Aamsanchar

रोजगारीका लागि विदेश गएका ३१ जना मृत्युदण्ड कुर्दै, २४ लाई जन्मकैद

Author Image
शनिवार, वैशाख २३, २०७४

काठमाडौं,

रोजगारी लागि विभिन्न देश पुगेका ३१ जना नेपालीलाई मृत्युदण्डको सजाय हुन सक्ने विदेशस्थित नेपाली नियोगहरुले जनाएका छन् । उनीहरु मध्ये १७ जनालाई अदालतले मृत्युदण्डको सजाय हुने फैसला सुनाइ सकेको छ । अन्य १४ जनालाई मृत्युदण्ड हुन सक्ने बताइएको छ । मृत्युदण्डको सजाय पाएकाहरुले जस्तै अभियोग ती १४ जनालाई पनि लागेको छ ।

प्रधानमन्त्री कार्यालयले विदेशस्थित नेपाली कुटनीतिक नियोगसित समन्वय गरेर विदेशमा मृत्युदण्ड र जन्मकैदको सजाय काटिरहेका नेपाली कामदारको तथ्याङ्क संकलन गरेको हो । मृत्युदण्ड र जन्मकैदको सजाय तोकिएका सबैजना रोजगारीका लागि त्यहाँ पुगेका हुन् ।

२२ जनालाई जन्मकैदको सजाय हुने फैसला अदालतले सुनाएको छ । अन्य दुई जनालाई जन्मकैद हुन सक्ने नियोगहरुले जनाएका छन् । ती दुईलाई जन्मकैदको सजाय भोगीरहेकालाई जस्तै अभियोग लागेको छ ।

हत्या, सडक दुर्घटना र लागु औषधको कारोबार गरेको अभियोग लागेकाहरुलाई अदालतले मृत्युदण्ड र जन्मकैदको फैसला सुनाएको हो ।

३० करोड रुपैयाँ ब्लड मनी र जरिवाना तिर्न सके केहीलाई स्वदेश फर्काउन सकिने

विदेश स्थित नेपाली दूतावास र अन्य नियोगहरुले झण्डै ३० करोड रुपैयाँ बराबर ब्लड मनी र जरिवाना तिर्न सके मृत्युदण्ड र जन्मकैद काटिरहेका कतिपयलाई नेपालीलाई स्वदेश फर्काउन सकिने जनाएका छन् ।

जरिवाना वापतको रकम तिर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकरात्मक रहेको प्रधानमन्त्री कार्यालयका वैदेशिक रोजगार विज्ञ सुशिल ढुंगानाले बताउनु भयो ।

‘विभिन्न अभियोग लागेर विदेशमा जेल सजाय भोगिरहेका नेपालीलाई फर्काउन आवश्यक पर्न सक्ने रकम सहित उहाँको तहबाट गर्न सकिने पहल गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ’ उहाँले भन्नुभयो ।

मृत्युदण्ड, जन्मकैद र सामान्य अभियोगमा जेल सजाय काटिरहेका नागरिकलाई समेत स्वदेश फर्काउने विषयमा सम्बन्धित गन्तव्य मुलुकका सरकारसँग आग्रह गर्नका लागि तयारी चलिरहेको पनि ढुंगानाले जानकारी दिनुभयो । कुटनीतिक निकायहरुबाट जेलमा कामदारको विस्तृत विवरण आइसकेको उहाँले बताउनुभयो ।

तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाइएका सजायहरु पुनरावेदन हुन सक्ने छन् । यसअघि मृत्युदण्डको फैसला सुनाइएका तीन जनाको सजाय जन्मकैदमा परिणत गरिएको थियो ।

साउदीदेखि कोरियाका जेलमा नेपाली

विदेशस्थित नेपाली नियोगहरुका अनुसार दुई सय १९ जना पुरुष र १२ जना महिला विदेशका विभिन्न जेलमा छन् । सबैभन्दा बढी नेपाली साउदीका जेलमा छन् ।
त्यसपछि धेरै नेपाली कुवेत, कतार, युएई र मलेसियाका जेलमा छन् । दक्षिण कोरियामा दुई र इजरायलको जेलमा एक जना नेपाली छन् ।

यसैबिच, प्रधानमन्त्री कार्यालयको पहलमा तीन सय भन्दा धेरै विदेशमा आपतमा परेका नेपालीलाई नेपाल फर्काइएको छ ।

फर्काइएका मध्ये केही अवैधानिक रुपमा गएका र सरकारले अनुमति नदिएका देशहरुमा गएर अलपत्र पर्नेहरु पनि छन् । विदेशमा मृत्युवरण गरेका २० जनाको शव पनि कार्यालयको पहलमा नेपाल ल्याइएको छ ।-रीतु थेबे/उज्यालो ।

Views: 137

प्रतिक्रिया (०)