(नरेन्द्र ढकाल)

झापा।

मानिस जति शिक्षित र सभ्य भयो ऊ त्यति नै जीवनबाट निरास बन्दै गएको पाइएको छ । पूर्वी नेपालमा पछिल्लो समय देखिएको आत्महत्याको घटनाले उक्त कुराको पुष्टि गरेको छ ।
झापासहित पूर्वका १६ जिल्ला मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, सुनसरी, उदयपुर, तेह्रथुम, भोजपुर, संखुवासभा, सप्तरी, सिरहा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुमा विगत तीन वर्षको अवधिमा आत्महत्याको दर बढ्दै जानुले पनि मानिस जीवनदेखि निराश भएको पाइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए ।
आर्थिक वर्ष २०७१÷०७२मा एक हजार ६८ जनाले आत्महत्या गरेका थिए । त्यस्तै आर्थिक वर्ष २०७२÷७३मा आत्महत्याको घटनामा बृद्धि भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । गतआर्थिक वर्षमा एक हजार एक सय एक जनाले आत्महत्या गरेका थिए । त्यस्तै आर्थिक वर्ष २०७३÷०७४ को चैत मसान्तसम्ममा ८६१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
प्रहरीका अनुसार आत्महत्याको घटनामा निरन्तर वृद्धि भएको छ । मानसिक बिचलनका कारण आत्महत्या जस्ता घटनामा बृद्धि हुँदै गएको छ । आत्महत्या किन र कसरी गर्छन् भन्ने विषयमा बेलैमा चासो दिएर यसको रोकथामतर्फ नसोच्ने हो भने समाजमा भयावह अवस्था आउन सक्ने प्रहरीको तथ्याङ्कले देखाएको चिकित्सकहरुको भनाइ छ ।
शिक्षित र सभ्य जिल्लाका रुपमा परिचित पूर्वका जिल्लाहरुमा आत्महत्याको घटना बढ्नुको मुख्य कारण देखावटीपन तथा आवेगमा गरिने निर्णय प्रमुख रहेको बताइन्छ । धेरै किशोर किशोरीले आत्महत्या गर्ने गरेको भन्दै किशोर किशोरीको मनोविज्ञान बुझ््न अभिभावकले प्रयत्न गर्नुपर्ने मनोविज्ञहरुको भनाइ छ । झापामा मात्रै चालू आर्थिक वर्ष २०७३÷७४ को साउनदेखि चैत्र मसान्तसम्ममा १३५ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने विष सेवन गरेर २२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कम उल्लेख छ ।
झापामा आत्महत्याको घटनामा पछिल्लो समय वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयका सूचना अधिकारी निरौलाले बताए । पछिल्लो समय हत्या र आत्महत्याको घटनामा वृद्धि भएको प्रहरीको तथ्याङ्कमा पाएसँगै मानिसले किन आत्महत्यालाई रोज्न थाले भनेर प्रहरीले गहिरो अनुसन्धान शुरु गरेको जनाइएको छ ।
आत्महत्यामा वृद्धि हुनुको मृख्य कारण भनेको कुसंगत तथा समाजमा गलत काम गरेर वा आवेगमा आएर गर्ने गरेको प्रहरीको भनाइ छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार आत्महत्यामा युवायुवती नै बढी भएको र आवेग नै मुख्य कारण बनेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक निरौलाले बताए ।
पारिवारिक कलह, समाजमा भएको विभाजन, असफलता, गरिबी, बेरोजगारी, प्रेम सम्बन्ध लगायतका कारण मानिसले आत्महत्या गर्ने गरेको पाइएको मेची अञ्चल प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले बताए । उनले पूर्वमा आत्महत्याको दर बढेकाले झापासहित मेची अञ्चलमा विभिन्न चेतनामूलक कार्यक्रम भइरहेको बताए । उनका अनुसार दमक, भद्रपुर, विर्तामोड र धुलाबारीमा आत्महत्या न्यूनीकरणका सम्बन्धमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
यता समाजका अगुवाहरु भने आत्महत्यालाई असफलता र अपरिपक्व प्रेम सम्बन्ध कारक तत्व भएको बताउँछन् । समाजमा गलत कार्य गर्ने तथा पोल खुल्ने डरले आत्महत्यालाई अंगाल्ने गरेको पाइएको समाजका अग्रजहरुको भनाइ छ । त्यस्तै मनोचिकित्सकहरुले भने आत्महत्यालाई असफलतासँग जोड्ने गरेका छन् । मानिस असफल भएमा उसले अन्य विकल्प भन्दा पनि आत्महत्यालाई नै रोज्ने भएकाले यो अवस्थामा मनोपरामर्श आवश्यक पर्ने उनीहरुको भनाइ छ ।
पछिल्लो समय देखावटीपनले गर्दा मानिस भौतिकवादी हुँदै गएको तथा त्यसले मानिसमा डिप्रेसनको खतरा बढ्दै जानुका साथै डिप्रेसनकै कारण मानिसले आत्महत्या रोज्न पुगेको चिकित्सकहरुको भनाइ छ ।
आत्महत्या रोक्न जनचेतना तथा आध्यात्मिक तथा ध्यानको आवश्यक पर्ने धर्मशास्त्रका ज्ञाताहरुको भनाइ छ । जीवनमा निराशापन मात्र देखेका मानिसले आत्महत्यालाई रोज्ने भएकाले मानिसलाई असफलता नै सफलताको सिँढी हो भन्ने कुरा आध्यात्मिक ज्ञानले मात्र दिन सकिने उनीहरुले तर्क गरेका छन् ।
आत्महत्यालाई रोक्न गाउँदेखि शहरसम्म नै जनचेतनाको आवश्यक पर्ने र यो विषयमा सबैले एकजुट भएर लाग्नु पर्ने प्रहरीको भनाइ छ । मानिस किन आत्महत्या गर्न बाध्य भयो भन्ने विषय सबैभन्दा महत्वपूर्ण भएकाले उक्त विषयमा प्रहरीले अनुसन्धान गर्ने तथा जानकारी प्राप्त हुनासाथ सबै क्षेत्रमा त्यस्ता विषयमा सर्वसाधारणलाई जानकारी गराउने गरेको प्रहरीले जनाएको छ ।
मानिसको जन्मपछि मृत्यु अपरिहार्य हो तर आत्महत्या गरेर आफ्नो जीवन बर्बाद गर्ने काम भने समाजको लागि नै कलंकको विषय भएको चिकित्सकहरुको भनाइ छ । त्यसैले आफ्नो जीवनको महत्व बुझेर बाँच्न र बचाउनतर्फ लाग्नुपर्नेमा सबैको साझा धारणा रहेको छ ।

