Aamsanchar

पार्किङ शुल्कमा मनोमानी, कहाँ जान्छ सवारीबाट उठेको रकम ?

Author Image
मङ्गलवार, वैशाख २६, २०७४

बिर्तामोड।

झापाको शनिअर्जुन नगरपालिका–११ स्थित टेकबहादुर गिरी बसपार्कमा ठेकेदारका कर्मचारीलाई सवारीसाधनबाट पटके तथा पार्किङ शुल्क मनोमानीरुपमा संकलन गर्ने गरेको बताइएको छ ।
बसपार्क ठेक्कामा दिँदा निश्चित दरभाउ तोकिएको भए पनि त्यहाँका कर्मचारीले सवारीसाधनबाट मनोमानी ढंगबाट रकम असुलेको भन्दै यातायातमा सम्बद्ध मजदुर संघ–संगठनहरुले कारवाहीको माग गरेका छन् ।
नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मदजुर संगठन र अखिल नेपाल यातायात मजदुर संघ झापाले कारवाहीको माग गर्दै बिर्तामोड नगरपालिका कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
तोकिएको शुल्क आफूहरु तिर्न तयार रहे पनि अनावश्यक रुपमा लिने गरिएको रकम फिर्ता हुनुपर्ने तथा बसपार्कमा ठेक्कामा लिएका कर्मचारीहरुले परिचयपत्र अनिवार्य रुपमा देखाउनुपर्ने नेपाल यातायात मजदुर संघ झापाका अध्यक्ष देउमान लिवाङले माग गरेका छन् ।
बसपार्क क्षेत्रमा पटक–पटक कर संकलन गर्नेहरु आपसमा हिंसात्मक झगडा गर्ने गरेकाले बसपार्कमा आउने यात्रु समेत आतंकित हुने गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष सन्तोष वान्तवाले बताए । बसपार्कको उचित व्यवस्थापन हुन नसक्दा त्यहाँ कार्यरत श्रमिकहरुले अत्यन्तै पीडादायक रुपमा दैनिकी गुजारा गर्नुपरेको बताइएको छ ।
बसपार्कबाट संकलन राजश्व सोही स्थानमा खर्च हुनुपर्ने मजदुर संगठनहरुले माग समेत गरेका छन् । नयाँ बसपार्कमा शौचालय, पिउने पानी र फोहोर मैलाको पूर्णरुपमा व्यवस्थापन गरेर बसपार्कलाई मापदण्ड अनुसार सञ्चालन गर्नुपर्ने अखिल नेपाल यातायात मजदुर संघ झापाका सचिव अर्जुन साउदेनले माग गरेका छन् ।
आफूहरुले बसपार्कको विषयमा सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि ठोस निकास निस्कन नसकेको उनीहरुले गुनासो गरेका छन् । आफूहरुको माग पूरा नभए चरणबद्ध रुपमा सशक्त आन्दोलन गर्न बाध्य हुने तीनवटै यातायात सम्बद्ध मजदुर संगठनहरुले चेतावनी समेत दिएका छन् ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर