बिर्तामोड।
झापा बिर्तामोड निवासी समाजसेवी तथा धार्मिक व्यक्तित्व डिल्ली प्रसाईले पत्रकार सहारा उपचार कोषका लागि २५ हजार एक सय ६५ रुपैयाँ प्रदान गरेका छन् ।
बिर्तामोड- ५ महानन्द चौक निवासी प्रसाईले बुधबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघका सहसचिव एवम् कोषका सचिव केशव भट्टराईले बताए ।
प्रसाईले आफ्नो तर्फबाट केही समय भित्रै कोषमा थप रकम प्रदान गरेर ५१ हजार पुर्याइदिने प्रतिवद्धतासमेत जनाएका छन् । मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन महासंघले थालेको अभियानको प्रसाईले सराहना गरे ।
महासंघका उपाध्यक्ष एवं कोषका संयोजक गिरीका अनुसार कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने छ ।


