Aamsanchar

जोखिमलाई न्यूनीकरण गर्न सरोकारवाला तयार

Author Image
बिहिवार, वैशाख २१, २०७४

भद्रपुर ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाले आउँदो वर्षात्को समयमा हुने जोखिमलाई न्यूनीकरण गर्न सरोकारवाला कार्यालयलाई तयार रहन आग्रह गरेको छ ।

जलवायु परिवर्तनसँगै वर्षात्को समयमा झापाका कनकाई, विरिङ, रतुवा, निन्दा, कमल नदीमा आउने बाढीले जनधनको क्षति गर्न सक्ने भएकाले ती कार्यालयलाई आग्रह गरिएको हो ।

शाखाबाट आज आयोजित एकीकृत विपद् उत्थानशील कार्यक्रममा सो शाखाका सभापति लोकराज ढकालले गएको वर्षमा बाढीबाट झापामा १२ जनाले ज्यान गुमाएको र तीन जना अहिलेसम्म बेपत्ता हुनुका साथै बाढीका कारण १७ गाविस र छ वटा नगरपालिकाका करिब एक हजार ४७० घर परिवार विस्थापित भएको जानकारी दिनुभयो ।

उहाँले अहिलेसम्म बाढीका कारण ५६ परिवार पूर्णरुपमा विस्थापित भएको र सो समयमा तीनदेखि १० दिनसम्म बाढीपीडितलाई राहत उपलब्ध गराइएको पनि बताउनुभयो ।

कार्यक्रममा एकीकृत विपद् उत्थानशील परियोजनाका संयोजक अम्बर भण्डारी र कनकाई नदी बाढी सूचना प्रणालीका संयोजक हरिशरण खड्काले झापाका नदीमा आउने बाढीका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले विपद्जस्तो विषयमा तत्काल राहत एवम् उद्धार गर्नुपर्ने भएको सरोकारवाला कार्यालय अहिलेदेखि नै तयारी अबस्थामा रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख आनन्द नेम्वाङ, स्थानीय विकास अधिकारी खेमराज ओझालगायत जिल्ला पशुसेवा कार्यालय, जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला कृषि विकास कार्यालय, खानेपानी तथा सरसफाइ कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखको सहभागिता थियो ।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर