बिर्तामोड।

झापा बिर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा युवा ब्यवसायी गजेन्द्र पौडेलले पत्रकार सहारा उपचार कोषका लागि २१ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।

बिर्तामोड निवासी पौडेलले (आज) शनिबार उक्त रकम पत्रकार सहारा उपचार कोषका सचिव केशव भट्टराई, महासंघकी सदस्य सुशिला संग्रौलालाई प्रदान गरेका छन् । शुभलाभ राजश्व परामर्श केन्द्रका प्रबन्ध निर्देशक समेत रहेका पौडेलले मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पु¥याउन महासंघले थालेको अभियानको प्रशंसा गरे ।
महासंघका उपाध्यक्ष तथा कोषका संयोजक एकराज गिरीका अनुसार कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने छ । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ ।

कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको छ ।कोषमा व्यक्तिगत तथा संस्थागत रुपमा सहयोगका लागि महासंघले सबैमा आह्वान समेत गरेको छ ।

