Aamsanchar

गाँउका होटलमा यौनधन्दा

Author Image
बिहिवार, वैशाख २१, २०७४

दमक।

झापाका शहरका होटलहरुमा प्रहरीले निगरानी बढाउँदै अनैतिक काम गर्ने तथा वेश्यावृत्ति गर्ने गराउनेलाई पक्राउ गर्न थालेपछि यस्तो कार्य ग्रामीण क्षेत्रमा रहेका होटलहरुमा हुन थालेको पाइएको छ ।
पूर्वपश्चिम राजमार्गको सडकसँग जोडिने झापाको दमकको मावा खोलादेखि  मेचीनगरसम्मका बस्ती नभएको सुनसान ठाउँमा होटल तथा लज खुल्ने क्रम बढेको र यस्ता ठाउँहरुमा यौनधन्दा चल्ने गरेको बताइन्छ । वस्ती नभएका कारण प्रहरीको ध्यान नपुग्दा यस्तो धन्दा बढ्दै गएको पाइएको छ ।
इलाका प्रहरी कार्यालय दमकले झापाको कमल गाँउपालिका साविक लखनपुर–१ पाडाजुँगीमा रहेका प्रवेश होटलबाट तीन जोडीलाई पक्राउ गरेपछि यस्तो कार्य ग्रामीण क्षेत्रमा खुलेका होटल तथा लजमा हुने गरेको रहस्य सार्वजनिक भएको हो । यो होटल शुरु भएको ३ महिना पनि पुगेको छैन ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख राजन लिम्बूका अनुसार होटल सञ्चालकसहित यौनजन्य क्रियाकलाप गराएर समाजको शान्ति सुरक्षा खलल् पुर्याउने काम भएकाले यस्तो कार्यमा संलग्न महिला र पुरुषहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार होटल सञ्चालक कुमार श्रेष्ठसहित यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा ३ जना महिलाहरुसहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका महिलाहरुको उमेर २५ बर्षभन्दा कम रहेको पनि जनाइएको छ । प्रहरी प्रमुख लिम्बूका अनुसार पक्राउ परेका ६ जनालाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको छ ।
उनीहरुको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । होटल व्यवसायी संघका क्षेत्रीय अध्यक्ष राजन दंगालका अनुसार बजार क्षेत्रमा रहेका होटलहरुमा प्रहरीले कडाइ गरेपछि बेश्याबृत्तिमा संलग्न महिलाहरु गाउँघरमा रहेका होटलहरुमा जान थालेका छन् । छिटो कमाइ हुने भएकाले यस्ता होटलहरुमा लगानी गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।

आफूहरुले होटलमा अनैतिक काम गर्ने र गराउनेहरुलाई संरक्षण नदिने र प्रहरीलाई सहयोग गर्ने बताएपछि ग्रामीण क्षेत्रमा होटल तथा लज खुल्ने क्रम बढेको उनले बताए । राम्ररी र बैध रुपमा होटल चलाउनेहरु संकटमा परेको जनाउँदै दंगालले रातारात कमाउने सोच पालेकाहरु हाबी बन्दै गएको बताए ।
दमकमा मात्र होटलमा करोडभन्दामाथिको लगानी गरेर खोलिएका थुप्रै होटल भएको र अर्बौं लगानी भएको भन्दै त्यस्ता होटलहरु जोखिममा रहेको उनले बताए । दुई÷चार लाख रुपैयाँ खर्च गरेर होटल खोल्ने र अबैध क्रियाकलाप गराउने केही दिनमा नै उक्सिने गरेको होटल व्यवसायी संघका अध्यक्ष दंगालको भनाइ छ ।

Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर