Aamsanchar

पूर्वमा जघन्य अपराध घट्यो

Author Image
आइतवार, वैशाख १७, २०७४

बिर्तामोड।

पछिल्लो समय पूर्वमा जघन्य अपराधको घटनामा कमी आएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका अनुसार पछिल्लो तीन वर्षको अवधिमा ठूला अपराधका घटनामा कमी आएको हो । झापासहित पूर्वका १६ जिल्लामा अपहरणका घटनामा कमी आएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।
पूर्वका झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, सुनसरी, उदयपुर, तेह्रथुम, भोजपुर, संखुवासभा, सप्तरी, सिरहा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुमा विगत तीन वर्षको अवधिमा जघन्य अपराधका घटनामा कमी आएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७१÷०७२मा २२ वटा अपहरणका घटनामा भएको र उक्त घटनामा संलग्न ३९ जना पुरुष र ७ महिला पक्राउ परेका छन् । आर्थिक वर्ष २०७२÷७३ मा १८ वटा अपहरणका घटना भएको र सो कार्यमा संलग्न २७ पुरुष पक्राउ परेका छन् । त्यस्तै वि.सं.२०७३÷०७४ को चैत मसान्तसम्ममा ८ वटा अपहरणका घटना भएको र उक्त कार्यमा संलग्न १५ पुरुष पक्राउ परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
अपहरणको घटनामा कमी आए पनि कर्तव्य ज्यान मुद्दामा भने सोचे जस्तो कमी आउन नसकेको प्रहरी निरीक्षक निरौलाले बताए । उनका अनुसार आर्थिक वर्ष २०७१÷०७२मा १५३ जनाको हत्या भएको थियो भने सो घटनामा संलग्न १७२ पुरुष र ४० जना महिला पक्राउ परेका थिए । त्यस्तै आर्थिक वर्ष २०७२÷७३ मा १३१ जनाको हत्या भएको तथ्याङ्कमा उल्लेख छ । उक्त घटनामा १२८ पुरुष र २७ महिला तथा आर्थिक वर्ष २०७३÷०७४ को चैत मसान्त सम्ममा ११४ जनाको हत्या भएको र सो घटनामा १६८ पुरुष र २८ महिला पक्राउ परेको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरुलाई कर्तब्य ज्यान मुद्दा अन्तर्गत मुद्दा दायर गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यस्तै खुनडाका अपराध अन्तर्गत आर्थिक वर्ष २०७१÷०७२ मा एउटा मात्र अपराध भएको र त्यसपछि चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा कुनै पनि अपराध नभएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । पूर्वका १६ जिल्लामा तीन वर्षको अवधिमा हातहतियार खरखजानाका अपराधमा पनि कमी आएको छ । आर्थिक वर्ष २०७१÷०७२मा ६७, आर्थिक वर्ष २०७२÷०७३मा ७५, आर्थिक वर्ष २०७३÷०७४ को चैत मसान्तसम्ममा ४८ वटा अवैध हतियार फेला परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार लागूऔषध, वन्यजन्तु चोरी सिकारी तथा तिनका अंगप्रत्यंगको व्यापार, अवैध उत्खनन् तथा बेचबिखन, राज्यबिरुद्धको अपराध, गर्भपतन, बम विष्फोटन, संगठित अपराध लगायतका जघन्य अपराधमा कमी आएको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेशकुमार भट्टराईले बताए
प्रहरीले योजनाबद्ध रुपमा आफ्नो कर्तव्य निर्वाह गरेको तथा शान्ति सुरक्षा कायम गर्न बेलैमा ध्यान दिएकाले जघन्य अपराधका अघटनामा कमी आएको प्रहरी प्रवक्ता निरौलाले बताए । उनले अपराध गर्नेलाई नछाड्ने तथा विगतमा अपराध गरेर फरार रहेकाहरुलाई धमाधम पक्राउ गर्दै अदालतमा हाजिर गराउने कामलाई पनि अगाडि बढाएपछि अपराध गर्नु हुन्न भन्ने चेतना मानिसमा बढेकाले जघन्य अपराधका घटनामा कमी आएको डीआईजी भट्टराईले बताए ।
पूर्वका हरेका क्षेत्रमा प्रहरीले नागरिकसँग सहकार्य गरेर सबै तिर आफूहरुको उपस्थिति बढाउनुका साथै सचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गरेका कारणले जघन्य अपराधका घटनामा कमी आएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । ठूला अपराधका घटनामा कमी आएसँगै प्रहरीले अब साना अपराध नियन्त्रणतर्फ पनि ध्यान केन्द्रित गरेको डीआईजी भट्टराईले जानकारी दिए ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर