Aamsanchar

सडक निर्माण कार्य गुणस्तरहीन,के गर्दै छ प्रशासन ?

Author Image
बुधवार, वैशाख २०, २०७४

(पार्थ मण्डल)

भद्रपुर।

भद्रपुर नगरपालिका कार्यालयले नगर क्षेत्र भित्र सडक विस्तार निर्माण कार्यलाई तिव्रता दिएपनि कालोपत्रे सडक निर्माण कार्य इस्टिमेट बमोजिम नबन्ने गरेको नगरबासीले गुनासो गर्न थालेका छन् । भद्रपुर नगरपालिकाबाट खटिने इन्जिनियरसहितको प्राविधिक कर्मचारीले निर्माण कार्यमा खासै चासो नदेखाउदा नगरको सडक निर्माण कार्य गुणस्तरहीन बन्न थालेको पाइएको हो ।

झापाको चाराआली केचना सडक खण्डसंग जोडिने भद्रपुर ९ स्थित टावर÷देवकोटा मार्गमा निर्माणाधिन कालोपत्रे सडकमा गुणस्तरहीन काम भइरहेको स्थानीयले आरोप लगाएका छन् । नगरपालिकाले तयार पारेको इस्टिमेट बमोजिम काम नहुदाँ स्थानीय जनता आक्रोसित समेत बनेका छन् । उपभोक्ता समिति मार्फत नगरपालिकाले कालोपत्रे निर्माणको जिम्मा दिएको छ ।

उपभोक्तालाई जिम्मेबारी दिएर पन्छिएका नगरपालिकाका इन्जिनियर तथा प्राविधिक कर्मचारी स्थलगत अनुगमनमा नआउदा ठेकेदारले गुणस्तरहीन काम गरिरहेको भेटिएको छ । स्थानीयलाई प्राविधिक ज्ञान नहुदाँ ठेकेदारले सडक कालोपत्रेमा अलकत्राको मात्रा कम प्रयोग गरिरहेको, सडकको बेसमाथि क्रसरबाट ल्याएको फुटाएका गिट्टी प्रयोग नगरेको, सववेस माथिका बेसमा राम्ररी रोलर नपेलेको कारणले गुणस्तरहीन निर्माण कार्य भइरहेको स्थानीयबासी बताउछन् ।सडक कालोपत्रेमा ठेकेदारले गिटटी राम्ररी नहालेको र वेस राम्ररी नबनाएको स्थानीय नविन भट्टराईले आरोप लगाएका छन् ।

भट्टराई भन्छन्– ‘गुणस्तरहीन कामको बारेमा ठेकेदार पक्षलाई पटक पटक जानकारी गराउदा समेत स्थानीयको कुरा नमानेकाले सडक निर्माणमा लापरबाही भएको छ ।’ सो सडक बनाउने जिम्मा निर्माण व्यवासयीद्धय चुडामणि मैनाली र भवकिशोर कठयातले लिएको हो । निर्माणमा गुणस्तरहीन काम भएलगतै कालोपत्रे बनाएको सडकमा एक साता बित्न नपाउदै ठाउ ठाउमा घाँउ उम्रिन थालिसकेको छ । ठेकेदारले सवबेस र बेसको काम राम्ररी नगर्दा घास उम्रिएको स्थानीय महिला जशोदा निरौलाले गुनासो पोखिन् । निर्माण स्थलमा नगरपालिकाले तोकेको इस्टिमेट अनुसारको होडिङ्ग बोर्ड समेत राखिएको छैन ।

भद्रपुर नगरपालिकाले चालु आर्थिक बर्षमा सो सडक निर्माणका लागि ५९ लाख ९४ हजार ९ सय २९ रुपैया बजेट निकासा गरेको छ । नगरपालिका सो बजेटबाट ९ सय ५५ मिटर र शहरी विकास तथा भवन निर्माण डिभीजन कार्यालय इलामले ५ लाख रुपैया सडक बनाउन दिन लागेको हो । सडकको जम्मा लम्बाई १ एक हजार १ सय २० मिटर रहेको नगरपालिकाले जनाएको छ । उपभोक्ताले हालसम्म ३५ लाख रुपैया निकासा लगेर निर्माण कार्य सुरु गरेको हो ।

उपभोक्ता समितिका अध्यक्ष सन्तोष पोखरेलले आफुलाई प्राविधिक ज्ञान नभएकाले यस बारेमा थाहा नभएको बताए । प्राविधिक कुरा प्राविधिक पक्षले नै ध्यान दिनुपर्ने उनको भनाई छ । नगरपालिका इन्जिनियर योगेन्द्र रंजितकारले नगरमा भइरहेको योजना निर्माण कार्यहरुको अनुगमन गरिरहेको बताए । सो सडक खण्डमा निर्माण भएको काम सन्तोषजन नभएपछि आफै फिल्डमा गएर त्रुटीपूर्ण काम रोकेर सुधार्ने सम्बन्धी पक्षलाई निर्देशन दिइसकेको बताए । सडकमा घास उम्रिएको बिषयमा जिज्ञासा राख्दा उनले भने– ‘सवारीसाधन बढी नचल्ने सडकमा यस्तो समस्या आउने गरेको प्रस्टाए ।’

निर्माण कार्य गर्दा मिक्स गिटटीसंग आएको घासको जरा नदेखिएपछि, त्यही जराबाट घाँस उम्रिएको हुन सक्ने उनको दावी छ । तर, घास उम्रिएको बिषयमा सडक विभागका कर्मचारी भन्छन– ‘यो ठेकेदारको चरम लापरवाही हो ।’ ठेकेदारले सवबेस र वेस निर्माण गरेपछि त्यसलाई हावा लगाएर सफा गरेर मात्र सिलकोट गर्नुपर्ने हुन्छ ।

Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर