
चारआली,२३ बैसाख । प्रधानन्ययाधीश शुसिला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव स्वतन्त्र न्यायपालिकामाथिको नाड्गो हस्तक्षेप भएको भन्दै राप्रपा नेपालले प्रदर्शन गरेको छ ।
बर्तमान सरकारमा रहेका माओवादी केन्द्र र नेपाली कांग्रेसले झुटो हस्ताक्षर संकलन गर्दै न्यायलयकी प्रमुख प्रधानन्ययाधीश कार्कीविरुद्ध महाअभियोगको प्रस्तावको विरोधमा प्रर्दशन गरेको हो ।
प्रर्दशनमा सहभागी वक्ताहरुले न्यायिक निकायमाथि राजनीतिकरण गरेको भन्दै राजनीतिक दलका शीर्ष नेतालाई नागरिकले न्याय पाउने अधिकारको न्यायिक निकायमाथि राजनीतिक नगर्न आग्रह गरेका छन् ।
न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप सधैंका लागि बन्द गर्न सत्तारुढ दललाई आग्रहसमेत गरेका छन् । बाहुण्डाँगी रोडबाट निस्किएको ¥यालीमा ‘न्यायिक स्वतन्त्रता लागू गर, न्ययालयमाथिको हस्तक्षेप बन्द गर, शुसिला कार्कीमाथि लगाएको महाअभियोगको प्रस्ताव फिर्ता गर,लगायतका नारा तथा प्ले–कार्डसहित नगरपरिक्रमा गरेको थियो । परिक्रमापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै विनोद पौडेलले सत्तारुढ दलले प्रधानन्यायधीश कार्कीमाथि लगाएको महाअभियोगको प्रस्ताव प्रमाणित नभएकाले तुरुन्त फिर्ता गर्न शीर्ष नेतालाई आग्रह गरे ।
उनले प्रत्येक नागरिकले न्याय पाउने न्यायिक निकायमाथि नै सत्तारुढ दलले लगाएको महाअभियोग प्रस्ताव आफैमा झुटो ठहर भइसकेको भन्दै देशमा न्यायिक स्वतन्त्रता लागू गर्ने विषयमा सबैले साथ दिन आग्रह गरे ।
राप्रपा नेपालका क्षेत्रीय अध्यक्ष रमेश दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेत्र कार्की, सविना बजगाईंलगायतले महाअभियोगको प्रस्ताव फिर्ता नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।




