Aamsanchar

निर्बाचनको मतगणना धमाधम हुँदै

Author Image
सोमवार, जेठ १, २०७४

काठमाडौं ।

पहिलो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा केही ठाउँको मतगणना सुरु भएको छ । मतपेटिका संकलन गरेलगत्तै केही स्थानको मतगणना सुरु भएको हो ।

ललितपुर महानगरपालिकाको मतगणना आइतबार रातिबाटै सुरु भएको हो । अहिले त्यहाँ मतगणना जारी रहेको छ भने मतगणनास्थल बाहिर राजनीतिक दलका नेता तथा कार्यकर्ताको भीड लागेको छ । ललितपुरकै महालक्ष्मी नगरपालिका, महाँकाल र कन्ज्योसोम गाउँपालिकामा मतगणना सुरु भएको छ । काठमाडौंको शंखरापुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली र कीर्तिपुरमा पनि मतगणना भइरहेको छ ।

मनाङको चामे र नाशोङ गाउँपालिका तथा रुकुमको मुसिकोट नगरपालिका, बाँफिकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा पनि मतगणना सुरु भएको छ ।नवलपरासीको कावासोती, देवचुली, मध्यविन्दु र गैंडाकोट तथा काभ्रेको वनेपा नगरपालिकामा पनि मतगणना जारी छ । सल्यानको शारदा नगरपालिकामा पनि मतगणना भइरहेको छ भने नुवाकोटको बिदूर नगरपालिकामा पनि मतगणना जारी छ । जुम्लाको चन्दनाथ नगरपालिकामा पनि मतगणना जारी छ ।

सबैभन्दा चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिका, भरतपुर महानगरपालिका र पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना भने आज मात्र हुने भएको छ । त्यस्तै भक्तपुरका चारवटै नगरपालिकामा आज बिहानदेखि मतगणना हुने भएको छ ।

चितवनको कालिका नगरपालिका बाहेक अरु ठाउँमा आजबाट मतगणना गरिने भएको छ । भइरहेका अधिकांश स्थानमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । केहीमा कांग्रेसका उम्मेदवार अघि छन् भने केहीमा एमालेका उम्मेदवार अघि देखिएका छन् । अधिकांश स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु तेस्रो स्थानमा छन् ।-इमेज खबर

Views: 144

प्रतिक्रिया (०)