Aamsanchar

भद्रपुरमा चिठ्ठा काण्ड चर्कियो

Author Image
आइतवार, वैशाख २४, २०७४

बिर्तामोड।

प्रहरीले नियन्त्रण गर्न नसक्दा नेपालमा प्रतिबन्धित भारतीय चिठ्ठा काण्डले भद्रपुरमा पुनः विवाद चर्किएको छ । चिठ्ठा काण्डको विवाद चर्किएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो भने दुई जना फरार रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
भद्रपुर बजारमा शुक्रवार बेलुका भारतीय चिठ्ठा काण्डको विषयमा एक समूहबीच विवाद चर्किएर घटनाले उग्ररुप लिन खोजेपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर घटना साम्य बनाएको थियो । प्रहरीले बिनोद श्रेष्ठलाई नियन्त्रणमा लिएको केही घटनामा छाडेको वडा प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न विकास अग्रवाल र सञ्जीव साहलाई आइतबार वडा प्रहरी कार्यालय ल्याउने सर्तमा श्रेष्ठलाई छाडेको प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिए । श्रेष्ठसँग चिठ्ठा फेला नपरे पनि यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको चौधरीले बताए ।
घटना विवरण अनुसार भारतीय चिठ्ठामा लत बसेका भद्रपुरका युवा तथा व्यापारीहरु मध्ये शुक्रवार सो समूहलाई एक लाख ९० हजार रुपैयाँ परेको थियो । चिठ्ठा परेको ठेली सो समूहले बराबरी रकम हालेर किनेका थिए । चिठ्ठा परेको ठेली नै ती समूहबीच गायव भएपछि विवाद चर्किएको स्थानीय व्यापारीको भनाइ छ । एक व्यापारी भन्छन्– साहले भारतको गलगलियाबाट चिठ्ठाको एक ठेली किनेर ल्याएका थिए । त्यो ठेलीमा अग्रवाल र श्रेष्ठलाई पनि पार्टनर बनाइएको थियो । बेलुका जब त्यो ठेलीको नम्बरमा एक लाख ९० हजार प¥यो, त्यतिखेरै ठेली गायव भएपछि उनीहरुबीच विवाद चर्किएर घटना प्रहरीसम्म पुगेको बताइएको छ ।

भद्रपुरमा यस्तो घटना दोहोरिरहेको छ । कहिले जिल्ला प्रहरी कार्यालय झापाबाटै चिठ्ठाको ठेली गायव हुन्छ भने कहिले चिठ्ठासहित पक्राउ परेका व्यक्तिलाई प्रहरी आपसी सहमतिमा छाडिदिन्छ । भद्रपुरमा भारतका केही युवा दिनभर चिठ्ठा बिक्रीवितरण गराउन बसिरहेको भन्ने बारेमा वडा प्रहरीलाई पूर्व जानकारी हँुदा समेत उनीहरु हालसम्म पक्राउ पर्दैनन् । चिठ्ठाका कारण भद्रपुरमा युवाहरुको जीवन नै वर्वाद हुन थालिसकेको छ । केही युवा त चिठ्ठाका कारण रोजगारछोडेर बेरोजगारी नै भइसकेका छन् ।
नेपालको कानूनले प्रष्ट रुपमा विदेशी मुलुकबाट कुनै चिठ्ठा नेपाल अधिराज्यभित्र बिक्री वितरणको लागि ल्याउने, झिकाउने, बिक्री वितरण गर्ने, त्यसरी ल्याई बिक्री वितरण भएको चिठ्ठाबाट प्राप्त भएको आम्दानी विदेश पठाएमा बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । तर, कानून कार्यान्वयन गर्ने निकायले यसतर्फ ध्यान नदिएकोले सीमावर्ती क्षेत्रमा भारतीय चिठ्ठाले दैनिक लाखौं रकम भारत लगिँदैछ ।

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर