Aamsanchar

झापाका २३१ शिक्षकले अवकाश लिने

Author Image
मङ्गलवार, वैशाख २६, २०७४

बिर्तामोड।

शिक्षा विभागले परीक्षा छाडेर सुविधा रोज्ने अस्थायी शिक्षकहरुका सम्बन्धमा नयाँ व्यवस्था गरेसँगै झापाका २३१ शिक्षकले अवकाश लिने भएका छन् ।
जिल्ला शिक्षा कार्यालय झापाका उपजिल्ला शिक्षा अधिकारी होम भण्डारीका अनुसार निमावि र मावि तहका २६÷२६ जना र प्रावि तहका १७९ जना शिक्षकले अवकाश लिने भएका हुन् । उनीहरुले जिल्ला शिक्षा कार्यालय झापाबाट सुविधासहित अवकाशका लागि निवेदन दिएका छन् ।
विभागले सुविधा लिन चाहने अस्थायी शिक्षकहरुको सेवाअवधि गणनाको नयाँ आधार निर्माण गरेर सुविधा रोज्न आग्रह गरेको थियो । पाँचै विकास क्षेत्र र ७५ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिँदै विभागले सुविधा रोज्ने अस्थायी शिक्षकका हकमा सेवा अवधि गणनाको नयाँ आधार र आवेदनका लागि आवश्यक कागजात सम्बन्धी नयाँ व्यवस्था परिपत्र गरेको जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद वरालले बताए ।
सो व्यवस्था बैशाख ५ गते मंगलबार भएको मन्त्रीस्तरीय निर्णयका आधारमा गरिएको उनको भनाइ छ । शुद्ध रिक्त दरवन्दीमा अस्थायी नियुक्ति पाइ अविच्छिन्न रुपमा कार्यरत भई दरखास्त दिने अन्तिम मितिसम्म हुन आउने अवधिलाई सुविधा प्राप्तिका लागि सेवा अवधि मानिने जनाइएको छ । त्यस्तै, पहिले तल्लो तहमा अस्थायी नियुक्ति पाईपछि माथिल्लो तहमा अस्थायी शिक्षकमा पुनः नियुक्ति लिई निरन्तर कार्यरत रहेका शिक्षकको माथिल्लै तहको सवै सेवा अवधि गणना हुने र २० वर्षका लागि अपुग भए तल्लो तहमा कार्य गरेको सेवा अवधि गणना हुने जिल्ला शिक्षा अधिकारी वरालले बताए ।
तर, सुविधा भने जुन तहको जति सेवा अवधि गणना हुने हो त्यही तहको तलब स्केलको आधारमा प्रदान गरिने विभागले स्पष्ट पारेको उनको भनाइ छ । पहिले माथिल्लो तहमा नियुक्ति पाई तल्लो तहमा झरेकाको हकमा पनि यही नियम लागू हुनेछ– उनले भने । आधारभूत तथा प्राथमिक महिला परियोजना अन्तर्गतको दरवन्दीमा नियुक्ति पाई हालसम्म निरन्तर अस्थायी रुपमा कार्यरत शिक्षकको सेवाअवधि नियुक्ति मितिदेखि दरखास्त दिने अन्तिम मितिसम्मको गणना हुने जनाइएको छ ।
स्वीकृत प्राप्त दरबन्दीको लियन पदमा नियुक्ति पाई निरन्तर कार्यरत शिक्षकको सेवाअवधि पनि नियुक्ति मितिदेखि दरखास्त दिने अन्तिम मितिसम्मको गणना हुने बताइएको छ ।
त्यस्तै, स्रोतव्यक्ति पदमा शिक्षकको लियन पदमा अस्थायी नियुक्ति भई कार्यरत शिक्षकको हकमा पनि नियुक्ति मिति देखि दरखास्त दिने अन्तिम मितिसम्मको सेवाअवधि गणना हुने उजिल्ला शिक्षा अधिकारी भण्डारीले बताए । स्थायी शिक्षकको पदपूर्तिका कारणबाट २०७३ असार १५ पछि विस्थापित सट्टा वा अस्थायी शिक्षकहरुको नियुक्ति मितिदेखि विस्थापित मितिसम्मको सेवा अवधि गणना हुने विभागले जनाएको छ ।
स्वीकृत दरवन्दी वा त्यसको लियन वा सट्टामा अस्थायी नियुक्ति पाई २०७३ असार १५ सम्म कार्यरत रही त्यसपछि राजीनामा दिएका वा मृत्युभएका शिक्षकहरुको भने नियुक्ति मितिदेखि राजीनामा वा मृत्यु भएको सम्मको सेवाअवधि गणना हुने विभागले जनाएको छ । अस्थायी स्रोतव्यक्तिको रुपमा नियुक्ति पाई अविच्छिन्न रुपमा कार्यरत स्रोतव्यक्तिको हकमा नियुक्ति पाएको मितिदेखि परीक्षाको अन्तिम मितिसम्मको सेवाअवधि गणना हुने विभागले जनाएको छ ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर