहेकाले जनक शिक्षाले वैशाख २१ गतेसम्म सबै छपाईको काम सक्ने दाबी गरेको छ ।
बाँकी १० दिनमा सबै विद्यार्थीका हातमा पुस्तक पुग्ने पनि केन्द्रको भनाई छ । तर त्यो शतप्रतिशत पूरा हुन्छ भन्ने आशंका कायमै छ । किनकी जनक शिक्षाले यसअघि कर्णाली अञ्चल लगायतका जिल्लामा शैक्षिक सत्र सकिन लाग्दा पनि पूरा सेट पुस्तक पुर्याउन नसकेको अभिभावक र विद्यार्थीको गुनासो छ ।
फितलो आन्तरिक व्यवस्थापन, चुस्त बन्दै
यसअघि अनिल झाले चार बर्ष नेतृत्व दिएको जनक शिक्षाको जिम्मेवारी अहिले महेश तिमिल्सेनाले व्यवस्थापनको सम्हाल्नु भएको छ । चैतमा झाको कार्यकाल सकिएपछि तिमिल्सेना जनक शिक्षाको बोर्डको अध्यक्ष तथा महाप्रवबन्धकको जिम्मेवारीमा आउनु भएको हो ।
उहाँ आएलगत्तै साझाले दुईवटा मेसिन खरिद प्रक्रिया अगाडि बढेको छ । प्रवक्ता पोखरेलका अनुसार केही दिनमै टेन्डर आह्वान गर्ने र तीन महिनाभित्र मेसिन किन्ने जनक शिक्षाको योजना छ ।
‘व्यवस्थापनमा नयाँ नेतृत्व आएलगत्तै केही सुधारका राम्रा संकेत मिलेका छन् । तर तोकिएको जिम्मेवारी पूरा नगरुञ्जेल सबै सुध्रियो भन्ने अवस्था छैन’ उहाँले भन्नुभयो ।
गएका वर्षहरुमा समयमै पुस्तक छाप्न र विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्याउन असफल भएको केन्द्रले यसपटक पनि त्यही नियति दोहोरिएको छ । तर उसलाई नै जिम्मेवारी दिने शिक्षा मन्त्रालय र विभाग भने यसबारेमा मौन छ ।
शिक्षा विभागका सूचना अधिकारी टुकराज अधिकारी आफूहरु काम छिटो सम्पन्न गर्न ताकेता गरिरहेको र जनक शिक्षाले दिएको समय कुर्नुको विकल्प नभएको बताउनुहुन्छ ।
‘हामीले जिम्मेवारी दिइसकेपछि पूरा भए नभएको बारे अनुगमन गर्ने र वास्तविक जानकारी बाहिर ल्याउने हाम्रो काम हो । जनक शिक्षाले बैशाख मसान्तसम्म पुस्तक पुर्याउँछु भनेर नयाँ प्रतिवद्धता गरेको छ । आशा छ, वैशाख मशान्तसम्ममा सबै विद्यार्थीले पुस्तक पाउनेछन’ उहाँले भन्नुभयो ।-विष्णु विश्वकर्मा/उज्यालो ।

