Aamsanchar

झापामा निजी विद्यालय बन्द फिर्ता

Author Image
सोमवार, वैशाख १८, २०७४
बिर्तामोड।
 निजी विद्यालयमा भएको शुल्क बृद्धि लगायतका समस्या बारे केन्द्रीय सहमति अनुसार अघि बढ्ने सरोकारवालाको प्रतिबद्धतापछि विद्यार्थी संगठनहरुले झापामा जारी राखेको विद्यालय बन्द लगायतका कार्यक्रम फिर्ता लिएका छन् ।
संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा सोमवारसाँझ सम्पन्न सर्वपक्षीय बार्तामा भएको सहमति अनुसार आन्दोलनरत् विद्यार्थी संगठनले झापामा जारी अनिश्चितकालीन विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् । आन्दोलरत् विद्यार्थी संगठन, स्थानीय शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, प्याब्सन, एन–प्याब्सन झापाका प्रमुख तथा प्रतिनिधिबीचको बार्तामा ५ बुँदे सहमति भएको छ । जस अनुसार मंगलवार विहानबाट निजी विद्यालयहरु पूर्ववतः सञ्चालन हुनेछन् ।
सहमति अनुसार बैशाख १५ गते विद्यार्थी संगठनका प्रतिनिधि केन्द्रीय कार्यक्रम अनुसार शिक्षा कार्यालयमा तालाबन्दी गर्न जाँदा भएको घटनाप्रति जिल्ला प्रशासन र जिशिकाले दुःख व्यक्त गर्दै त्यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन् भने विद्यार्थी संगठनकातर्फबाट आन्दोलनका क्रममा शान्ति सुरक्षामा खलल नपु¥याउने प्रतिबद्धता जनाइएको छ ।
त्यस्तै शुल्कबृद्धि लगायतका समस्या बारे केन्द्रीय सहमति अनुसार अघि बढ्ने र सोको कार्यान्वयनमा जिशिकाले पहल गर्ने सहमति भएको छ । झापाका शैक्षिक क्षेत्रका अन्य समस्या समाधनमा विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण समितिले विद्यार्थी संगठन, प्याब्सन, एनप्याब्सन समेतको सहभागितामा अघि बढ्ने सहमति भएको छ ।
त्यस्तै मापदण्ड विपरीतका निजी विद्यालयलाई जिशिकाले तत्काल कार्वाही प्रक्रिया अघि बढाउने समेत सहमति भएको छ । निजी विद्यालय, प्याब्सन, एनप्याब्सन, विद्यार्थी संगठन र जिशिकाबीच कुनै असमझदारी भए संवादका माध्यमबाट सहमतिका साथ अघि बढ्ने समेत प्रतिबद्धता जनाइएको छ ।
सहमतिमा नेविसंघ झापाका सभापति रोशन विष्ट, उपसभापति राजेन्द्र उप्रेती, केन्द्रीय सदस्य सन्तोष उप्रेती, अनेरास्ववियु झापाका अध्यक्ष रोशन सुवेदी, मिलन दाहाल, देशबन्धु ढुंगेल, नवीन राई तथा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य रवि बस्नेत, जिल्ला इञ्चार्ज खगेन्द्र सुवेदी, कार्यवहाक अध्यक्ष अनिल सुवेदीले हस्ताक्षर गरेका छन् ।
प्याब्सनको तर्फबाट अध्यक्ष कोषराज प्याकुरेल र प्रमुख सल्लाहकार मिलनकुमार ढुंगाना, एनप्याब्सनकोतर्फबाट अध्यक्ष सन्दीप राई, केन्द्रीय सदस्य धर्मराज माझी, उपाध्यक्ष हरि खड्का र अग्निप्रसाद कोइरालाले हस्ताक्षर गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारी, जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल, स्थानीय शान्ति समिति संयोजक जयबहादुर श्रेष्ठले समेत उक्त सहमतिमा हस्ताक्षर गरेका छन् ।
बार्तामा निजी विद्यालयका क्षेत्रमा तथा समग्र शैक्षिक क्षेत्रमा उत्पन्न समस्या बारे छलफल भएको थियो । प्याब्सनका केन्द्रीय सल्लाहकार हरिकुमार प्रसाईंले समय सुहाउँदो शिक्षा दिनका लागि विद्यालयको स्तरोन्नतिसँगै अघि बढ्नुपर्ने र त्यसका लागि सरकार, राजनीतिक दल सबैले सहयोग पु¥याउनुपर्ने धारणा राखे ।
त्यस्तै प्याब्सन केन्द्रीय सदस्य मोहन सुब्बा, पूर्वाञ्चल सल्लाहकार गोविन्द लम्साल, एनप्याब्सनका मोहन आचार्य, हरि धिमाल लगायतले समेत विद्यालयले व्यहोर्नु परेको समस्या बारे अवगत गराएका थिए । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए ।
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर