Aamsanchar

फिक्कलमा अत्याधुनिक बसपार्क निर्माणका लागि करोडौँको जग्गादान

Author Image
बुधवार, वैशाख २०, २०७४

इलाम,

इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा अत्याधुनिक बसपार्क निर्माणका लागि स्थानीयवासीले करोडौँ मूल्य पर्ने १० रोपनीभन्दा बढी जग्गा दान दिएका छन् ।

बसपार्कका लागि सूर्योदय नगरपालिका–८ छिपिटारमा स्थानीयवासीले १० रोपनीभन्दा बढी जग्गा दान दिएका हुन् । स्थानीयवासी उत्तमकुमार श्रेष्ठ र मीनाकुमारी श्रेष्ठले तीन/तीन रोपनी जग्गा दान दिएका छन्। सूनपा–१० का श्यामकुमार घिमिरेले दुई रोपनी आठ आना, रोशन श्रेष्ठले तीन रोपनी जग्गा बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराएका छन्। चलनचल्तीको भाउमा फिक्कलमा एक रोपनी जग्गाको करिब ३० लाख रुपैयाँभन्दा बढी पर्छ ।

बसपार्क निर्माणका लागि नगरपालिका कार्यालयले चालु आवमै १५ लाख ६३ हजार रकम विनियोजन गरिसकेको र निर्माण प्रक्रिया अघि बढाइसकेको नगरपालिकाका प्राविधिक गोविन्द पौडेलले बताए।

नगरपालिकाले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं १ बाट नौ लाख ७० हजार, आन्तरिक स्रोतबाट चार लाख ६९ हजार र उपभोक्ता समितिबाट एक लाख २३ हजार रुपैयाँ विनियोजन भएको हो । प्रारम्भिक पूर्वाधार निर्माण अन्तर्गत बसपार्क प्रवेश गर्ने प्रवेश मार्ग र बसपार्क सम्याउने काम थालिनेसमेत प्राविधिक पौडेलले बताए।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर